अब सडकमै सवारीको प्रदुषण चेक जाँच गरिने भएको छ। शुक्रबारदेखि यातायात व्यवस्था विभाग अन्तरगतको टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले सडकमै सवारीको प्रदुषणको अवस्था जाँच गर्न मिल्ने गरी दुई वटा घुम्ती भ्यान सञ्चालनमा ल्याएको छ।
एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले आफू चढ्ने गाडीहरुको जाँच गरेर घुम्ती सेवाको उद्घाटन गर्नुभयो। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यी भ्यानहरु दैनिक कार्यतालिका बनाएर सडकमा खटिने बताउनुभयो। उहाँका अनुसार यो सेवा सुरु भएपछि सवारीको प्रदुषण जाँच सडकमै गरेर तकालै प्रिन्टेड रिपोर्ट दिन सकिने छ ।
अहिलेसम्म टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमै ल्याएर सवारी जाँच गर्नुपर्ने बाध्यता छ । यो सेवा सुरु भएपछि प्रदुषण जाँच गर्न सडकमा भ्यानबाटै सवारी धनी र चालकले सेवा पाउनेछन् । यो खालको सेवा दिने भ्यानहरु विस्तारै बढाउँदै लैजाने र अन्य प्रदेश र शहरहरुमा पनि पुर्याइने महानिर्देशक हमालले जानकारी दिनुभयो। घुम्ती भ्यानबाट सेवा सुरु भएपछि सडकमा सवारीको प्रदुषणबारे अनुगमन गर्न पनि सहज हुनेछ।