Loading... आजः बिहिबार , असार ७, २०८१

अट्वारीमा दिदीबाट माला र टीका


सोम डेमनडौरा

थारु समुदायको पवित्र पर्व अट्वारीका बेला मैले मेरी जेठी दिदी शान्ति चौधरीसँग यसपालीको अट्वारीमा डौना र लौरङ्गा फूलको माला र चामलको पीठोको टीका लगाई दिनका लागि अनुरोध गरेको थिएँ । अट्वारीको व्रतमा दिदी बहिनीका लागि निकालिएको अग्रासन (कोशेलीहरु–फलफूल, रोटी, तरकारी र भात) सोमबारका दिन लिएर गएँ । मैले भने अनुसार दिदीले डौना र लौरङ्गा फूलको मगमग वासना आउने माला बनाएर राख्नु भएको थियो । बडो मायाले माला र टीका लगाई दिनु भयो । म अत्यन्त हर्षित भएँ । यसपछि मासु, माछा, दाल, अचार र बिभिन्न तरकारी सहितको खाना दिनु भयो ।
अग्रासन पठाएर आइ सकेपछि मैले तुरुन्तै टीका र माला लगाएको एउटा फोटो सामाजिक सञ्जालमा पोष्ट गरें । भिडियो पनि लाइभ गरें । धेरैले राम्रो अभ्यासको शुरुवाट भनेर कमेन्ट गरे भने कतिपयले भने संस्कृति बिगारेको र पर्व बढाएको भन्ने प्रतिक्रिया दिए । मैले एक दिन सम्म केहि प्रतिक्रिया दिएन । बिहीबारका दिन मात्र एउटा स्ट्याटस् शेयर गरें । त्यो प्रतिक्रियाको भने सहमति धेरै आयो । केहि फोनहरु पनि आए, मैले जवाफ फर्काएँ ।
केहि प्रतिक्रियाहरु यस्ता आए । ‘यो कहाँको चलन हो ? डौनाको माला त दशैंमा उद्घाटन गरेपछि मात्र लगाइन्छ ।’ ‘तपाइले नयाँ चलनको शुरुवाट गर्नुभयो । तर यसरी दिदी बहिनीसँग टीका लगाउने थारु चलनमा छैन ।’‘जुन थारु सँस्कृति र परम्परामा छैनन् हामीले छलफल गर्नुपर्छ र यस्ता अभ्यास हटाउनु पर्छ । चाखलाग्दो कुरा त के छ भने सोमजीले कसरी अभ्यासमा ल्याउनु भयो, उहाँ त हाम्रो समुदायमा थारु संस्कृतिको संरक्षण र वकालतका लागि रोल मोडल हो । वहाँले फेसबुकमा पोष्ट गरेको यो स्ट्याटसले म चिन्तित भएको छुँ ।’‘भाई टीका लगाउने चलन छ र दाजु ? धेरै त भएन, संस्कृति बचाउदै हुनु हुन्छ कि बिगार्दै हुनुहुन्छ? म कन्फ्युज भएँ ।’
र केहि यस्ता प्रतिक्रियाहरु पनि छन् । ‘भाइतिहार र अट्वारी उस्तै सम्बन्धहरुमा आधारित रहेछन् ।मानवले सांस्कृतिक उद्वविकासक्रममा फरक परिवेश र संघर्षहरु सामना गर्दै आएको हुँदा भिन्नभिन्न चालचलन र परम्पराहरू विकास भए पनि मूलरूपले उसका दुःखसुख भावना, जीवनानुभूति सायद समान हुने रहेछन् ।भाइतिहार र अट्वारीको मूल मर्मसित मिल्नु केवल संयोग नभएर यस्तै समान मानवीय संवेगहरूको द्योतक हो जस्तो लाग्यो ।’ ‘समय सापेक्ष परिबर्तनका नाममा आफ्नो संस्कार र परम्परालाई मर्न चाहिँ दिनहुन्न भाई । तपाईका संस्कार जोगाउने कार्यको म सधै सम्मान गर्छु । यी संस्कार भित्र खोज गर्ने हो भने थुप्रै बैज्ञानिक कारणहरुपनि छन् । जसलाई जोगाउन सकेन भने भोलि पक्कै त्यसकोउजागर हुन्छ । हाम्रा संस्कार र संस्कृतीलाई बिदेशी नाममा ढालेर फेरि सिक्न पर्ने अवस्था ल्याईदैछ ।’ ‘थारू होस् कि बाहुन, तामाङ होस् कि मुसलमान, लिम्बु होस् कि मगर, क्षेत्रि होस् कि पासवान मानिस त मानिस हो । उसका परम्परा, रीतिरिवाज निरन्तर विकासशील हुन्छन् । यिनको विकासक्रममा, १. परस्पर सांस्कृतिक आदानप्रदान र २. परिवेशजन्य आवश्यकताबोध वा साझा अनुभूतिको प्रमुख भूमिका रहन्छ ।राजनीतिले समुदायसमुदायबिच विभाजन र दूरी तथा प्रकृतिले एकत्व र निकटता बढाइरहदा हिजोका परम्परा जस्ताको तस्तै आज छैनन् । आजका परम्परा भोलि यस्तै रहन सम्भव छैन । यी बदलिन्छन् बदलिरहन्छन् ।’
के हो त अट्वारी ?
थारु समुदायको एक पवित्र पर्व हो अट्वारी । यो पर्वलाई बर्का अट्वारी पनि भन्ने गरिन्छ । अट्वार (आइतबार) का दिन मनाउने भएकाले यो पर्वलाई अट्वारी या बर्का अट्वारी भन्ने गरिन्छ । कृष्ण जन्माष्टमीको पछिको पहिलो पूर्णिमाको दिन मनाउने यो पर्वमा खास गरेर बर्किमार (महाभारत) का पात्र भिम र आगोको पूजा गरिन्छ । प्रायःजसो पुरुषहरु आइतबारका दिन व्रत बसेर साँझ पख भिवाँ (भिम) का लागि एकातिर मात्र पकाएको रोटी छुत्याई सकेपछि अग्नी पूजा गरिन्छ । दिदीबहिनीका लागि रोटी र फलफूल (अग्रासन) छुट्याई सकेपछि फलाहार गरिन्छ । यो पर्वमा रोटी पकाउनका लागि पवित्र आगो (गन्यारी काठबाट निकालिएको आगो) चाहिन्छ ।
यो पर्वमा खास गरेर बर्किमार (महाभारत तर केहि फरक) का पात्र भिवाँ (भिम) को पूजा गरिन्छ । शुरुको रोटी उनकै लागि छुट्याइन्छ जुन एकातिर बाट मात्र पकाइने गरिन्छ । किन पूजा गरिन्छ भन्ने सम्बन्धमा केहिले राजा डंगीशरणको पालामा सहयोग माग्ना आउँदा भिवाँले रोटी पकाउँदा पकाउँदै सहयोग गर्न गएको कथा जोड्ने गर्छन् । तर कतिपय जानकारहरुले महाभारत काल र डंगीशरणकालको इतिहासको फरक पर्न गएको हुनाले मिथक बताएका छन् । भिवाँ जहिले पनि कर्तव्यपरायण, महिलामैत्री, सोझो र बलवान थिए भन्ने कुरा बर्किमारमा उल्लेख भएको विश्लेषण गर्छन् संस्कृतिका विश्लेषकहरु । र उनका व्यवहार थारु जातिसँग मिल्ने बताउने गर्दछन् । यद्यपी यि यो पर्वको ऐतिहासिक पक्षमा अझै गहन खोज अनुसन्धान हुन बाँकी नै छ ।
अट्वारीमा टीका र माला किन ?
विश्वमा दिन प्रतिदिन परिवर्तन हुँदैछ । डिजिटल प्रविधि र बसाई स्थानान्तरणका कारण एउटा समुदायको मान्छे अर्को समुदायमा घुलमिल हुँदैछन् । एक अर्काबिच विवाह देखि सामुहिक क्रियाकलाप र चाडपर्व मनाउँदै छन् । एकले अर्काको संस्कृति र संस्कार ग्रहण गर्दैछन् । यस्तो अवस्थामा जुन सँस्कृति मान्छेलाई सहज लाग्छ या भनौं आकर्षक हुन्छ त्यहि संस्कृति सहजै अपनाउने या अभ्यास गर्ने गर्दछन् । यो मानवीय गुण हो । यसलाई नकार्न पनि सकिदैन । संस्कृति मानवद्धारा अभ्यास गरिएको या भनौ बनाइएका सामाजिक कार्य हुन् । कालान्तरमा अभ्यास हुँदै जाँदा संस्कृति र संस्कारकोरुपमा स्थापित भए । आधेनिकीकरणका कारण या भनौ मानिसमा आएको चेतनाले कतिपय संस्कृति अन्तर्गत अभ्यास भएका क्रियाकलाप लोप पनि भएका छन् भने कतिपय नयाँ ढंगले अगाडी बढेका छन् ।
थारु समुदाय एक आदिवासी जनजाति समुदाय हो । यो समुदाय संस्कृति अन्तर्गत खानपान, भेषभुषा, चाडपर्व, स्वागत सत्कारमा, नाचगानमा अत्यन्त धनी समुदाय हो । तर शासकीय स्वरुप र डिजिटल प्रविधिका कारण यो समुदायले मान्ने गरेको अर्गानिक तथा मौलिक संस्कृतिहरु धरापमा परेका छन् । जस्तै, गुरिया, अट्वारी, अस्टिम्की, हर्ढावा, हरेरी, आदि चाडपर्वहरु मनाउनेको संख्या घट्दै गएको अवस्था छ । थारु समुदायमा प्रचलित नाच र गीतहरु पनि लोप हुँदै जाने अवस्था छ । थारु समुदायको एक मात्र पर्व माघलाई राष्ट्रियकरण गरेपछि यो पर्व साझा पर्वकोरुपमा स्थापित हुन थालेको छ ।
चाडपर्व लोप हुने या मानिसहरुले मनाउन छोड्नुका धेरै कारण हुन सक्छन् । त्यसमध्येमा केहि मुख्य कुराहरु के हुन् भने चाडपर्वको ऐतिहासिकता, धार्मिक, साँस्कृतिक र सामाजिक महत्वको बारेमा समुदाय जानकार भएन भने विस्तारै छोड्दै जान्छन् । हामीले नयाँ पुस्तालाई कुनै पनि चाडपर्वको यि आयामलाई बुझाउन सकेनौ भने उनीहरुले मनाउन छोड्छन् । त्यसैगरी अर्को प्रमुख पक्ष हो सरकार तथा शासकीय स्वरुप । सरकारले कुनै पनि समुदायको चाडपर्वलाई संरक्षण र संवद्र्धनको नीति लिनु भन्दा विलय गर्ने नीति लियो भने स्वभाविकरुपमा संकटमा पर्छन् । थारु समुदायको पर्वमा सार्वजनीक विदा हुँदैनन् । अट्वारीमा बल्लतल्ल प्रदेश तथा स्थानीय सरकारले एक दिनको विदा दिने गरेको छ । सरकारी र निजी विद्यालयले चाडपर्वको दोस्रो दिन देखि नै परीक्षा शुरु गर्छन् । यसले गर्दा ती समुदायले खुलेर या घर गएर चाडपर्व मनाउन नसक्दा विस्तारै मनाउने अभ्यासको अन्त्य हुन्छ । अर्को पक्ष भनेको हामी आफ्नो पर्व भन्दा अर्काको राम्रो देख्ने परिपाटी छ । जसले गर्दा अरुको लिने र आफ्नो छोड्ने गरेको पाइन्छ ।
अन्य समुदायले आफ्नो चाडपर्वलाई आकर्षक, डिजिटलाइज र फेन्सी बनाउन सिके तर हामीले सकि रहेका छैनौ । जस्तो कि क्रिसमस डे मा झकिझकाउ बत्ति बाल्ने अनि स्यान्टाक्लाउजको अभ्यासले बालबालिकालाई आकर्षित गर्छन् । तिहारमा रंगीबिरंगी टीका, बत्ति बाल्ने र भैली खेल्ने गर्छन् । तिजमा एक महिना अगाडी देखि दर भात खाने, बिभिन्न रेडियोमा एक महिना अगाडी देखि गीत बजाउन थाल्ने, नाच्ने र नाच प्रतियोगिताको आयोजना गर्ने गर्छन् । तर हाम्रो अस्टिम्कीको न गीत बज्छ रेडियोमा र नाच्न मिल्ने गीत छ । अट्वारीमा त झन् गाना बजाना केहि छैन । त्यहि हो एउटा माया र सद्भावको पक्ष दिदी बहिनीलाई अग्रासन दिन जानु । यसकारणले आफ्नो चाडपर्व अट्वारीलाई केहि आकर्षण थप्नुपर्छ भनेर मैले यो वर्ष आफ्ना दिदीद्धारा चामलको सेतो टीका र डौना लौरङ्गाको माला लगाएँ ।
के संस्कृति बिगारे त मैले ?
मैले संस्कृति विगारे कि सपारे यसको जवाफ अहिले नै दिनुपर्ने या खोज्नुपर्ने अवस्था देख्निन मैले । अट्वारीमा माला र टीका लगाएको प्रभाव केहि वर्ष पछि आउला । तर मेरा केहि आफ्नो विचार छन् । हामी थारुहरुले अन्य समुदायको पर्वलाई कसरी आफ्नो बनायौं या अपनायौं त ? यसको समीक्षा गर्न आवश्यक छ । यो भनि रहँदा त्यो पर्व नमनाउनुस् भन्न खोजेको होइन । मनाउन छोड्नुस भन्न खोजेको होइन । चाडपर्व मनाउने कि नमनाउने भन्नेमा हरेकका अधिकार र रहरका कुरा होलान् । तर जसले मलाई यो संस्कृति बिगारियो, संस्कृति बढाइयो, संस्कृतिमा विकृति थपियो भने उहाँहरुलाई मेरो प्रश्न हो । तीज, तिहारमा भाई टीका, क्रिसमस डे, बर्थ डे, गुड फ्राइडे, दशैंमा रातो टीका, ताजिया, कर्वा चौथ हाम्रा थिएनन् । तैपनि गर्वसाथ मनाउन थाल्यौं । अनि यि चाडपर्व तथा पूजालाई अपनाउँदा संस्कृति थपिए कि घटे त ? ग्लोबलाइजेशनले एउटा सद्भावको उत्तर देला । तर पहिचान र तपाइहरुको प्रतिक्रियाको हिसाब र विचारले त पर संस्कृति ग्रहण नै हो । तपाइहरुको यो अभ्यासर विचारले नै यि चाडपर्वहरु लाडिए । यि चाडपर्व मनाइ रहँदा तपाइहरुले केहि बोल्नु भएन त ?
खर्चको हिसाबले तीज र भाइटीकालाई विश्लेषण गर्दा अट्वारी र अस्टिमकी कैयौं गुणा कम छ । पश्चिमा डंगौरा थारु समुदायमा आफ्ना दिदी बहिनीलाई अत्यन्त आदर सम्मान, माया जटाउने दुई वटा पर्व छन् । ति हुन् अट्वारी र माघ । अट्वारीमा अग्रासन दिने गरिन्छ भने माघमा निस्राउ । जब हामीले दिदी बहिनीलाई सम्मान र माया प्रकट गर्ने, शुभासिर्वाद लिने दिने दुई दुई वटा पर्व छ भने फेरि पनि भाइटिका लगाउन आवश्यक छ त ? मैले त्यो लाइन बाट प्रश्न गरेको हो । अन्यथा अर्थ नलागोस् ।
हो यति माया, सद्भावपूर्ण बेलामा दिदीबहिनीसँग डौना लौरंगाको मगमगाउने माला र चामलको पिठोको टकिा लगाउनुले बिकृति होइन संस्कृतिमा समृद्धि थपिन्छ । अन्य समुदाय पनि आकर्षित हुन्छ । अट्वारी पर्व सबैको साझा पर्व बनाउनमा सहयोग मिल्ने छ ।
कतिपयमा बुझाईको कमी पनि छ । डौना र लौरंगा दशैंका देवी देवतालाई चढाई सकेपछि मात्र लगाउन पाइन्छ । त्यो होइन । बेबरी (अत्यन्त सुगन्धित र शक्तिशाली तथा पवित्र) मात्र थारुका देवी देवतालाई दशैंका बेला चढाउने गरिन्छ । यो फूल चढाउने बेलाको एउटा सम्ह्रौटी (मन्त्रगान) पनि छ,
बेबुरी विना एक झमकी उरावै, बिना बुन्डा टुहाँर पाऊँ
धनपति धन रे कुबेर टोर नाऊँ, हिरडा बइस मोर डेहो र सिखा
भगमोति शरन लिहबुँ टोर नाउँ, डेबी ढरम डेबी बन्धन बा ।
यसरी यो मन्त्र उच्चारण सँगै दशैंमा थारुका देबी देवताहरुलाई बेबरी चढाइने गरिन्छ । डौना र लौरंगा पनि अत्यन्त वासनादार र सुगन्धित हुन्छन् । तर यि दुईलाई नाचगान भएको बेला मालाकोरुपमा प्रयोग गरिन्छ । यि दुई फूल तथा बनस्पतिहरुलाई दशैंमा पूजा गर्नुपर्छ भनेर कुर्नु पर्दैन । यि जडिबुटी पनि हुन् । यि बोट भएका ठाउँमा किराहरु पनि लाग्न सक्दैनन् ।
अट्वारीको समयमा यि सुगन्धित डौना र लौरंगाहरु लहलह पलाएका हुन्छन् । यसको माला बनाउन कुनै पनि खालको मेहनत र खर्च छैन । यो माला गलामा आयो भने मान्छेमा रहेको उदासिनता त्यसै पनि टाढा भाग्छन् । सुबासले मनमा र जिउमा ताजगी आउँछ । स्फूर्ति आउँछ । ओठमा मुस्कुराहत छरिन्छ ।
यसर्थ, मेरो अनुरोध के हो भने अग्रासन दिन फर्किदा लठ्ठिएर, हल्लिएर होइन, सेतो टीका र डौना र लौरंगाको सुबास फैलाउँदै आऔं । अट्वारीलाई अझै आकर्षक र मायाले भरिएको बनाई सबैको साझा पर्व बनाऔं ।
सोम डेमनडौरा
(लेखक जंग्रार साहित्यिक बखेरीका केन्द्रिय अध्यक्ष हुन् ।)

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!