Loading... आजः शनिबार , माघ ५, २०८१

एकै दिन ४२ अर्ब राजस्व


नेपाल सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मङ्गलबार मात्रै ४२ अर्ब ४६ करोड रुपियाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

राजस्व सङ्कलन लक्ष्य पूरा गर्ने दबाबमा रहेको सरकारले सो दिन विभिन्न कर शीर्षकमा २५ अर्ब ५५ करोड, गैरकर शीर्षकमा १६ अर्ब ९० करोड र अन्य प्राप्तिमा दुई अर्ब ३० करोड रुपियाँ सङ्कलन गरेको हो। कार्यालयका अनुसार पुस मसान्तसम्म चार खर्ब ३३ अर्ब १५ करोड रुपियाँ सङ्कलन गरिएको छ। यो कुल राजस्व लक्ष्यको ३८.९५ प्रतिशत हो।

सरकारले पुस मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन निकै प्रयत्न गरे पनि पहिलो छ महिनासम्मको राजस्व लक्ष्य भने भेट्न सकिएको छैन। पुससम्म पाँच खर्ब ३७ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि समीक्षा अवधिसम्म एक खर्ब चार अर्ब न्यून राजस्व सङ्कलन भएको हो। अघिल्लो आवको पुससम्म सरकार पाँच खर्ब २० अर्ब रुपियाँ सङ्कलन गर्न सफल भएको थियो।

Insert your Ads code here

चालू आवको अर्धवार्षिक अवधिसम्म सरकारको खर्च लक्ष्यअनुसार भएको देखिँदैन। कार्यालयको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म कुल बजेटको २५.८१ प्रतिशत मात्र खर्च भएको छ। चालू आवमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट घोषणा गरिए पनि अहिलेसम्म चालूतर्फ तीन खर्ब नौ अर्ब ५८ करोड रुपियाँ मात्र खर्च भएको छ। यो चालू आवका लागि विनियोजित कुल चालू खर्चको ३२.३५ प्रतिशत मात्र हो। पुँजी सिर्जना गर्ने विकास खर्च निकै कमजोर रहेको छ। अहिलेसम्म ५८ अर्ब ३९ करोड रुपियाँ मात्र विकास खर्च भएको तथ्याङ्क छ। यो लक्ष्यको जम्मा १३.७२ प्रतिशत मात्र हो। वित्तीयतर्फ लक्ष्यको १६.५० प्रतिशत अर्थात् २७ अर्ब ६९ करोड रुपियाँ मात्र खर्च भएको छ। यो अवधिसम्म पाँच अर्ब २१ करोड सीधै भुक्तानी भएको देखिन्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!