Loading... आजः शनिबार , श्रावण १२, २०८१

अवैधानिक एवं स्वेच्छाचारी ढङ्गले मनोनयन गरिएकोमा जिल्ला सभापतिहरूको अापत्ति


नेपाली काँग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेकाे अवस्थामा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन्।

काठमाडौँ उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहनुभएका काँग्रेसका जिल्ला सभापतिको बुधबार सम्पन्न बैठकले वर्तमान केन्द्रीय समिति लगायत सम्पूर्ण समितिले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेका अवस्थामा विभागमा अवैधानिक एवं स्वेच्छाचारी ढङ्गले मनोनयन गरिएको आरोप लगाएका छन्। बैठकले लामो समय कसैलाई पनि जिम्मेवारी नदिई स्वेच्छाचारी ढंगबाट सञ्चालन गरी महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागलाई अमान्य ठहर गरेको बताएका छन्।

बैठकले केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णय अक्षरशः पार्टीको १४औँ महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने निष्कर्षसमेत निकालेको बुझिएको छ। पार्टीको कार्यविधि अनुसार समायोजन सम्पन्न भएका डडेल्धुरा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायत जिल्लामा विभिन्न बहानामा रोकिएको क्रियाशील सदस्यता फाराम तत्काल उपलब्ध गराउन माग गरेका छन्।

Insert your Ads code here

बैठकले विधानानुसार तत्काल कारवाही गरिनुपर्नेलाई नगरी महाधिवेशनको कार्यतालिका प्रकाशन भइसकेपछि प्रतिशोधका आधारमा कारवाही गरिएको जनाउँदै त्यस प्रकारका गतिविधि रोक्न नेतृत्वसँग आग्रह गरेको छ। साथै आसन्न १४औँ महाधिवेशनबाट आर्थिक पारदर्शिता, स्पष्ट राजनीतिक दृष्टिकोण, स्थानीय तहसम्मका मतदाताले प्रत्यक्ष अनुभूति गर्ने गरी भावी रणनीतिक योजनासहित नीति तथा नेतृत्व स्थापित गर्ने अभियानको घोषणासमेत गरिएको छ।

यसैगरी पार्टी एकीकरण वा प्रवेश गर्ने समूह वा व्यक्तिका हकमा पार्टीको विधानानुसार पार्टीको तल्लो तहबाटै क्रियाशील सदस्यता दिने व्यवस्था सुनिश्चित गर्न जिल्ला सभापतिले माग गरेका छन्। बैठकले मुलुकमा भ्रष्टाचार, अनियमितता र कुशासन बढेको तथा कोरोना नियन्त्रण र व्यवस्थापनमा सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको आरोप लगाउँदै त्यसविरुद्ध सङ्घर्षमा उत्रन आवश्यक निर्णय र निर्देशनका लागि नेतृत्वसमक्ष आग्रहसमेत गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!