Loading... आजः शनिबार , श्रावण १२, २०८१

एसकेएम सरकार राष्ट्रिय दलाल पूँजीवादको चङ्गुलमा फसिसकेको छ, जनताको एकै कौड़ीको काम गर्नसक्दैनःकेबी राई


गान्तोक, 18 अगस्त। सिक्किममा कोरोना भाइरसको महामारी भित्र्याउनुमा सिक्किम सरकार नै जिम्मावार रहेको कुरा अब रहस्य नरहेको गम्भीर आरोप विपक्षी दल सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले लगाएको छ। एसआरपी संयोजक केबी राईले आफ्नो मन्तव्य जारी गर्दै भनेका छन्, विगतमा भएको मल्ली चेकपोस्ट काण्ड, रम्फू चेकपोस्टबाट ग्रेफका कर्मचारीलाई स्वास्थ्य परीक्षणबिना भित्र हुलेको प्रसङ्ग हुँदै हालै सिक्किम बाहिरबाट आएका चारजना आई.टी.सेक्टरका तक्निशियनहरू कोभिड 19 पोजिटिभ भेटिएबाट सरकारको लापरवाही स्वतः पुष्टि भएको छ।

उनले भनेका छन्, आई. टी. तक्निशियनहरू रम्फू चेकपोस्टबाट सिक्किम प्रवेश गरी गत 12 अगस्त 2020 को दिन एउटा उच्चस्तरीय सभा पनि सम्पन्न गरिसकेका छन्। पछिबाट उनीहरूको स्वास्थ्य जाँच गर्दा कोरोना पोजिटिभ पाइएको खबर सञ्चार माध्यमद्वारा सार्वजनिक भइसकेको छ। पटक-पटक एक जिम्मावार विपक्षीको हैसियतमा सरकारलाई रचनात्मक सुझाउ र सल्लाह दिँदा पनि बारम्बार त्यस्तै घटनाहरू दोहोरिने गरेकाले सिक्किमे जनताको स्वास्थ्य सुविधासित सरकारको गहिरो लगाव छैन भन्ने कुरामाथि उल्लिखित घटनाहरूले स्पष्ट पारेका छन् भनि दाबी गरेका छन्। उनले आफ्नो बयानमा भनेका छन्, जनस्वास्थ्य जस्तो गम्भीर विषयमा पनि सरकारको यस किसिमको लापरवाही अघि आइरहँदा अब सिक्किममा सरकार छ र? भन्ने प्रश्न खड़ा भएको छ। यदि सरकार छ भने पनि त्यो ठूला नोकरशाहहरूको कठपुतली सरकार छ भन्ने कुरा प्रमाणित भएको छ, जसले नोकरशाही तन्त्रलाई नियन्त्रणमा राख्न सकेको छैन र राख्न सक्दैन पनि। सचेत जनताको निम्ति यो एउटा प्रजातान्त्रिक घाटा हो भनि संयोजक राईले ठोकुवा गरेका छन्।

उऩले एसकेएम सरकारले नयाँ सल्लाहकार र अध्यक्षहरू नियुक्तिबारे पनि कठोर शब्दमा प्रतिक्रिया गर्दै भनेका छन्, हिजो-अस्ति सत्तारूढ़ पार्टीले मितव्ययिता अप्नाएको, विगतको सरकारले चलाएको भीआईपी कल्चर समाप्त गरेर अनावश्यक एडभाइजर र चेयरम्यान आदिको नियुक्ति नगरी त्यसबाट सङ्कलन भएको धनराशिबाट 1600 जना बेरोजगारलाई नोकरीमा लाएको पपुलिष्ट घोषणा पत्रकार सम्मेलन राखेर सार्वजनिक गरेको थियो, त्यस महत् घटनाको 10 दिन बित्न नपाई 50 जनाभन्दा बढ़ी एडभाइजर र चेयरम्यानहरू नियुक्त गरेको घटनाले यो सरकारको कथनी र करनीको पोल खोलिएको छ। हामी किटेर भन्छौं, यस्ता दुइजिब्रे सरकारबाट जनताको सुरक्षा हुन्छ भन्नु ब्वाँसोको बथानबाट बाख्राको सुरक्षा हुन्छ भन्नु बराबर हो। त्यसैले हामी भन्छौं- एसकेएम सरकार जनताको अपेक्षाको सरकार नभएर एसडीएफ सरकारकै दोस्रो संस्करण हो ।

Insert your Ads code here

संयोजक राईले भनेका छन्, एसकेएम सरकार राष्ट्रिय दलाल पूँजीवादको चङ्गुलमा फसिसकेको छ र यसले सिक्किमे जनताको चाहनाअनुसार एकै कौड़ीको काम गर्नसक्दैन भन्ने कुरा उसको एक-डेढ़ वर्षको शासनले प्रमाणित गरिसकेको छ। वर्तमान सरकार सिक्किम भित्रिएका बहुराष्ट्रीय औषधि कम्पनी, पन-जल परियोजनाका कम्पनीहरूको पनि दास बनिसकेको छ। ती कम्पनीहरूमा कार्यरत सिक्किमेली कामदारहरूको पक्षमा अब यो सरकार चुँ-सम्म गर्न नसक्ने हुनाले कम्पनीको पेलनामा परेका सिक्किमे कामदारहरूले सरकारबाट आशा मार्न हामी आग्रह गर्दछौं। ती कामदारहरूको पसिनासित सरकारले सम्झौता गरिसकेको छ भनि एसआरपीले गम्भीर आरोप लगाएको छ। यसैगरि एसआरपीका प्रचार सचिव धिरज राईले जारी गरेको प्रेस विज्ञप्तिमा मल्ली र गेजिङमा घटेका मानवताविरोधी महिला हिंसाका घटनाहरूको पार्टी घोर विरोध गर्दछ र प्रशासनसमक्ष पीड़ितलाई न्याय र दोषीलाई कार्वाहीको अपेक्षा गर्दछ भनि पार्टीको अडान अघि सारिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!