Loading... आजः मंगलबार , बैशाख ४, २०८१

इरान र अमेरिकाबीचको टकराव संवेदनशील मोडमा


इरान र अमेरिकाबीचको टकराव संवेदनशील मोडमा आइपुगेको छ। छद्म युद्ध र तिखा टिप्पणीले दशक नाघिसकेको दुई देशबीचको तित्ततापूर्ण सम्बन्ध अब प्रत्यक्ष आक्रमण–प्रत्याक्रमणतर्फ मोडिएको छ। अमेरिकी आक्रमणमा इराकको बग्दादमा इरानी विशेष फौज कुर्द फोर्सका कमाण्डर कासिम सुलेमानी मारिएपछि दुई देश प्रत्यक्ष टकराबमा आइपुगेका हुन्।

इरानमा सुलेमानीको छवि अमेरिकाविरुद्ध राष्ट्रिय प्रतिककै रुपमा रहेकाले इरानले पनि घातक हमला गर्नसक्ने प्रवल सम्भावना छ । सुलेमानीमाथि आक्रमण इराकमा भएकाले इराकी सरकार कठिन चुनौतीमा फसेको छ। अमेरिका र इरान इराकमा आफ्नो प्रभुत्व कायम गर्न दशकअघिदेखि प्रतिस्पर्धी रहेपनि यो तहको घातक हमलामा उत्रेका थिएनन्।

इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले अपराधीहरूमाथि कडा बदला लिने चेतावनी दिएका छन् भने इराकी लडाकु कमाण्डर पनि मारिएकाले अमेरिकामाथि इराकमै कुनै न कुनै आक्रमण गरी बदला दिने निश्चित छ।

Insert your Ads code here

इरानकै दोस्रो शक्तिशाली मानिने, सिधै सर्वोच्च नेता खामेनीको नेतृत्वमा काम गर्ने तथा क्षेत्रभरीकै शिया लडाकुको नेतृत्व सुलेमानीले गर्ने भएकाले पनि अमेरिकी सुरक्षाकर्मीहरुमाथि इरानले सिधै आक्रमण गर्नसक्ने सम्भावना छ । सुलेमानीको हत्याको बदलामा इराकमै अमेरिकामाथि ठूलै आक्रमण हुनसक्ने सम्भावना छ। फेरि त्यसलाई अमेरिकाले प्रतिरोध गरेमा धेरै ठूलो प्रत्यक्ष युद्ध हुन सक्छ।

अमेरिका र इरानबीचको सम्बन्ध चार दशकदेखि सहज थिएन । तर पनि परिस्थिति यसअघि कहिल्यै यो मोडमा पुगेको थिएन । अमेरिका र इरानबीचको तनावपूर्ण टकराबले खतराको रेखा नाघ्न थालेको यो पछिल्लो उदाहरण हो।

अमेरिकाले केही दिनअघि इरान समर्थक लडाकुहरुमाथि इराक र सिरियामा गरेको हमलाका विरोधमा बग्दादमा अमेरिकी दूतावासमा हमला भएको थियो । केही समयदेखि अमेरिका र इरानबीचको तनावकैबीच इरानले अमेरिकी ‘आरक्यू–४ ए ग्लोबल हक ड्रोन’ खसालेको थियो भने तेल बोक्ने जहाजहरुमाथि आक्रमण भएको थियो । जसलाई अमेरिकाले इरानमाथि दोष लगाएको थियो।

ट्रम्पको आगमनसँगै अमेरिकाले इरानलाई मध्यपूर्वको प्रमुख निशाना बनाइरहेको छ । ट्रम्प प्रशासनले इरानलाई आतंकको केन्द्र भन्ने गरेको छ भने इरानले अमेरिकालाई सैतानको संज्ञा दिने गरेको छ।

अमेरिकामा ट्रम्पको आगमनसँगै दुई देशबीच तिखो वाक युद्ध यर्थाथमा रुपान्तरण हुने चिन्ताहरु गर्न थालिएको थियो । अमेरिका र इरानबीचको सम्बन्धमा टकराब आउनुमा क्षेत्रीय प्रतिस्पर्धादेखि धेरै रणनीतिक मतभिन्नताहरु छन् । तरपनि यदि हमला भइहालेमा मध्यपूर्व एउटा भीषण युद्धको सम्मुख पुग्नेछ, जसको मानवीय र भौतिक मूल्य निकै महंगो पर्न सक्छ।

कस्तो हुन सक्छ युद्ध ?

अमेरिका र इरान दुबै ठूलो युद्ध चाहिरहेका छैनन् । तरपनि एकअर्कोसँगको सम्बन्ध घातक मोडमा आइसकेको छ । यदि साँच्चै युद्ध भइहालेमा यो एक भयाभह क्षेत्रीय युद्धमा रुपान्तरण हुनेछ।

अमेरिका र इरान दुबैका क्षेत्रीय रणनीतिक साझेदारहरु रहेकाले युद्ध बहुआयामिक हुनेछ । साइबरदेखि क्षेप्यास्त्र र अन्य आक्रमणहरु हुनेछन्।

इरानको आसपास तत्कालै कारबाही गर्नसक्ने दर्जनौं अमेरिकी सैनिक अखडाहरु छन् । अफगानिस्तान, कुवेत, कतार, साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), इराक, सिरिया, टर्की लगायत दर्जनौं अमेरिकी सैनिकहरु मध्यपूर्वमा तैनाथ छन्।

अमेरिकाले इरानसँगको युद्धका बेला हिन्द महासागरमा रहेको क्षेत्रैभरी कारबाही गर्नसक्ने डिएगो गार्सिया, साइप्रसमा रहेको सैनिक विमानस्थल तथा लाल सागरमा रहेको सैनिक अखडाको पनि प्रयोग गर्न सक्छ । त्यस्तै, सयौं लडाकु विमानवाहक अत्याधुनिक पानीजहाज र अन्य युद्धपोत तैनाथ गर्नसक्छ।

इरानसँग युद्ध भइहालेको खण्डमा विश्व शक्ति मुलुक अमेरिकाले आफ्नो विशाल सैनिक तागत प्रदर्शन गरी केही दिन, साता वा महिनाभित्रै इरानको सत्ता ढाल्ने क्षमता राख्छ । तर, एशियामा केन्द्रित अमेरिकी नीतिलाई यसले ठूलो प्रभाव पार्नसक्छ भने आक्रमणपछिको व्यवस्थापन निकै कठिन हुन्छ।

इरानको ठूलो भूगोल र जनसंख्या रहेकाले अमेरिकाका लागि युद्ध निकै नै महंगो र भविष्यमा आर्थिक मन्दी समेतको खतरा रहन्छ । अमेरिकी आक्रमणमा बेलायतसहित नेटोका अन्य मुलुकहरु तथा खाडी क्षेत्रका साउदी लगायत देशहरु पनि संलग्न हुन सक्छन् । त्यस्तै, अमेरिकी आक्रमण लगत्तै इरानमा कुर्द, अरब, बलोचलगायत आत्मनिर्णयका लागि संघर्षरत समूहहरुले पनि तत्कालै विद्रोह गर्नसक्ने सम्भावना रहन्छन् । आत्मनिर्णयका लागि संघर्षरत समूहले यो युद्धको फाइदा उठाउन सक्छन् । तर पछि इराकभन्दा भयाभह गृहयुद्धमा फस्न सक्छ।

अमेरिकी आक्रमण लगत्तै इरानभित्रै एकभन्दा धेरै मोर्चामा अर्को गृहयुद्ध शुरु हुनसक्छ । यो गृहयुद्धले इरानको सत्ता पूर्णरुपमा च्यूत भएपनि लामो समयसम्म जारी रहनसक्छ । यसबाट दशौं हजार इरानी सैनिक तथा सर्वसाधारणको ज्यान जाने निश्चित छ।

अमेरिकाका लागि पनि युद्ध निकै नै महंगो पर्छ । अमेरिकी सेनातर्फ हजारौंको हताहति हुनसक्छ। युद्धको समयमा इरानको सत्ताले अमेरिकी निशानामा आक्रमण गर्न सक्दो प्रयास गर्ने निश्चित छ । इरानसँग भारी संख्यामा भूमिगत स्थानमा लामो दूरीका अत्याधुनिक क्षेप्यास्त्र रहेको बताइन्छ । जसले मध्यपूर्वका अमेरिकी सैनिक निशानामा आक्रमण गर्ने कोशिस गर्नेछ । त्यस्तै इरानले अमेरिकी आक्रमण भएमा खाडीभरका तेल खानीहरुमा आक्रमण गर्नसक्छ भने अन्य खालका आक्रमणले विश्ववजारलाई नै प्रभावित पारिदिन सक्छ। युद्ध कुनै निश्चित क्षेत्रमा मात्र सीमित हुँदैन।

इरानले अमेरिकासँग युद्ध भएमा हर्मुजको स्ट्रेट बन्द गरिदिने चेतावनी दिँदै आएको छ । पर्सियन र ओमनी खाडी नजिकैको हर्मुज स्ट्रेट भएर विश्वको कुल २० प्रतिशत तेल निर्यात हुने गरेको छ । युद्धका बेला इरानले त्यसलाई बन्द गर्ने हरसम्भव प्रयास गर्ने छ । अमेरिकाका लागि यो तेल मार्गलाई सुचारु गर्नु प्रमुख चुनौती हुनेछ । अमेरिका र इरानबीचको युद्धको केन्द्रविन्दू हर्मुजको स्ट्रेट आसपास भएको खण्डमा यसले विश्वमा तेलको मूल्य बढ्ने र त्यसले विश्वमा उर्जा असुरक्षा पैदा गर्न सक्छ।

इरानको सबैभन्दा शक्तिशाली सैन्य दस्ता रिभल्यूसनरी गार्ड कप्रर्स आईआरजीसी छापामार युद्धमा अब्बल मानिन्छ । सिरिया र इराकमा जारी युद्धका क्रममा आईआरजीसीका सैनिक अधिकारी तथा सैनिक जवानहरुले युद्धको अनुभव गरिसकेका कारण अमेरिकासँग युद्ध भएको खण्डमा यो अनुभव काम लाग्नसक्छ । आइआरजीसीले इरानसहित छिमेकी मुलुकहरु इराक, अफगानिस्तान, पाकिस्तानलगायतका मुलुकबाट लाखौं शिया स्वयं सेवक लडाकु जम्मा पारी अमेरिकाविरुद्धको युद्धलाई अघि बढाउन सक्छ।

त्यसबाहेक धर्मतन्त्रमा आधारित इरान विश्वको एकमात्र शिया मुलुक हो । अमेरिकासँगको युद्धका बेला इरानले आफ्नो प्रभावमा रहेका विश्वभरका उग्रवादी शियाहरुलाई अमेरिकी निशानामा आक्रमणका लागि प्रयोग गर्ने प्रयास गर्नेछ । त्यसबाहेक इरानले अफगानिस्तान र पाकिस्तानका शिया लडाकुलाई हतियार उपलब्ध गराएर त्यहाँ रहेका अमेरिकी सैनिक निशानामा आक्रमणका लागि प्रयोग गर्नसक्छ।

अमेरिका–इरान शत्रुताको नालीबेली

पहिलो विश्व युद्धकै बेला इरानमा तेल खानी पत्ता लागेसँगै तत्कालीन सोभियत संघ र ब्रिटेनबीच इरानको तेलमाथिको अधिकारलाई लिएर खिचातानी भएको थियो । ब्रिटेनले इरानको तेलमाथि मात्र नियन्त्रण गरेन सन् १९२१ मा त्यहाँका सेना प्रमुख रेजा खानलाई लिएर ‘कू’ मार्फत सत्ता नै बदलिदियो । उनै खानले आफैलाई सन् १९२५ मा राजा या ‘शाह’ घोषणा गरे । ब्रिटिसकै इसारामा विभिन्न नीतिहरु बनाए पनि दोस्रो विश्वयुद्धको बेला रुससँग नजिकिएको ब्रिटेनले आरोप लगाउँदै राजीनामा दिन बाध्य पार्‍यो।

आफ्नो २२ वर्षे छोरा मोहम्मद रेजालाई सत्ता बुझाए । नयाँ राजाले पहिलोपटक सन् १९५१ मा चुनाव गराए पनि ब्रिटेन विरोधी मोहम्मद मोसादेक प्रधानमन्त्री भए। उनले ब्रिटेनको नियन्त्रणमा रहेको इरानको तेल तथा ग्यास खानीहरुलाई राष्ट्रियकरण गरिदिए।

ब्रिटेनले मोसादीकको कदमलाई आफ्नो अपमान गरेको भन्दै अमेरिकाको सहायतामा मोसादीकलाई नै पदच्यूत गराउने योजना बनायो । सन् १९५२ मा अमेरिका र ब्रिटेनको संयुक्त विशेष गुप्तचरी कारबाहीमार्फत मोसादीक पदच्यूत भए। रेजा पहलवीलाई शक्तिशाली बनाउँदै लगियो।

इरानमा बिस्तारै अमेरिकी प्रभाव बढ्दै गयो। तत्कालीन शितयुद्धका बेला इरान अमेरिकाको मध्यपूर्वको महत्वपूर्ण साझेदार हुन पुग्यो । इरानमा आर्थिक उदारीकरणसँगै धार्मिक स्वतन्त्रता लगायत महिला अधिकारहरु बढाउँदै लगियो । धार्मिक कट्टरपन्थीहरुलाई पाखा लगाउँदै सरकारले जग्गा दिने तथा धार्मिक प्रचारलाई समेत नियन्त्रण गर्दै गयो।

अमेरिकासँग घनिष्ठ सम्बन्धसँगै इरानको सेना पनि आधुनिकीकरण भयो। इरान मध्यपूर्वकै अमेरिकाको विशेष हतियार र तालिम दिने देश भयो । इरानभित्रै भने राजा बिरोधी आन्दोलनहरु हुन थाले । कम्युनिस्ट, विद्यार्थी तथा कट्टरपन्थीहरुसँगै विभिन्न देशमा विभिन्न खालको प्रदर्शन चर्कंदै जाँदा राजाले १९७५ मा आफ्नोबाहेक सबै राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाइदिए।

धर्मनिरपेक्ष आन्दोलनकै बेला इरानमा कट्टरपन्थी नेता रोहोल्ला खामेनीको लोकप्रियता बढ्न थाल्यो । इरानी सत्ताले उनलाई देशनिकाला गरी इराक पठाइदियो । पछि त्यहाँ पनि उनको प्रभाव बढिरहेको भन्दै त्यहाँबाट पनि निर्वासित गराइयो । पछि उनी फ्रान्समा निर्वासित भए।

खामेनी इरानका विरोधीहरु मध्ये सबैभन्दा शक्तिशाली विपक्षीका रुपमा उदाए । पछि राजा उपचारका लागि अमेरिका गएका बेला चलिरहेको आन्दोलनमा उनी पेरिसबाट इरानको राजधानी तेहरान आइपुगे । लाखौं मानिसले उनलाई समर्थन गरे। इरानमा खमेनीको आगमनसंगै त्यहाँको राजसंस्था सदाका लागि समाप्त भयो।

इस्लामिक क्रान्तिपछिको शत्रुतापूर्ण सम्बन्ध

पश्चिमा देशहरुलाई आश्चर्यमा पार्दै सन् १९७९ जनवरी १६ मा अमेरिका समर्थक राजासंस्था समाप्त पारी इस्लामिक क्रान्ति सम्पन्न भएदेखि नै अमेरिका र इरानबीच तित्ततापूर्ण सम्बन्ध शुरु भयो।

इरान र अमेरिकाबीचको सम्बन्ध असहज हुँदै आएको छ । मध्यपूर्वमा आफ्नो महत्वपूर्ण साझेदार र विदेश नीतिको केन्द्रमा इरानले अस्थिरता फैलाइरहेको अमेरिकी बुझाई छ। अनि साउदी अरेबिया र इरानबीचको क्षेत्रीय प्रभाव बढाउने होडबाजीमा भइरहेको छद्म युद्धले सिंगो मध्यपूर्व अस्थिरतामा छ।

इरानमा सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि अमेरिकासँग इरानको औपचारिक कुटनीतिक सम्बन्ध छैन। इरानी प्रदर्शनकारीले तत्कालीन राजालाई समर्थन गरेको तथा क्रान्तिपछि पनि उनलाई फिर्ता नगरेको भन्दै अमेरिकी दूतावास तोडफोड गरी अमेरिकी कुटनीतिज्ञलाई ४४४ दिनसम्म बन्धक बनाएपछि अमेरिका र इरानबीच सम्पूर्ण सम्बन्ध भंग भएको थियो।

आफ्ना कुटनीतिज्ञमाथि अपमान गरेको प्रतिशोधमा अमेरिकाले तत्कालीन इराकी तानाशाह सद्दाम हुसेनलाई इरान आक्रमणमा हौस्याएको थियो । इराकी आक्रमणपछि इरानले राष्ट्रियताको युद्धको रुपमा युद्धका लागि मानवसागर नै उतारेपछि २०औं शताब्दीकै जापान–चीन युद्धपछिको सबैभन्दा लामो युद्ध बन्न पुगेको थियो।

सन् १९८० सेप्टेम्बर २२ मा इराकी हवाई सेनाले कुनै चेतावनी बेगर आकस्मिक रुपमा इरानमाथि हमला गर्दा ८ वर्षे भयाभह क्षतिपछि सन् १९८८ अगष्ट २० मा मात्र टुंगिएको थियो।

इरान-इराक युद्ध रोकिए पनि इरानसँगको अमेरिकी सम्बन्ध भने रोकिएन। बाराक ओवामाको पालामा भने अमेरिकाले इरानसँग तनाव घटाउन सन् २०१५ मा ‘आणविक सम्झौता’ गरेको थियो। यसमा अमेरिका, यूरोपेली संघ, ब्रिटेन, फ्रान्स, रुस, चीन र जर्मनीले इरानसँग सम्झौता गरेका थिए । सम्झौतापछि इरानको अधिकांश अन्तर्राष्ट्रिय नाकाबन्दी हटाइदिएको थियो भने अमेरिका र इरान दुबैले इस्लामिक स्टेटविरुद्ध अप्रत्यक्ष अविश्वसनीय गठबन्धन गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पको सम्झौताले अमेरिकी चाहना पूरा नगरेको भन्दै त्यसबाट बाहिरिएर थप नाकाबन्दी थाले । ट्रम्पले इरानलाई आणविकका अलावा क्षेत्रीय शान्ति, क्षेप्यास्त्र लगायत सबैमा प्याकेजमा सम्झौता गर्नुपर्ने अडान राखे पनि इरानले मानेन।

ट्रम्पले पनि आफू अनुकुलको नयाँ सम्झौता नभएपछि दबाबमूलक कार्यक्रम थाले । ट्रम्पको बुझाइमा कठोर नाकाबन्दीपछि अर्थव्यवस्थानै ध्वस्त हुने र इरान नयाँ सम्झौता आउछ भन्ने आशा थियो भने अमेरिकालाई क्षेत्रैभरी हैरान बनाएपछि आफ्नो रणनीतिक भूगोल र अबस्थाका कारण अमेरिका झुक्ने बुझाइमा रह्यो।

२०२० का लागि चुनावी मैदानमा उत्रिएका ट्रम्पका लागि इरान मुद्दाले फेरि प्राथमिकता पाएको छ। ‍ओबामाले गरेको सम्झौता तोडेका ट्रम्प जसरी पनि नयाँ सम्झौता गर्न चाहन्छन्। तनाव बढाएर भएपनि कुनै प्रकारको सम्झौता गर्न सकिने ट्रम्पको चाहनालाई पछिल्लो प्रत्यक्ष आक्रमणले तुहाइदिएको छ।

विश्वकै चौथो ठूलो तेल भण्डार र मध्यपूर्वको रणनीतिक भौगोलिक अवस्थितिको कारण इरानले बढाइरहेको सैनिक र क्षेत्रीय प्रभुत्वबाट आफ्नो स्वार्थ गुम्ने चिन्ता अमेरिकालाई छ। इरान भने अमेरिकालाई क्षेत्रबाट थकाएर पठाउन चाहन्छ।

अमेरिका र इरान एक अर्कालाई थकाउने प्रयासमा असफल भएपछि घातक प्रयासहरुमा समेत लागेका छन्। जसले दुबैलाई पछि हट्नै नसकिने प्रत्यक्ष युद्धको सम्मुख पनि धकेल्न सक्छ। यदि अमेरिका–इरानबीच साँच्चै युद्ध भएमा मध्यपूर्वमा अहिलेसम्मकै ठूलो युद्ध हुनेछ र एउटा मात्र देशमा सीमित हुनेछैन। यो युद्धको बाछिटाले इराक, सिरिया, लेबनान र अफगानिस्तानमा प्रत्यक्ष असर पर्नेछ भने यसले विश्वभर असर पुर्‍याउने छ।
विभिन्न एजेन्सीको सहयोगमा।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!