Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसकेएम पार्टीले आज प्रतिवाद दिवस होइन, तर कार्यवाही दिवस मनाउनु पर्ने थियोः एसएसीएए


गान्तोक, 11 फरवरी । भारतको हिमाली राज्य सिक्किमको सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले 11 फरवरी, 2013 को दिन भएको लाठीचार्ज घटनाका पीड़ित कार्यकर्ताहरूलाई न्याय दिनु नसकेको आरोप सिक्किम अगेन्स्ट सीएएले लगाएको छ। एसकेएम पार्टीले आज पालन गरेको प्रतिवाद दिवसबारे प्रतिक्रिया गर्दै सिक्किम अगेन्स्ट सीएएले यस्तो आरोप लगाएको हो। राजधानीमा मंगलबार आयोजित एक संवाददाता सम्मेलनमा सिक्किम अगेन्स्ट सीएएका प्रतिनिधिहरूले एसकेएममाथि प्रतिवाद दिवस पालन गरेर जनतालाई दिग्भ्रमित गरिरहेको आरोप पनि लगाएको छ। एसकेएम पार्टीले आज प्रतिवाद दिवस होइन, तर कार्यवाही दिवस मनाउनु पर्ने थियो भन्ने उनीहरूको भनाइ रहेको छ।
सिक्किम अगेन्स्ट सीएएका प्रतिनिधि नवीन किरण प्रधानले भने, ‘सिक्किमको इतिहासमा 11 फरवरी, 2013 लाई कालो दिवस मानिन्छ, कारण त्यस दिन अक्षय सचदेवको अगुवाईमा एसकेएम पार्टीको कार्यालयमा बर्बतरपूर्वक लाठीचार्ज भएको थियो। सम्पूर्ण सिक्किमे जनताले उक्त घटनाको विरोध जनाएको थियो। पुलिसद्वारा फेरि यस्तो कार्यवाही नगरियोस भन्ने हाम्रो चाहना हो।’ उनले अझ भने, ‘एसकेएमले आज कालो दिवस होइन, तर कार्यवाही दिवस भनेर मनाउनुपर्ने थियो। तर, एसकेएम पार्टीले अझै पनि विपक्षी सरह काम गरिरहेको छ।’ उनले लाठीचार्जको घटनालाई लिएर सुप्रीम कोर्टमा मुद्दा हालिएको र लामो समयसम्म मुद्दा चलेपछि सुप्रीम कोर्टले अक्षय सचदेव विरूद्ध कार्यवाहीको जिम्मेवारी राज्य सरकारलाई नै सुम्पिएको अवगत गराए। सम्भवत: याचिकाकर्ताहरूले यो मुद्दालाई अब अगाड़ी नबढ़ाउने मनसाय व्यक्त गरेपछि सुप्रीम कोर्टले यो मुद्दालाई खारेज गरेको उनले दाबी गरे। एकातिर, एसकेएमले प्रतिवाद दिवस मनाइरहेको छ भने अर्कोतिर, अक्षय सचदेव विरूद्ध कार्यवाही गर्नुको साटो मुद्दा नै खारेज गरेर जनतालाई दिग्भ्रमित गरिरहेको प्रधानले आरोप लगाए।
यसैगरी, अर्का प्रतिनिधि भरत बस्नेतले एसकेएम सरकारमाथि आफ्नो पार्टीका कार्यकर्ताहरूलाई न्याय दिनु नसकेको आरोप लगाए। उनले राज्यका जनतालाई धोका दिने काम भइरहेको छ भन्दै सुप्रीम कोर्टमा याचिकार्ताहरूले के हलफनामा बुझाएका छन्, त्यो पनि चॉंड़ै खुलासा गर्ने उनले बताए।
उल्लेखनीय छ, 11 फरवरी, 2013 को दिन एसकेएमको तादोङस्थित पार्टी कार्यालयमा लाठीचार्ज भएको थियो। सोही दिन एसकेएमको पार्टी कार्यालय उद्घाटन भएको थियो। एसकेएम कार्यकर्ताहरूमाथि तत्कालीन मुख्यमन्त्री पवन चामलिङको कथित वाहनमा बोतल प्रहार गरेको आरोप लागेको थियो। लाठीचार्ज पुलिस अधिकारी अक्षय सचदेवको अगुवाइमा भएको थियो। लाठीचार्ज घटनाको विरोधमा एसकेएम पार्टीले प्रत्येक वर्ष 11 फरवरीलाई प्रतिवाद दिवसको रूपमा मनाउॅंदै आइरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!