Loading... आजः शनिबार , श्रावण १२, २०८१

इलाम अस्पतालमा पूर्वीपहाडकै पहिलो भेन्टिलेटर जडान


स्वास्थ्य सेवा पूर्वाधारमा एक खुट्किलो उक्लिँदै इलाम अस्पतालमा पूर्वीपहाडमै पहिलोपटक भेन्टिलेटर जडान गरिँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई २ थान भेन्टिलेटर र २ थान फोटो थेरापी मेसिन प्रदान गरेको नागरिक अनलाइनले लेखेको छ। प्राप्त सामग्री शनिबार जिल्ला समन्वय समिति प्रमुख तथा इलाम अस्पताल प्रमुख गणेशप्रसाद बरालमार्फत् हस्तान्तरण गरियो। सामग्री बुझ्दै प्रमुख बरालले स्वास्थ्य सेवामा इलाम अस्पताल पूर्वीपहाडमै एक कदम अघि बढेको बताउनुभयो।

‘कहिले पूर्वाधार त कहिले जनशक्ति अभावले इलाम अस्पतालको सेवा सीमित थियो,’ उहाँले भन्नुभयो, ‘यहाँ रहेको भेन्टिलेटरबाट इलाममात्र नभई पाँचथर र ताप्लेजुङका बिरामीले समेत सेवा लिन पाउँछन्।’भेन्टिलेटर सञ्चालन गर्न जनशक्तिलगायत अन्य पूर्वाधार पनि आवश्यक पर्ने भएकाले केही महिनापछिदेखि मात्रै यसले सेवा दिने अस्तालले जनाएको छ। अस्पताल व्यवस्थापक क्षितिज खतिवडाका अनुसार यो उपकरण सञ्चालनका लागि एकजना एनेस्थेसिया चिकित्सक र एक तालिमप्राप्त नर्स आवश्यक पर्छ। ‘एनेस्थेसिया डाक्टरका लागि सूचना प्रकाशित भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘अस्पतालको कोठा र बेड पनि व्यवस्था गर्नुपर्ने भएकाले सेवा सुरु गर्न केही समय लाग्छ।’

इन्टेन्सिभ केयर युनिट (आइसियु) सेवा सञ्चालन भएपछि अन्य विशेषज्ञसमेत आवश्यक पर्ने खतिवडाले बताउनुभयो। ‘आइसियुमा राखेको बिरामीलाई धेरैवटा रोगको विशेषज्ञ आवश्यक हुन्छ,’ उहाँले भन्नुभयो, ‘आइसियुका लागि उपकरण सञ्चालन र बिरामीको अवस्था पहिचान गर्न विशेषज्ञ धेरै चाहिने हो।’ अहिले इलाम अस्पतालमा ९ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेपनि ३ जनामात्रै कार्यरत छन्। निकै गम्भीर अवस्थाका बिरामीलाई श्वासप्रश्वास सेवा सञ्चालन सहज बनाउन भेन्टिलेटर र नवजात शिशुको जन्डिस वा अन्य रोग उपचारका लागि फोटो थेरापी मेसिन आवश्यक पर्छ। ‘नवजात शिशुलाई विशेषगरी जन्डिस देखियो भने फोटो थेरापीले उपचार गर्न सकिन्छ,’ अस्पतालका सूचना अधिकारी कुलबहादुर देवानले भन्नुभयो, ‘यो पनि इलामका लागि अत्यावश्यक थियो।’ अस्पतालमा कोही तालिमप्राप्त स्वास्थ्यकर्मी भए यो मेसिन चाहिँ तत्कालै सञ्चालन गर्न सकिने उनले जनाए। इलाम अस्पतालमा १ नम्बर प्रदेश सरकारबाट अर्को पनि भेन्टिलेटर ल्याउन लागिएको उहाँले जनाउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!