आगामी तीन दिनसम्म नेपालका केही ठाउँमा भारी वर्षा हुने
गत साता नेपालका विभिन्न ठाउँमा भारी वर्षा भयो। ठाउँ-ठाउँमा बाढी र पहिरोले जनधनको क्षति भयो। शुक्रबारदेखि सुधार भएको मौसममा मंगलबारदेखि फेरि बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि देशका विभिन्न स्थानमा मध्यमदेखि अति भारी वर्षा हुन सक्ने सेतोपाटी अनलाइनले लेखेको छ।
‘अहिले दक्षिणी क्षेत्रमा रहेको न्यून चापीय रेखा नेपालतिर सर्दैछ। यसको अर्थ मंगलबारबाट देशका विभिन्न स्थानमा पानी पर्न थाल्नेछ,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भन्नुभयो,’कुनै ठाउँमा हल्का वर्षा हुने देखिन्छ भने कुनै ठाउँमा अति भारी वर्षा हुन सक्छ।’
२४ घन्टाभित्र कुनै ठाउँमा १० मिलिमिटरसम्म पानी पर्दा हल्का वर्षा भएको मानिन्छ। ५० मिलिमिटरलाई मध्य वर्षा भनिन्छ भने १०० मिलिमिटरसम्म पानी पर्यो भने भारी वर्षा भनिन्छ।
‘१०० मिलिमिटरभन्दा बढी पानी परे त्यसलाई हामी अति भारी वर्षा भन्छौं,’ मौसमविद् पौडेलले भन्नुभयो,’मनसुन सिजनमा ठाउँमा ठाउँमा अति भारी वर्षा भइरहन्छ। आइतबार राति स्याङ्जा र पोखरामा पनि १०० मिलिमिटरभन्दा बढी पानी परेको थियो।’न्यूनचापीय रेखा बनेर एकैचोटी धेरै ठाउँमा भारी वर्षा हुने देखिए महाशाखाले विशेष बुलेटिन जारी गर्ने पौडेलले बताउनुभयो।
महाशाखाले यसअघि असार २२, साउन १ गते पनि भारी वर्षाको सम्भावना देखाउँदै विशेष बुलेटिन जारी गरेको थियो।’साउन १५ गतेसम्म फेरि केही स्थानमा अतिभारी वर्षा हुने देखिएकाले आइतबार विशेष बुलेटन जारी गरिएको हो,’ पौडेलले भन्नुभयो,’देशभरि ठ्याक्कै कुन ठाउँमा कति बेला कति पानी पर्छ भन्न सकिन्न। तर जोखिममा रहेका नागरिक र सम्बन्धित सरकारी निकायहरूले सुरक्षाका आवश्यक काम गर्न सकून् र जनधनको क्षति नहोस् भनेर हामीले बुलेटिन निकालेका हौं।’
महाशाखाका अनुसार यसपालि बागमती, गण्डकी र प्रदेश ५ का केही तराई/पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि थौरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पौडेलले बताउनुभयो।
‘भारी वर्षा हुँदा कुनै ठाउँमा एक्कासी पहिरो आउने, नदीको वहाब बढेर कटान/डुबान हुने भएकाले जोखिमपूर्ण क्षेत्रमा बस्ने मानिसहरूले बढी सचेत हुनुपर्छ,’ उहाँले भन्नुभयो।