अधिकाँश जनै तेश्राे मुलुकबाट अायात
श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमालाइ तागाधारीहरुले विशेष किसिमले मनाउने गरेका छन्। हिन्दु समाजमा पुरुषहरुले विशेष मन्त्रोच्चारण सहित तयार पारिएको जनै धारण गर्ने गर्दछन्। तर हिन्दु धर्मले अनिवार्य मानेको अधिकांश जनै भने तेस्रो मुलुकबाट आयात हुने गरेको छ।
नेपालको परम्पराअनुसार आफैंले जनै बनाउने एउटा तरिका यो पनि हो। संघीय राजधानी काठमाडौंमै अहिले पनि कतिपयले आफूलाई आवश्यक जनै आँफै बनाउने गर्छन्। आफैंले छानेको वा तयार पारेको कपासको वा सिमलको भुवाको धागोबाट जनै बनाएर वैदिक यज्ञबाट मन्त्रण गरेर रक्षासूत्रसंगै यज्ञोपवित बनाउने गरिन्छ।
यसरी आँफै जनै निर्माण गर्नेहरु घटेका छन् भने जनै धारण गर्नेहरुको संख्या बढेको जनैको बिक्री बढेबाट पुष्टि भएको छ। पछिल्लो दशकमा जनै लगाउनेहरुको संख्या बढ्नुको यकिन कारण त पत्ता लागेको छैन तर पहिचानको राजनीतिको असर स्वरुप पनि विदेशबाटै आयात गर्नुपर्ने गरी जनैको प्रयोग बढेको अनुमान गरिन्छ।
आदिकालमा महिलाले पनि यज्ञोपवित धारण गरेका भएपनि हाल त्यस्तो चलन छैन। जनैका ६ वटा डोराले तागाधारीहरुका ६ कर्तव्य- दान लिनेदिने, पढ्नेपढाउने र यज्ञ गर्ने गराउने सन्देश बोकेका हुन्छन्। सन्देश बुझेपनि नबुझेपनि जनै लगाउने मात्र नभई पूजापाठ र पितृभक्ति बढ्नाले त्यस्ता अनुष्ठान बढेका र अनुष्ठानहरुमा पनि प्रशस्त जनै आवश्यक पर्ने गरेको धर्मशास्त्रीहरुले बताएका छन्।
जन्मदेखि मृत्युसम्मका हरेक कर्म गर्नुअघि र धारण गरेको ४ महिनामा जनै फेर्नै पर्छ भने जन्मदेखि मृत्युपछिसम्मका संस्कारहरुमा पनि जनै आवश्यक पर्दछ। यसरी मन्त्रण गरेको जनै लगाउनाले रोगव्याधी एवं खराव तत्वहरुबाट बच्न सकिने धार्मिक विश्वास छ भने जनै धारण गर्नेहरुको आत्मबल र संयम दुवै वृद्धि हुने ठानिन्छ।
नेपालमा करीब २ करोड वटा जनै खपत हुने ब्यापारिक अनुमन छ। त्यसका लागि बार्षिक रुपमा २० करोड रुपैया भन्दा बढी खर्च हुने गर्दछ। करिब दुइ करोड थान जनै मध्ये ६० प्रतिशत जनै तेस्रो मुलुकबाट आयात हुने गरेको छ। – रासस