Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

एसडीएफको फेरि सरकार आउनु भनेको चिहानबाट पुर्खा उठेर आउनुजस्तै होः मुख्यमन्त्री तामाङ


गेजिङ, 4 जनवरी । सिक्किमका मुख्यमन्त्री पीएस तामाङले विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको फेरि सरकार आउँछ भन्नु चिहानमा राखिएका पुर्खाहरु उठेर आउनुजस्तै हो भनी दाबी गरेका छन्। गत 1 जनवरीको दिन एसडीएफका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले पत्रकारहरूसित कुराकानी गर्दै एसडीएफलाई जनताले चिनेको अनि फेरि सत्तामा आउने निश्चित रहेको दाबी गरेका थिए।

मुख्यमन्त्री तामाङले त्यस्तको अप्रत्यक्ष प्रत्युत्तरमा यो मन्तव्य व्यक्त गरेका छन् भने उनले पश्चिम सिक्किमको रिञ्चेबुङ निर्वाचन क्षेत्रमा सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी हारेर पनि सरकारमा पुगेकोछ अनि यस क्षेत्रमा धेरै विकास गर्ने प्रतिवद्धता व्यक्त गरे। रिन्चेबुङ निर्वाचन क्षेत्रअन्तर्गत श्रीबदाममा आयोजित कार्यक्रमको पहिलो रेनबो ट्राउट महोत्सवको समापन समारोहमा मुख्यमन्त्रीले भने “मेरो राजनीतिक यात्रा यसै रिञ्चेबुङ निर्वाचन क्षेत्रबाट शुरु भए पनि पश्चिम सिक्किमको यसै क्षेत्रबाट हामी हारेका छौँ तर यस क्षेत्रमा हामी ध्यान दिएर काम गर्नेछौं।” उनले सिक्किमको ट्राउड माछा पालनमा श्रीबदामले विश्व बजारमा आफ्नो स्थान राखेकोमा हर्ष व्यक्त गरे। रिञ्चेबुङ क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न सरकार लागिपरेको उनको भनाइ थियो। मुख्यमन्त्री तामङले पूर्व सरकारले गरीब भनेर भाषण गर्थ्यो तर हामी गरीब भनेर भाषण मात्र नगरेर काम गरेर देखाउनेछौं भनि दाबी गरे। यसै रिञ्चोबुङ क्षेत्रको श्रीबदाममा सञ्चालन भएको रेन्बो ट्राउड ग्रोवर्स सोसाइटीलाई मुख्यमन्त्री कोशबाट 5 लाख रूपियाँ प्रदान गर्ने घोषणा पनि गरे। श्रीबदाममा लाफिङ बुद्धको मुर्ति निर्माण गर्ने मागलाई पनि मुख्यमन्त्रीले स्वीकार गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा बागवाणी मन्त्री लोकनाथ नेपालले सिक्किममा कृषि व्यवसाय र पशुपालनको विषयलाई अघि बढाएर ग्रामीण स्तरका कृषकहरुलाई प्रोत्साहन गर्ने बताए। यस अघि कार्यक्रम आयोजक समितिका प्रमुख संरक्षक तथा क्षेत्रका प्रभारी फुर्वा छिरिङ भोटियाले आफ्नो स्वागत सम्बोधनमा क्षेत्रका विभिन्न माग राखेका थिए। माछा पालन निर्देशक सुनिल प्रधानले ट्राउट फार्मिंग र यसका फाइदाहरूको बारेमा जानकारी दिँदै क्षेत्रमा अनुकुल मौसम र किसानहरूको प्रयासका कारण श्रीबदाममा ट्राउट फार्मिंग विकास भइरहेको बताए।

मुख्यमन्त्रीले महोत्सवमा लगाइएका विभिन्न स्टलहरूको अवलोकन गर्दै जिप लाइनिङ, बर्मा बृज, प्याराग्लाइडिङलगायत अन्य पर्यटनसम्बन्धि स्टलहरूको अवलोकन गरेका थिए।कार्यक्रममा मुख्यमन्त्रीले क्षेत्रका लगनशील कृषकहरूलाई टोकन वितरण गरे। कार्यक्रममा खुल्ला भलिवल प्रतियोगितासहित लोक सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!