Loading... आजः शनिबार , श्रावण १२, २०८१

असगर अलीको कम्पनीद्वारा न्युज पोर्टल ह्याक गरेको स्वीकार


सिरान टेक्नोलोजीले काठमाडौंप्रेस अनलाइनमा प्रकाशित समाचार डिलिट गरेको स्वीकारेको छ। सिरान टेक्नोलोजी एफवान सफ्टको भातृ कम्पनी हो। एफवान एफ्ट प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अली सेयर साझेदार रहेको संस्था हो।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले ट्वीटरमार्फत सिरान टेक्नोलोजीका प्राविधिकहरुले काठमाडौंप्रेसमा प्रकाशित समाचारको लिंक डिलिट गरेको स्वीकार गरेका हुन्।

काठमाडौंप्रेस अनलाइनमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीसहित उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका क्षितिज रिमाल संलग्न भएर चीनबाट महंगोमा स्वास्थ्य उपकरण ल्याइएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो।

Insert your Ads code here

‘काम गर्ने क्रममा गलत सूचना आदानप्रदान हुँदा गम्भीर त्रुटी हुन गएको हामीले पायौं,’ सिरान टेक्नोलोजीद्धारा प्रकाशित विज्ञप्तीमा भनिएको छ। काठमाडौं प्रेसले समाचारको लिंक डिलिट भएपछि केही घण्टा वेबसाइटमा समाचार पोष्ट गर्न नमिल्ने बनाइएको आरोप लगाएको छ।

काठमाडौं प्रेसले मंगलबार महंगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

बुधबार बिहान १०ः४० बजे उक्त समाचार समाचार पोर्टलबाट डिलिट भएको काठमाडौंप्रेस अनलाइनले जनाएको छ।

अनलाइनले एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र सीईओ सुवास शर्माले फोन गर्दै समाचार हटाउन आग्रह गरेको समाचार हटाउन नमानेपछि सिरान टेक्नोलोजीका प्राविधिकले फोन गरी समाचार हटाउनै पर्ने भन्दै लिंक डिलिट गरेको आरोप लगाएको छ।

समाचार पोर्टल निर्माण गर्ने प्राविधिक कम्पनीबाट समाचारको लिंक डिलिट हुनु र प्रधानमन्त्रीकै सूचना प्रविधि विज्ञको यसमा संलग्न हुनुबाट सरकारप्रति सन्देह उत्पन्न भएको भन्दै बिहीबार सम्पादकहरुले सामूहिक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए।

आफूविरुद्ध प्रकाशित समाचार प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अली साझेदार रहेको कम्पनीबाट डिलिट भएको भन्दै सामाजिक सञ्जालमा धेरैले यसको विरोध जनाइरहेकाेे ईकान्तिपुरले लेखेको छ।

अनधिकृत रूपमा अर्काको सिस्टममा छिरेर डाटा म्यानुपुलेट गर्ने कामलाई ह्याकिङ भनिन्छ। यस्तो साइबर अपराधमा संलग्नलाई दण्डित गर्ने कानुनी प्रावधान छ। तर, प्रधानमन्त्रीले आफ्ना आइटी सल्लाहकारलाई संरक्षण गर्छन् कि कानुनी कारबाही गर्छन्? अझैसम्म टुंगो लागिसकेको छैन। साइबर अपराध अन्तर्गतको कानुन लगाएर फेसबुकमा लेख्नेलाई जृल पठाइने गरेकोमा यस प्रकारको अपराध गर्नेलाई के गरिन्छ? प्रधानमन्त्रीकाे सल्लाहकार भएको कारणबाट चाेख्याइन्छ वा सजायका लागि प्रक्रिया अगाडि बढाइन्छ केही दिनमा स्पष्ट हुने नै छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!