Loading... आजः शनिबार , श्रावण १२, २०८१

आर्थिक अवस्थाको कारण नानीहरूले स्कुल छोड्नु नपरोस् भनेर विभिन्न माध्यमबाट सरकारले सहायता गरिरहेको छः मुख्यमन्त्री गोले


सोरेङ, 4 मार्च। पश्चिम सिक्किमको सरकारी माध्यमिक विद्यालय रुम्बुकमा आयोजित स्वर्ण जयन्ती समारोहको समापन कार्यक्रममा आज राज्यका मुख्यमन्त्री पीएस गोलेले सहभागिता जनाए। यहाँ सम्पन्न भइरहेको दस दिनव्यापी कार्यक्रमको समापन दिवसमा मुख्यमन्त्री गोले मुख्य अथितिको रूपमा उपस्थित थिए। यस अतिरिक्त कार्यक्रममा सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा, क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा, मन्त्रीद्वय लोकनाथ नेपाल र भिम हाङ सुब्बा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, स्टेट बैंक अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ, पूर्व उप मुख्यमन्त्री पीटी लक्सम, महकुमा स्तरका विभागीय प्रमुख, विभिन्न शैक्षिक संस्थानका प्रमुख सँगसँगै शिक्षक-शिक्षिकागण, गैरसरकारी र नागरिक समाजका प्रतिनिधिगण, समारोह समितिका अध्यक्ष एलएम सुब्बासहित आयोजक समितिका सम्पूर्ण सदस्यगण, जिल्ला तथा ग्राम पञ्चायतगण, स्थानीय आम जनता र आयोजक स्कुलका प्रधानाध्यापक एसके लेप्चासहित शिक्षक शिक्षिका र विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
उल्लेख्य, पश्चिम सिक्किमको सोमबारे बजारदेखि दुई किलोमिटरमा अवस्थित रुम्बुक स्कुलको स्थापना ४ मार्च, १९७०-मा भएको थियो। स्थापना कालका प्रथम स्कुल सञ्चालन समितिका मुख्य सल्लाहकार बीरबल सुब्बा, सल्लाहकारमा सुक्रसिंह सुब्बा, दल बहादुर सुब्बा र धनराज सुब्बा थिए भने अध्यक्ष फौदराज लिम्बु, उप सभापति पूर्णसिंह थेबे, सचिव धन बहादुर कार्की र सदस्यहरुमा महाधोज लिम्बु, दिलराम प्रधान, कर्मा नर्बु शेर्पा अनि रामशेर लिम्बु रहेको थियो।

सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पीएस गोलेले वर्तमान सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहे बताउँदै विद्यार्थीहरुलाई राम्रो भन्दा राम्रो शिक्षा दिलाएर देशकै सक्षम मानव संसाधन तयार पार्ने लक्ष्य लिएर काम गरिरहेको बताए। मुख्यमन्त्री गोलेले अघि भने, सरकारले सांसद कोष शिक्षामा खर्च गर्ने पोलिसी बनाएको छ। सरकारले सिक्किमको सबै स्कुलहरुमा स्मार्ट कलास रुम बनाउने छन्। हामी नयाँ शिक्षा प्रणाली शुरु गर्दैछौं। आउने बजेटमा पनि शिक्षालाई नै प्राथमिकता दिनेछौं।

उनले अघि भने, सरकारले प्रत्येक जिल्लामा एक एकवटा विश्वस्तरीय रेसिडेन्शल स्कुल निर्माण गर्ने छ। आर्थिक अवस्थाको कारण नानीहरूले स्कुल छोड्नु नपरोस् भनेर विभिन्न माध्यमबाट सरकारले सहायता गरिरहेको छ। विद्यार्थीहरुले पनि शिक्षालाई गम्भीरतापूर्वक लिनुपर्छ, मुख्यमन्त्री गोलेले विद्यार्थीहरुलाई शिक्षा माथि अभिप्रेरित गर्दै यसो भने।

अर्कोतिर मुख्यमन्त्री गोलेले स्वास्थ्य सम्बन्धि पनि प्रत्येक जनता सचेत रहनुपर्ने अनि वर्षमा दुईपल्ट सम्म स्वास्थ्य जाँच गर्नुपर्ने अपिल गर्दै उनले अघि भने, रोग लागेर उपचार गर्न भन्दा सचेत भएर स्वास्थ्य जाँच गरि बस्नुपर्छ। जाँचको निम्ति अस्पतालमा सरकारले नि:शुल्क व्यवस्था मिलाइदिएको बताए।
रुम्बुङ स्कुलमा आठ कोठे स्कुल बिलडिङ निर्माण गर्नको निम्ति एक करोड ५४ लाख रुपियाँ सरकारले अनुमोदन गरिसकेको बताए। सम्बन्धित दरामदिन समष्टि अन्तर्गत सोमबारे खेलमैदान निर्माणको निम्ति एक करोड रुपियाँ सरकारले छुट्टाईसकेको अनि यी पूर्वाधार निर्माणको लागि अब चाडै टेन्डर हुने पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए। यसरी नै दोदकमा ३ सय २५ करोड रुपियाँ लागतमा श्रीधाम वृन्द्रावन निर्माण गर्ने परियोजनाको शुरुवात भइसकेको अनि दरामदिनमा पूर्व सरकारले थातीमा राखेको लेप्चा जातिको ऐतिहासिक धरोहर स्वर्ग जाने सिढी निर्माणको लागि सरकारले धनराशि छुट्टाई सकेको पनि मुख्यमन्त्रीले बताए। दरामदिन समष्टि कै बढियाखोपमा निर्माणधिन अवस्थामा रहेको लोक संस्कृतिक केन्द्रको निर्माण कार्य पूरा भइसके पछि दरामदिन समष्टि पर्यटन गन्तव्यको रूपमा परिणत हुने पनि मुख्यमन्त्रीले बताए। यसरी नै सोरेङ-च्याखुङ समष्टिस्थित मागसारी मगरजोङमा मगर जाति ऐतिहासिक धरोहर मगरजोङको विकासको निम्ति आउने बजेटमा पाँच करोड रुपियाँ राखिने पनि मुख्यमन्त्रीले जानकारी दिए। च्याखुङमा रहेको विज्ञान कलेजलाई आधुनिक विज्ञान कलेज बनाउने उदेश्यले सरकारले काम गरिरहेको अनि सरकारले जमीनको निम्ति पैसा छुट्टाई सकेको बताउँदै मुख्यमन्त्रीले पश्चिम जिल्लालाई शैक्षिक हब बनाउने छौं भने।

Insert your Ads code here

सरकारले कर्मचारीहरुको हितमा धेरै प्रभावकारी कदमहरु चलेको अनि सबै कर्मचारीहरुले पनि जनहितमा खटेर काम गरिदिने उनले अपिल गरे। उनले अघि भने, राज्यमा स्थायी र अस्थायी गरेर ७७ हजार कर्मचारीहरु छन्। कर्मचारीहरुको तलबको निम्ति वर्षमा ३२ सय करोड खर्च हुन्छ। यो तलब जनताको राजस्वबाट प्राप्त हुन्छ। सिक्किम सानो राज्य हो, सबैजना मिलेर राज्यको विकासको लागि काम गरौं। सरकारले राजनैतिक दृष्टिकोणले कसैलाई टास्फर गरेको छैन। यदि कसैको भएको छ भने जन गुनासोको आधारमा मात्रै भएको छ। राम्रोसँग काम गर्नेलाई सरकारले रिवार्ड दिनेछन्, मुख्यमन्त्रीले यसो भने। पर्यटकहरुलाई ध्यानमा राख्दै पश्चिम सिक्किमको राम्बाङ चेकपोस्टमा एफआरओ अफिस खोल्ने सरकारको योजना रहेको पनि मुख्यमन्त्रीले बताए।

कार्यक्रममा स्कुल स्थापना गर्नको निम्ति अतुलनीय योगदान पुर्यासउने अनि जमीन दाता र भूतपूर्व शिक्षक शिक्षिकाहरुलाई आयोजक समितिले अभिनन्दन जनाए। यसै कार्यक्रमबिच राज्यका मुख्यमन्त्री पीएस गोलेलाई पनि अभिनन्दन जनायो। अन्य अभिनन्दित हुने व्यक्तिहरुमा रुम्बुक स्कुलका प्रथम प्रधानाध्यापक डीबी छेत्री, भूतपूर्व प्रधानाध्यापकहरु क्रमश: तिलक प्रसाद शर्मा र जीएस रिजाल, लिम्बु भाषा शिक्षक बीआर सुब्बा र सुकराज सुब्बा सामेल छन्। यसरी नै मुख्यमन्त्रीको हातबाट स्मृति चिन्ह प्रदान गरेर एचडी सुब्बा, रोहित पराजुली, रोशन प्रधान, लाकुहाङ सुब्बा र एसओ लेप्चालाई आयोजक समितिले सम्मान जनायो। कार्यक्रममा रुम्बुक स्कुलले स्वर्ण जयन्तीको अवसरमा प्रकाशित गरेको स्मारिकाको पनि विमोचन गरेको छ। यस अघि कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा र सम्बन्धित स्कुलका प्रधानाध्यापक एसके लेप्चाले पनि सम्बोधन राखेको थियो। स्कुलको पक्षमा राखिएको दुईवटा मागलाई पनि पूरा गरिदिने मुख्यमन्त्री गोलेले सकारात्मक आश्वासन दिएको छ।
यस दस दिने स्वर्ण जयन्ती कार्यक्रममा खुल्ला फुटबल टुर्नामेण्ट, हाजिरी जवाफ प्रतियोगिता, ब्याटमेन्टन प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र अन्य धेरै ज्ञानमूलक कार्यक्रमहरु पनि समावेश गरिएको थियो। ( सरोज गुरुङ)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!