आज साउन पन्ध्र अर्थात् खीर खाने दिन
आज श्रावण १५ अर्थात खिर खाने दिन । श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
रोपाई सकिन आँट्यो या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैँयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँस प्रशस्त हुन्छन् । जुन लैनो गाई तथा भैंसीहरूले अत्यन्त मन पराउने गर्छन्, जसका कारण प्रशस्त दूध पनि दिन्छन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा रहीआएको छ ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद्हरु बताउछन् । ऋषिमुनिका पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा खीर बनाउँछन् । यस वर्ष साउन १५ गतेका दिन श्रावण शुक्ल एकादशी परेकाले चामलको खीर नखानेले साबुदानाको खीर बनाएर खान्छन् । आजको एकादशीलाई पुत्रदा एकादशीका रूपमा मनाइन्छ । एकादशी व्रत गर्नेले चामलबाट बनेका परिकार खाँदैनन् ।\\\
तपाइँकाे प्रतिक्रिया
