Loading... आजः शनिबार , श्रावण १२, २०८१

असम सरकारले १३ वटा कलेजमा नेपाली भाषाको विभाग शुरु गर्ने र प्राध्यापक नियुक्ति गर्ने


गौहाटी, ३0 जनवरी। भारतको पूर्वोत्तर राज्य असमको राज्य सरकारले असमका १३ वटा कलेजमा नेपाली विभाग प्रारम्भ गर्ने भएको छ। यसको निम्ति उच्च शिक्षा विभागका निदेशकले सम्बन्धित कलेजका प्राचार्यलाई एउटा पत्र पठाएर ३१ जनवरीभित्र कलेजमा शिक्षक : विद्यार्थी अनुपातबारे जानकारी गराउन निर्देश दिएका छन्। प्रत्येक कलेजमा नेपाली विभागसहित दुईजना स्थायी प्राध्यापक नियुक्त गरिने निर्देशमा जनाइएको छ।
निर्देशअनुसार, २१ सेप्टेम्बर, २०१९ मा असम नेपाली साहित्य सभाका प्रतिनिधि र असम सरकारबीच भएको वार्ता र छलफलको प्रतिफलस्वरूप यो निर्णय कार्याकर हुने भएको हो। नेपाली विभाग खोलिन लागेका असमका १३ वटा कलेज हुन् -पाण्डु कलेज, गुवाहाटी; लङ्का कलेज, होजाई; मार्गेरिटा कलेज, तिनसुकिया; लिडु कलेज, तिनसुकिया; टाङला कलेज, उदलगुड़ी; तेजपुर कलेज, सोनितपुर; बेनटल कलेज, चिराङ; बोगाइगाउँ कलेज, बोगाइगाउँ; ज्ञानपीठ कलेज, बक्सा; सतिया कलेज, सोनितपुर; एलओकेडी कलेज, सोनितपुर, टी.एच.बी. कलेज सोनितपुर र विश्वनाथ कलेज, विश्वनाथ।
स्रोतअनुसार, यीमध्ये केही कलेजमा अघिबाटै नेपाली विषय पठनपाठन हुँदै आएको छ, जहाँ अस्थायी/स्थायी प्राध्यापक तथा व्याख्याताहरू कार्यरत् छन्। यी पदबाट छब्बीसजना नेपाली व्याख्याताले स्थायी नियुक्ति पाउनेछन्।
नेपाली भाषाको संरक्षण र विकासमा यो एक महत्त्वपूर्ण पहल हो। दीर्घ सङ्घर्ष र अथक प्रयासबाट प्राप्त यस उपलब्धिको निम्ति असम नेपाली साहित्य सभा र सम्पूर्ण असमेली नेपालीभाषी हितधारकहरूमा खुसीको लहर छाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!