Loading... आजः शनिबार , श्रावण १२, २०८१

एक वर्षभित्र तामाखानी सञ्चालनमा आउने


पुर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक प्रविधिको प्रयोग गरी बागलुङको तित्याङमा तामा उत्खननका लागि अध्ययनको काम तीव्र गतिमा चलिरहेको छ। हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भइरहेको छ। स्थानीय बूढापाकाका अनुसार तित्याङको खानीगाउँमा झण्डै दुई सय वर्षपहिले तामाखानी सञ्चालनमा थियो।

चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले चार महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको छ । चार महिनापहिले खानी विज्ञहरुको समूहले सम्भावना औँल्याएपछि मेशिन नै प्रयोग गरेर परीक्षणको काम धमाधम चलिरहेको छ। ‘यहाँ तामा ९० प्रतिशत छ भन्नेमा हामी पुग्यौं, के कति छ भन्ने निक्र्यौल गर्न मात्रै बाँकी हो’, शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले भन्नुभयो, ‘तामासँगै हुने धातुहरुको अध्ययन पनि भइरहेको छ ।’

तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा २२ मिटर लामो र बाह्रमुरेमा ३२ मिटर लामो सुरुङ तयार भइसकेको छ । सुरुङमार्फत जमीनको भित्री भागको ढुङ्गामाटो सङ्कलन गरी ल्याबमा परीक्षण गर्ने काम भइरहेको अधिकारीले बताउनुभयो। खानी विभागले खटाएका भूगर्भशास्त्री, इन्जिनीयर, चीनबाट आएका अध्ययनकर्ता लगायतले यहाँको अवस्थाबारे अध्ययन गरिरहेका छन्। तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको अनलाइनखबरमा समाचार छ।

Insert your Ads code here

अधिकारीका अनुसार कुनै अवरोधको सामना गर्नु नपरे आगामी एक वर्षभित्रै तित्याङमा खानी सञ्चालनमा आउनेछ। पहिलो चरणको परीक्षणमा मात्रै झण्डै चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जनाएको छ। स्थानीय सरोकारवाला, स्थानीय, प्रदेश र केन्द्र सरकारले समेत खानी सञ्चालनमा चासो देखाएकाले सबैसँगको सहकार्यमा खानी सञ्चालनमा आउनेछ।

पुराना खानी र त्यहाँ देखिने धाउको सङ्केतका आधारमा बागलुङ नगरपालिकाले यहाँ खानी सञ्चालनको पहल थालेको थियो । पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झण्डै दुई वर्षपछि यहाँ अध्ययनको काम थालनी भएको छ। खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउनेछ । खानी विभाग, उद्योग मन्त्रालयले प्रतिवेदनका आधारमा स्थलगत अध्ययन गरेपछि मात्रै उत्खननको अनुमति पाउनेछ।

परीक्षण भइरहेका दुई खानीमा अहिले १६ स्थानीय कामदार, चार कम्पनीका प्रतिनिधि, पाँच चिनियाँ प्राविधिक र पाँचजना इन्जिनीयर लगायतले काम गरिरहेका छन् । नेपाली सेना र नेपाल प्रहरीले अध्ययनस्थलमा सुरक्षाका लागि पहरा दिइरहेका छन् भने अध्ययन क्षेत्रका स्थानीयवासीले सरोकार समिति बनाएर समन्वय गर्दै आएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!