Loading... आजः शनिबार , श्रावण १२, २०८१

उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन: नेता गुरुङ


फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाङ्फे सभामुखको उम्मेदवारनै बन्न नपाउने दाबी गर्नुभएको छ। सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता गुरुङले पछिल्लो समय मुलुकमा अनपेक्षित परिघटना भैरहेकोतर्फ सचेत गराउनुभएकाे हो।

उहाँले भन्नुभयो: ´संसद अवरुद्ध हुनु दुःखद हो। यदि संसद यही प्रकारले अवरुद्ध भैरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ।’ सदनको गत्यावरोध हटाउनको लागि र सदन सुचारु गर्नको लागि सबै दल गम्भीर हुनुपर्नेमा जोड दिनुभएकाे थियो। यद्यपि उहाँले अहिलेको संसदको गत्यावरोध पार्टीसँग सम्बन्धित नभएको जिकिर गर्दै भन्नुभयो: ‘यो गत्यावरोध संवैधानिक अंगसँग सम्बन्धित छ। त्यसैले पार्टीले मात्रै निकास दिन सक्दैनन।’

Insert your Ads code here

साक्षात्कारमा बोल्दै गुरुङले अहिले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको हो, सदनमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेदवारी दिने उहाँले बताउनुभयो।

उहाँले अगाडि भन्नुभयो:‘सबै हिसाबले सभामुख नेकपाले लिने कुरा उत्तम हो। तर, यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ।’ उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि उहाँले सुनाउनुभयो। ‘उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन। आग्रहमात्रै गर्न मिल्छ। उहाँ स्वतन्त्र हुनुहुन्छ। पार्टीको कुनै ह्वीप जारी गर्न मिल्दैन। मार्गप्रशस्त गर्न त उहाँले आफ्नो स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्नसक्नुहुन्छ।’–गुरुङकाे भनाइ थियो।

संसदको डेडलक फुकाउनको लागि संसदको नियामावली फ्लो गर्नुपर्ने उहाँको धारणा छ। संविधानले सभामुख नरहने परिकल्पना नगरेको पनि उहाँले सुनाउनु भयो। उहाँले भन्नुभयो: ‘संविधानले कायममुकायमको पनि व्यवस्था गरेको छैन।’ उपसभामुखले अन्तरवस्तु आकर्षण गर्नेगरि बैठक बोलाउन नसक्ने उहाँको तर्क छ।

उहाँले उपसभामुखलाई सभामुख बनाउने व्यवस्था नरहेको स्पष्ट पार्नुभयाे। उहाँले भन्नुभयो:‘उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेद्धवारी दिन मिल्दैन। यदि उम्मेदवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्छ।’ उहाँले अहिले महिला वा पुरुषलाई सभामुख बनाउने भन्ने बहस नभएको सुनाउँदै घट्नाक्रमले संकट आईपर्नसक्ने पनि बताउनुभयो।

अहिलेको संसदको गत्यावरोध खुलाउनको लागि दुईवटा विकल्प रहेको सुनाउँदै गुरुङले भन्नुभयो: ‘कि त सर्वोच्च अदालतको फैसला तुरुन्त आउनुपर्यो, या त उपसभामुखले मार्गप्रशस्त गर्नुपर्छ। पार्टीको आग्रह पनि उहाँलाई मार्गप्रशस्त गर्न रहेको छ।’ संवैधानिक रुपमै सभामुखमा उम्मेदवारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्धवार तय नगरेको उहाँको तर्क छ। ढिलो वा चाँडो उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनेमा आफू विश्वस्त रहेको पनि गुरुङको भनाइ छ।

उहाँले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिष्ट पार्टीमा त झनै त्यो कुरा स्वीकार्य नहुने तर्क गर्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!