गान्तोक, 17 जुन। वलिवुडकी चर्चित अभिनेत्री अनुष्का शर्माद्वारा निर्मित अमाजोन प्राइम भिडियोमा प्रसारित वेबसिरिज पाताल लोकमा नेपाली भाषी समुदायमाथि अभद्र शब्द प्रयोग गरेर सम्पूर्ण जातिलाई समाजमा घृणित मानिने पेशासित संलग्न जातिको रूपमा देखाएको मामिलाबारे गान्तोक सदर थानाले चिफ जुडिसियल मेजिस्टेटको आदेश पछि प्राथमिकी दर्ता गर्न परेको छ। राज्यका सचेत युवा अरूण लिम्बू र प्रकाश गुरुङले वेब सिरिजको भाग दुइमा प्रयोग भएको उक्त शब्द एकदमै आपत्तिजनक अनि नेपाली भाषी समुदायको मान सम्मान र अस्तित्वमा चोट पुऱ्याउने भएको बताएर त्यसको निर्माता, कलाकार, निर्देशक अनि प्रसारण गर्ने सबैलाई कानुनी कार्वाहीको माग गर्दै सदर थानामा प्राथमिकी दर्ता गरेका थिए। अधिवक्ता नवीन किरण प्रधानले न्यायालयमा यस मामिलाको दलिल प्रस्तुत गरेका थिए भने न्यायालयको आदेश पाउनसाथै थानाले प्रथमिकी दर्ता गरेको हो। जसलाई सदर थानाले शुरुमा अस्वीकार गरेपछि चिफ जुडिसियल मेजिस्टेडकोमा याचिका दर्ता गर्नु परेको थियो भने न्यायालयले याचिकाकर्ताको पक्षमा आदेश जारी गरेर प्राथमिकी दर्ता गर्नुपर्ने बताएपछिको थियो जसलाई पालन गर्दै थानाले आइपीसीको धारा 153 ए/292/ 504/505(1) अनि 505(2) तथा आइटी ऐन 2000को धारा 67 र 67ए मा प्रथमिकी दर्ता गरेको छ।