Loading... आजः शनिबार , श्रावण १२, २०८१

एमसीसी खारेज अभियान नेपालले अमेरिकी दूतावासमा बुझायो ज्ञापनपत्र


मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै ‘एमसीसी खारेज अभियान नेपाल’ले नेपालस्थित अमेरिकी दूतावासमा ज्ञापनपत्र बुझाएको छ। अभियानका मुख्य संयोजक नारायण प्रसाद शर्माको नेतृत्वमा गएको टोलीले बिहीबार दूतावासका एक अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित बिपरित रहेको भन्दै खारेजीको माग गरिएको छ। नेपाल र अमेरिकाबीच बिगत लामो समयदेखि मैत्रीपूर्ण एवम् सुमधुर दौत्य सम्बन्ध रहँदै आएको स्मरण गराउंदै ज्ञापनपत्रमा आर्थिक सहयोगका नाममा प्रस्ताव गरिएको एमसीसी सम्झौताले अनेक शंका र प्रश्न उब्ज्याएको भन्दै चिन्तासमेत व्यक्त गरिएको छ।

एमसीसी सम्झौता इण्डो प्यासेफिक रणनीतिको मातहत संचालित हुने राजनीतिक तथा सामरिक महत्वको परियोजना भएकाले यसलाई आर्थिक सहयोगका रुपमा मात्र लिन नसकिने ज्ञापनपत्रमा उल्लेख छ। मुख्य संयोजक शर्माद्वारा हस्ताक्षेरित ज्ञापनपत्रमा भनिएको छ, ‘यस सहयोगले नेपालको शैक्षिक, स्वास्थ्य, गरिबीनिवारण, सामाजिक उत्थान जस्ता कुरामा खासै सरोकार राख्दैन। हामीले बुझेसम्म सिधा उल्लेख नभए पनि यो इण्डो प्यासेफिक रणनीतिको मातहत संचालित हुने एक राजनीतिक एवम् सामरिक महत्वको परियोजना हो।’

Insert your Ads code here

सम्झौताका सम्बन्धमा अमेरिकी अधिकारीहरुको विवादास्पद अभिव्यक्तिले झन् शंका बढाएको भन्दै ज्ञापनपत्रमा नेपालीको चाहना भन्दा पनि अमेरिकी योजना र चाहानाअनुसार लागू गर्न खोजिएको प्रष्ट देखिएको उल्लेख गरिएको छ। सम्झौता लागू गरिए आगामी दिनमा नेपाल र अमेरिकाबीच रहेको सौहार्दपूर्ण सम्बन्धलाई नकारात्मक, विवादित र धमिलो पार्नसक्ने तर्फ सचेत हुन् आग्रह गर्दै खारेजीको माग गरिएको छ।

ज्ञापनपत्रको अन्त्यमा भनिएको छ, ‘इण्डो प्यासेफिक रणनीति निहित सैनिक साझेदारीको आसयसहित आएको यस योजनालाई विरोध र अस्विकार गर्दै यसको खारेजीको माग गर्दछौं।’

ज्ञापनपत्र बुझाउँदै मुख्य संयोजक शर्माले नेपालको सार्वभौमसत्ता, अखण्डता, सुरक्षा, संवैधानिक सर्वोच्चता र स्वतन्त्रालाई कमजोर बनाउने गरि एमसीसी सम्झौता गरिएकाले त्यसको खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए। उनले ज्ञापनपत्रमार्फत एमसीसी सम्झौताप्रति नेपाली जनतामा रहेको असन्तुष्टिको दूतावासलाई औपचारिक जानकारी गराइएको पनि बताए।

अभियानले भोलि शुक्रबार एमसीसी सम्झौताप्रति असन्तुष्ट बिभिन्न व्यक्ति तथा समूहहरुसंग मिलेर बिरोध प्रदर्शन गर्न लागेको शर्माले बताए। त्यसैगरी शनिबार दिउँसो एक बजे माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गर्न लागिएको उनले जानकारी दिए।

एमसीसी सम्झौता खारेजीको मागसहित बिभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको खारेज अभियानले यसअघि पनि विज्ञहरुसहितको बृहद अन्तरक्रिया गरेको थियो। अभियानले सम्झौता खारेज नहुँदासम्म निरन्तर दबाबमूलक कार्यक्रम गर्ने बताएको जनदिशा डटकमले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!