Loading... आजः शनिबार , माघ ५, २०८१

एसकेएम सरकारको कम्जोर इच्छाशक्तिले गर्दा भाइरल ल्याबमा अहिलेसम्म जाँच भएन- एमके सुब्बा


गान्तोक, 30 मई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले भारतको 641 वटा भाइरोलोजी टेष्टिङ ल्याब शुरु भइसक्दा पनि सिक्किम सरकारले भने परमाणु परिक्षण गरेको जस्तो तथा चन्द्रयानको अभियान जस्तो गर्नै नसक्ने काम जस्तो गरिरहेको कारण अहिलेसम्म ल्याबमा जाँच शुरु भएकै छैन भन्ने कडा आरोप लगाएको छ। एसडीएफ मुख्य प्रवक्ता एमके सुब्बाले एसडीएफ मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, आईसीएमआरले दिएको सातवटा मानदण्डमा मुश्किलले चारवटा मानदण्डमात्र पूरा गरेको हुनाले अहिलेसम्म जाँच शुरु भएको छैन। 21 तारिक नरिवल फूटाएर रिवन काटेको प्रयोगशालामा आरटीपीसीआरको निम्ति चाहिने किट्सहरू अहिलेसम्म नमगाएर सिक्किम सरकारले तयारी नै नगरेको बताए। यसरी नै अहिलेसम्म पर्याप्तरूपमा तक्नीकी र चिकित्साबारे जानकारहरूको व्यवस्था गर्न सरकार चुकिरहेको बताए। उनले अहिलेसम्म नौ सय भन्दा अधिक नमुना जाँचको निम्ति अड्किएर बसेको कुरा सानो कुरा नभएको भन्दै यसलाई लिएर सरकार अझैपनि राजनीति गर्न नै व्यस्त रहेको आरोप लगाए। उनले सरकार कोरोनाको महामारी सित लड्न अझैसम्म पनि आपदा प्रबन्धन कोष गठन गर्न चुकेर केवल मुख्यमन्त्री रहात कोष बटुल्नमै व्यस्त रहेको आरोप लगाए। देशले लकडाउन शुरु गर्न अघि प्रधानमन्त्रीले 11 वटा सशक्तिकरण समुह गठन गरेर काम शुरु गरेको तर अहिलेसम्म सिक्किमले भने एक्सपर्टस मेडिकल एडवाइजरी कमिटी गठन गर्न नसकेको आरोप लगाए। उनले अहिलेसम्म जाँच शुरु गर्न नसकेको विषय समेटेर महामारीको सम्पूर्ण दस्तावेज सहित सरकारले एसडीएफ पार्टीको मागलाई नै आरटीआई सम्झेर जनता अघि सबैकुरा सार्वजनिक गर्नुपर्ने माग राखे।
देशमा 113वटा शोध संस्थानहरू बनिसकेको अनि कोरनाको खोप बनाउने अनुसन्धान गरिरहेको अवस्थामा सिक्किममै भएको ग्लेनमार्क कम्पनीले अहिले कोरोनाको निम्ति प्रयोग हुने फेबिपिबार दबाई बनाइरहेको तर सरकारले अहिलेसम्म उक्त कम्पनीसित कुनै सम्पर्क नगरेको आरोप लगाउँदै तुरन्तै कम्पनीसित सम्पर्क गरेर भविष्यमा विश्वभरी यसको माग हुनसक्ने औषधी सिक्किमको निम्ति सुरक्षित गर्न सक्नुपर्ने बताए।
उल्लेखनीय छ, दुई दिन अघि सिलगढ़ीको नर्थ बङ्गाल मेडिकल कलेजले सिक्किमको कोविड 19 सेम्पललाई टेस्टको निम्ति अस्वीकार गर्दै फर्काइदिएको छ। राज्य सरकारको इच्छाशक्तिको कमीको कारण यसरी राज्यमा कोविड 19 टेस्टिङ शुरु हुनमा ढिलाई भइरहेको पार्टीका प्रवक्ता एमके सुब्बाले बताए। आफूले एसडीएफ पार्टीको तर्फबाट पटक पटक सरकारलाई सुझाउहरू दिँदै आएको तर सरकारले त्यसलाई कार्यान्वयन नगरेर राजनीतिकरणको आरोप लगाउँदै आएको उनले बताए।
‘नर्थ बङ्गाल मेडिकल कलेजले सिक्किमको कोविड 19 सेम्पल फर्काएको छ। ठिकै हो। नर्थ बेङ्गाल मेडिकल कलेजले आठवटा जिल्लाका करिब डेड़ करोड़ जनसङ्ख्यालाई सेवा पुर्याइरहेको छ। यसैले त्यहाँ ब्याकलग भइरहेको छ। तर, सिक्किमतिर फर्केर हेर्नु हो भने यहाँ काम बेसी भएर होइन तर काम नगरेकोले ब्याकलग भएको छ’, उनले भने। 23 र 24 मार्चमा बसेको राज्य विधानसभामा मुख्यमन्त्री पीएस गोलेले सिक्किम राज्य कोरोना भाइरससित सड़न पूर्णरुपले सक्षम रहेको बताएको तथा 21 मईमा न्यू एसटीएनएम अस्पतालमा भाइरल टेस्टिङ ल्याबको उद्घाटन पनि गरिएको तर अभाग्यवश आजसम्म ल्याब शुरु नभएको उनले बताए। तर, सरकारले भने राजनीतिक बयानबाजीमा नै व्यस्त रहेको पनि उनले थप बताए। विधिवत रुपमा उद्घाटन गरिएको 10 दिनपछि पनि ल्याबमा टेस्टिङ नहुनु दुर्भाग्यजनक रहेको सुब्बाको भनाइ रहेको छ।
सुब्बाले यसरी राज्यमा कोविड 19 टेस्टिङ ल्याब शुरु गर्नमा किन ढिलो भयो भन्ने बारेमा स्वेतपत्र जारी गर्नुपर्ने माग पनि गरेका छन्। यसको साथै उनले कोरोना भाइरसको यस वैश्विक महामारीको समय सिक्किम राज्यलाई सक्षम बनाउन एक्सपर्ट मेडिकल एडभाइजरी कमिटी गठन गर्ने पनि उनले सुझाउ पनि दिएका छ। अर्कोतिर राज्यको प्रशासनमा कुनै तालमेल नरहेको अनि जाबो पाँच सात हजार सिक्किमे ल्याउन सरकारलाई साह्रो परिरहेको तर इच्छाशक्ति छ भने कलाकार सोनू सूध एकलैले 12 हजार प्रवासी मजदूरहरूलाई फोनमार्फत घर पठाउन सकेका छन्। तर सिक्किममा जिल्लापाल र स्वास्थ्य सचिवले दिएको आँकडा समेतमा जनता अन्योलमा छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!