गान्तोक, 22 जनवरी। मुख्यमन्त्री पीएस गोलेको ओएसडीको रूपमा सुनिल सरौगीलाई नयाँ दिल्लीमा नियुक्त गरेपछि राज्यमा सिर्जना भएको विवादमाथि प्रमुख विपक्षी एसडीएफले पनि प्रतिक्रिया व्यक्त गरेको छ। एसडीएफको पक्षमा पार्टीका प्रशासनिक मामिलाका उपाध्यक्ष केटी ग्याल्छेनले भने, ‘एसडीएफ सरकार कार्यकालमा पनि यस्तो ओएसडीको नियुक्ति भएको हो। यसलाई हामी स्विकार गर्छौं। अनिता गुप्तालाई एसडीएफ सरकारले क्यापेसिटी विल्डिङको ओएसडीको रूपमा नियुक्ति गरेको थियो तर त्यस समय अहिले सत्तामा रहेको एसकेएम पार्टीले नियुक्तिको विरोधमा विरोध प्रदर्शन सँगै धरना पनि गरेको थियो। अहिले आएर एसकेएमले यसको विरोध गर्नु सुहाउँदैन। यदी हामी त्यस समय गलत थियौं भने अहिले आएर एसकेएम पार्टीको सरकार कसरी सही हुनसक्छ। हाम्रो सरकारमा भएको नियुक्ति गलत हो भने अहिलेको नियुक्ति पनि गलत हो।’ उनले अझ भने, अनिता गुप्ता त सम्बन्धित विषयमा जानकार थिइन्। अनि उनलाई सिक्किममै नियुक्ति गरिएको थियो। तर अहिले नियुक्त गरिएको ओएसडी के विषयका जानकार हुन उनको सिक्किम तथा सिक्किमेसँग के सम्बन्ध छ यो सार्वजनिक हुनुपर्छ। दिल्लीमा उनको नियुक्ति गरिएको हो भने दिल्लीका रेसिडेन्सिय कमिस्नरको के काम रह्यो। रेसिडेन्सियल कमिस्नर त एकजना विद्वान व्यक्ति हुने गर्दछ जो आईएएस लेवलको हुने गर्दछ अनि दिल्लीमा राज्य सरकारले गर्नुपर्ने काम रेसिडेन्सियल कमिश्नरको बाट हुने गर्छ। ग्याल्छेनले ओएसडीको नियुक्तिमाथि प्रतिक्रिया व्यक्त गर्दै अझ भने, राजनीतिक मुद्दाहरूको समाधानको निम्ति यदि ओएसडीको नियुक्ति गरिएको हो भने राज्यका शिक्षित, होनहार लोकसभा सांसद इन्द्रहाङ सुब्बाको के काम रह्यो?