Loading... आजः शनिबार , असार ३०, २०८१

इन्टरनेट अदालत !


स्कुल सम्झी न’ भनेर कसैले सम्झायो भने स्कुल याद आउँदैन, साथी याद आउँछन्।

साथीसगँको चकचक, कुटाकुट, ठाकठुक, सबै याद आउँछ। घुँडा, कुइना खुल्स्याएकादेखि कतै चोट नलगाइ मन मात्रै ताछेका, सब झगडा याद आउँछन्। आउनुस्, अहिलेलाई एउटा त्यस्तै मन ताछेको झगडाभित्र पसौं।

सबभन्दा मिल्ने साथीसँग ठाकठुक पर्‍यो तपाईंको।

Insert your Ads code here

तीन जना बस्नुहुन्थ्यो बेन्चमा। ठाकठुकको पहिलो चरणमा सधैं कुनामा धकेलिने साथीलाई बीचमा सर्नुपर्‍यो। केही दिनमा त्यतिले पुगेन, बेन्च नै बदलियो। बिस्तारै कापी समेत टाँसिएर बस्न नसक्ने भए। सरको कुर्सीमा गृहकार्य बुझाउन पनि सँगै जान सकिएन।

‘चर्पी जाँदा पनि नछुट्टिने जोडीको पानी बाराबार छ अइले,’ स्कुलले गफ गर्ने नयाँ मसला पायो।

केही दिनमै मसला हेडसरकै खाजामा पुगेछ। सरले भोलिपल्टै प्रार्थना सकिएपछि, एक्कासि दुवैको नाम लिएर स्टेजमा बोलाउनुभयो।

डराउँदै अगाडि पुग्नेबित्तिकै, झ्याप्प तर्साउने प्रश्न तेर्सियो, ‘जतिबेलै सँगै हुने दुई जना, के भो? केको झगडा हो यो?’

अब पर्‍यो फसाद!

त्यत्रा मान्छेको अगाडि के भन्नु? कसरी भन्नु?

तपाईं सोच्दै नै हुनुहुन्थ्यो, देब्रे हातले दाहिने बाहुलाको टाँक तान्दै साथी गम्की, ‘येइ हो नबोल्नी। नास्ता खान पनि एक्लै एक्लै जान लागी अनि म पनि हिँडे अरूसँग। नत्र सोध्नुस्, मैले केही नराम्रो सुनाकी छैन यसलाई।’

तपाईंलाई भन्न मन थियो, ‘तेइ त साथी, नराम्रो हैन, तैंले केही नै सुनाइनस् के। म स्कुल नआको दिन नयाँ सर आउनुभा रैछ, सुनाइनस्। तेरो तारिफ पनि गर्नुभा रैछ, सुनाइनस्। अस्ति रिजल्ट आएदेखि सब सुनाउन छाडिस्। मैले डाह मान्छु जस्तो गरिस्। सँगै एउटै नोट पढ्या हैन हाम्ले? मैले देको हो मलाई चार नम्बर बढी? मैले जाँचेको हो र कापी? किन मसँग बोल्दै नबोली आँखा तरेर घर गइकी तँ? आफू फर्स्ट नभा भए मलाई नि नराम्रो लाग्दो हो। तेइ पनि म बोल्दै नबोली त मरे नि जान्नथेँ।’

तर मनले त्यतिका विद्यार्थी अगाडि नांगिन मानेन।

बरू निहुरिएर बहाना सुनायो, ‘यसले पनि मेरो मेड्डीभरि मसी छ्याप्देकी सर। घरमा कस्तो गाली गर्नुभो।’

ऊ झटपट बोली, ‘त्यो त…अनि म जिस्केर…।’

हेडसरले चुप लाग्न इशारा गर्नुभयो।

सुनिने जवाफमा दुइटा दोष मात्रै सुनिए- ‘यो बोलिन, अनि।’

‘यसले मेड्डीमा मसी छ्यापी अनि।’

बाँकी केही जवाफ तपाईंका आँखाबाट पोखिएर गालामा बग्दै थिए। केही सायद उता उसको घाँटीमा गाँठो परे। तर यी जवाफ न सुन्न मिल्थ्यो, न अरू विद्यार्थीले देख्न सक्थे।

हेडसरले बस् तिनै सुनिएका दुई गोटा जवाफको भरमा उर्दी लगाउनुभयो, ‘ल झगडाको कारण था भैहाल्यो। बाँकी विद्यार्थीले भन त, को सही को गलत? अब हामी फैसला गरौं, को चैं झगडालु रैछ।’

अब अरू विद्यार्थीले जसलाई झगडालु घोषणा गरून्, के यसरी आएको फैसलाले न्याय हुन्छ?

कस्तो नमिल्दो कुरा नि है?

हो, यही नमिल्दो कुरा आजकाल एकथोकसँग दुरुस्तै मिल्छ। यसैगरी फैसला हुने ठाउँ छ एउटा- इन्टरनेट अदालत।

फेसबुक, युट्युब, ट्विटर।

विशेषतः यी तीन इन्टरनेट अदालतका मुख्य शाखा हुन्। यस अदालतले नहेर्ने कुनै विषय छैन। खुला चौरदेखि बन्द बिस्तारासम्म घुस्न छुटाएको कुनै परिधि छैन। यो अदालतले चिनिन चाहने, नचाहने सबैलाई चहार्छ। प्याकप्याक पारेर पकड्छ अनि बसेर मजाले चिथोर्छ।

यदि इन्टरनेट अदालतको मनोवाद आकाशवाणी हुँदो हो त सायद यस्तो सुनिँदो होः

१. थाहा पाइस्? डिभोर्स भयो रे नि त्यो जोडीको!

– किन हुँदैन त अनि? हातमा चार पैसा आयो, चार मान्छेले चिने, अब के चल्थ्यो त पुरानो लोग्ने! टिकटकले भाँड्यो घर।

– हैन, हैन। केटाले केटीको प्रगति देखी नसक्या हो। केटाको त जातै त्यस्तै!

– कोइ न कोइ त पक्का गुण्डा हो। कुरा नमिलेर मात्रै छुट्टिने पनि हुन्छ? म त मान्दै मान्दिनँ। छुट्टिने मान्छे आफैंले भने पनि मान्दिनँ। मैले गरेको हल्लाले उनीहरूका बाआमालाई जस्तो सुकै लागोस्, मलाई के मतलब! मैले लगाएको आरोपले त्यो केटीले करिअर नै त्यागोस्, मलाई के मतलब! मैले कसैको करिअरको ठेक्का लेको छु र? मेरो ठेक्कामा परेको त फैसला हो। जे-जे मन लाग्छ बोल्छु!

२. रंगेहात भेटेछन् रे नि ती दुईलाई त, भिडियो पनि खिचेछ।

– ठिक्क पर्‍यो! वयस्क केटाकेटी, सहमति भन्नी कुरा सब किताबमै सुहाउँछ के! लोग्नेले नै अह्राएपछि बोक्नु परेन त क्यामरा? कानुनले अपराध मान्दैन भनेर भो? मेरा लागि त अनैतिक हो नि! रक्सी खाएर कुट्ने होस् कि कुटुकुटु मन काट्ने, जोडा त जोडा हो नि। म त भन्छु, यस्ता केटाकेटी बदनाम हुनै पर्छ। तुरून्तै भिडियोमा कमेन्ट गरिहाल्छु, पढोस् न त्यो बेसोमतीले। च्यानल सबस्क्राइब पनि गर्छु। यस्तो समाजको संस्कार बचाउने भिडियो पनि ट्रेन्डिङमा नल्याए त घरमा इन्टरनेट जोडेको के काम?

इन्टरनेट अदालतलाई सबतिर भ्याउनुछ। सायद त्यसैले कहीँको पनि जरा खोतल्न भ्याउनु जरूरी लाग्दैन। फुर्सद नै कहाँ छ र? हजार मुद्दा छन् पेसीमा। फटाफट धेरथोर कुरा सुन, झ्यापझुप फैसला देऊ, एक रातमा दोषी करार गरिदेऊ, अगाडि बढ।

इन्टरनेट अदालतको पहिलो सिद्धान्त यही हो।

प्राकृतिक न्यायको सिद्धान्त भन्छ- फैसला गर्नुअघि दुवै पक्षको कुरा सुन।

इन्टरनेट न्यायको सिद्धान्त भन्छ- जो बोल्छ, त्यही पक्षको कुरा मान। अर्को पक्ष बोल्दैन भने ऊ पक्का दोषी हो। यदि मान्छे सही छ भने त बोल्छ नि। बोल्न सक्छ। बोल्नै पर्छ!

तर के भन्नुपर्ने सबै कुरा सबका अगाडि भन्न सकिने हुन्छन्? के काटेका सबै घाउलाई शब्दमा उतार्न सकिन्छ?

एउटा घरलाई टाढाबाट खिच्यो कसैले। केही दिन भयो, छोरी आमासँग दिनरातै चिढिन्छे। जब खाना थप्नुपर्छ, स्वार्र थाल अगाडि सारेको आवाज मात्रै सुनिन्छ। छोरी बोल्दिन। जब कोठाभित्र पस्छे, ढोका लगाएको आवाजले छिमेकीलाई समेत तर्साउँछ। जसले जे भने पनि झर्किन्छे।

इन्टरनेट अदालतले यस्तो भिडियो देख्यो भने, तुरून्तै फैसला गरिदिन्छः

– छोरी त एक नम्बर छुच्ची, बेहोरा नभकी रैछ नि!

तर छोरीले राती आकाश हेर्दै गर्ने कुरा अर्कै छन्। अस्ति आमाले कुन रिसमा ‘यो त मरे पनि हुन्थ्यो’ भन्दिनु भयो। उसलाई थाहा छ, बोलेको त रिस नै हो तर बोली आमाको थियो। आमाको बोलीले पोल्यो। जति कोशिस गर्दा पनि नचिसिने गरी पोल्यो।

उसलाई छुच्ची हुन मन छैन। आमाको हात पकडेर रून मन छ। आमासगँ रून मन छ। गुनासो गर्दै, गाली गर्दै, अँगालेर रून मन छ। तर कसैले नदेख्ने गरी। भाइ र बाबाले पनि नदेख्ने गरी।

इन्टरनेटले यो सब थाहा पाउँदैन। थाहा पाओस् पनि कसरी! ऊ त सबको अगाडि रोए मात्रै दुःख पत्याउँछ।

सबै कुरा सबका अगाडि सुनाउन सकिने हुँदैनन् भनेरै भवनसहितको न्यायालयले बन्द इजलास सिर्जना गरेको हो। तर इन्टरनेट अदालतलाई यो सब सोच्ने फुर्सद कहाँ!

नदीमा हिँड्दाहिँड्दै खुट्टा च्वास्स घोच्यो केहीले। रगत निक्लियो। कुनै कुनै अपराधमा असली दोषी भेट्टाउनु नदीको त्यो घोच्ने चिज भेट्टाउनुजस्तै हो। मुद्दाको बाढीले पानी धमिलो बनाउन्जेल माथिको हिलो मात्रै देखिन्छ। धमिलो पानीमा तैरिरहेको बाँसको सिर्कनो देखिन्छ। अनि लाग्छ, पक्कै यही सिर्कनोले चोट लगाएको हो। तर हुत्याएर सिर्कनो फालेको वर्षौंपछि जब पानी सङ्लिन्छ, तब बल्ल पो थाहा हुन्छ, पानीमुनि एउटा धारिलो ढुंगा पो रहेछ।

भवनभित्रको न्यायालयले यो महसुस गर्‍यो। स्विकार्‍यो कि अदालत पनि कहिलेकाहीँ झुक्किन सक्छ। अनि काल चाहिँ कहिल्यै झुक्किँदैन। एकपटक काललाई सुम्पिएपछि कुनै ज्यान फिर्ता ल्याउन मिल्दैन। त्यसैले न्यायालयले मृत्युदण्ड अस्वीकार गर्‍यो।

यसको उल्टो, इन्टरनेट अदालतले भने जो सुकैलाई सजिलै मृत्युदण्ड दिन सक्छ।

गजब त के भने, यो मृत्युदण्डमा फाँसी लगाइँदैन। र पनि मान्छे मर्छ। सुस्त सुस्त मर्छ। कोही ‘कठै बिचरी’ सुन्दै। कोही ‘छ्या नकचरी’ पढ्दै। कोही ‘मेरो जिन्दगी मैलाई सम्हाल्न देऊ, तिमीहरू फैसला नसुनाऊ न’ लेख्न नसकेर। कोही हरेक दिन एकएक चक्की दोषको गोली निल्नुपरेर।

तर यसरी कोही मरेपछि पनि इन्टरनेट अदालतले हत्याको भार बोक्नुपर्दैन। किनकी यस्ता फैसला दिने न्यायाधीश पत्ता लगाउन सम्भवै छैन।

इन्टरनेट अदालत फैसला मात्रै सुनाउँदैन, पक्ष-विपक्ष तर्क पनि आफैं गर्छ।

उसलाई बस् एउटा मुद्दा चाहिएको छ। चाहे त्यो पाँच वर्षको निर्दोष अनुहार नै किन नहोस्। अरू कुनै कुरामा सहमति दिन नसक्ने पाँच वर्षे उमेरले माइकअगाडि रूने सहमति दिँदा एकाएक अठार वर्षे बालिग ठहरिन्छ।

तर साँच्चै १८ वर्ष भएपछि, उसलाई फेरि त्यही भिडियो सम्झाउँदै कसैले होच्यायो भने?

२० वर्ष पुगेको रात ऊ पुरानो आफूलाई हेर्दै छट्पटिन थाल्यो भने?

अनि जताततै, ‘बिचरा, ‘च्व! च्व! च्व!’ मात्रै सुनेको उसले जिन्दगीभर आफूलाई साँच्चै केही नभएको निरीह ठानिरह्यो भने?

यस्ता परिणाम सोच्ने फुर्सद कसैलाई छैन।

यी इन्टरनेट न्यायाधीशहरू घाउ नै लाग्नेगरी कोट्याइ कोट्याइ हेर्छन् अरूको जिन्दगी। मानौं त्यो कुनै सिरियलको कहानी हो। फरक यत्ति, सिरियलका पात्र जीवित मान्छे होइनन्। सिरियल सकिएपछि पात्र पनि सकिन्छन्। पात्र खेल्ने मान्छेलाई पात्रले खाएको गालीले दुख्दैन।

तर सुन्नेलाई दुख्दै दुखेन भने त सुनाउनुको के मजा! त्यसैले यी न्यायाधीशहरू जिउँदो मान्छेको अधुरो जिन्दगी बुझेर उसलाई निसास्सिने गरी दुखाउँछन्।

इन्टरनेट न्यायाधीश अरूको निन्याउरो मुख खिचेर लाइक र लभको पोल चलाउने फोटोग्राफर मात्रै होइनन्। कुनै घरझगडाको रमिता बनाउने युट्युबर मात्रै पनि होनन्। न त कसैले दुःख सुनाउँदा कानभन्दा पहिला भ्वाइस रेकर्डर खोल्ने हात नै। यी न्यायाधीश त ती सब हात हुन् जो यी फोटो, भिडियो, रेकर्डिङमुनि प्रतिक्रिया जनाउँछन्। प्रतिक्रियाको नाममा फैसला सुनाउँछन्। कसैले आफैंसँग पनि दोहोर्‍याउन नसक्ने भोगाइलाई बिना उसको अनुमति समाचार बनाउँछन्। समाचार बनाउनेलाई सबस्क्राइब गर्छन्।

यहाँ हरकोहीलाई कानुन नपढी न्यायाधीश बन्ने रहर छ। युट्युब च्यानलले त बस् न्यायाधीशहरूको बढ्दो माग देखेर मुद्दा पस्किएका मात्रै हुन्। कमेन्ट गर्दै, सेयर गर्दै न्यायाधीश बन्न खोज्नेहरू एकैछिनलाई मात्रै मान्छे बन्दिए यस्ता कुनै च्यानल टिक्ने थिएनन्।

तर कमेन्ट गर्ने न्यायाधीशलाई लाग्छ, ‘मेरो त बिहे नै भको छैन, अरूलाई डिभोर्सको कुराले बदनाम गरेर के भो?’

‘मेरा त कोइ दाजुभाइ नै छैनन्, अर्काको अंश मुद्दाको खिसी गरेर के भो?’

‘म कहाँ अरूजस्तो बेवकुफ छु? झुक्किन्नँ म। कहाँ आफ्नो निजी तस्वीर साझा गर्छु त्यसरी?’

कमेन्ट गर्ने न्यायाधीशहरूलाई लाग्छ, म कमेन्ट पढ्ने छेउमा कहिल्यै पुग्नु पर्दैन।

एक छेउमा बसेर दुखाउने हर कोहीलाई लाग्छ, म अर्को छेउमा बसेर कहिल्यै रूनु पर्दैन।

लाग्छ, म कहिल्यै गल्ती गर्दिनँ। लाग्छ, मेरो गलतको परिभाषा कहिल्यै बदलिँदैन।

प्रसिद्ध बेलायती दर्शनशास्त्री बरट्रान्ड रसेलले भनेका रहेछन्, ‘म मेरा विचारका लागि ज्यान दिन्नँ किनकी म गलत पनि हुन सक्छु।’

म सोच्छु, म गलत मात्रै होइन, बदलिन पनि सक्छु। विचार बदलिन सक्छ। सम्बन्ध बदलिन सक्छ। हिजो जुन विचार थोपरेर कसैलाई डिप्रेसनमा पुर्‍याइयो, आज आफैंलाई त्यो विचार मन नपर्न सक्छ। आफैं त्यो ठाउँमा भइन सक्छ।

कसैले मलाई अँगाली दियोस् भन्ने चाहना छ भने आफ्ना हात पनि उसैगरी फैलाउन सक्नुपर्छ। अँगालेपछि पछाडिबाट ढाडमा हान्दिनँ भन्ने विश्वास दिलाउन सक्नुपर्छ। यदि अँगालो त्यस्तो हुँदैन भने, बरू टाढिएरै एक अर्काको अस्तित्व मात्रै स्विकार्नु सुन्दर!

अर्काको छाला देखेर मैले जति बुझ्छु शरीर त्यति मात्र होइन। इन्टरनेटले छाला देखाउँछ अनि हामी हतारहतार डाक्टर पल्टिएर औषधि सुझाउँछौ। कति त अझ लेप समेत लगाउन थाल्छौं। जबकि सत्य शरीरभित्र छ। रोग बुझ्न रगत जाँच्नुपर्छ। अनि सबभन्दा महत्वपूर्ण कुरा, कसैले म मेरो शरीर देखाउँदिनँ भन्न पाउँछ। शरीर कसरी जँचाउने, यो फैसला गर्ने अधिकार उसको मात्रै हो, जसको शरीर हो।

Source: SetoPati, writer: Srijan Pokharel

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!