नेपाली कांग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरण शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन।’
कांग्रेस प्रवक्ता शर्माले विज्ञप्तिमार्फत अध्यादेशको विविध रुपमा स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा, विद्यार्थी, पार्टीका नेताकार्यकर्ता, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई ज्ञापन गरेका छन्। पार्टीले निरन्तर सतर्कता र एकताका लागि सबैमा अपिलसमेत गरेको छ, नेपाल बहसले लेखेको छ।