गत शुक्रबार कतारबाट फर्किएका १४९ जनालाई त्रिभुवन विमानस्थलबाट सिधै चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा पुर्याइएको छ। कतारबाट १ बालिका, ६ महिला सहित १४९ नेपाली कामदार शुक्रबार कतार एयरवेयजमार्फत त्रिभुवन विमानस्थल आइपुगेका कान्तिपुर अनलाइनले लेखेको छ।
एउटै विमानमा आएकामध्ये केहीलाई कोरोना भाइरस (कोभिड–१९) शंकास्पद देखिएको र उनीहरुलाई ‘होल्डिङ सेन्टर’ नलगी सिधै क्वारेन्टाइन पुर्याएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो। उनीहरुलाई त्रिभुवन विमानस्थलबाट नेपाली सेना, नेपाल प्रहरीको स्कर्टिङमा नेपाली सेनाका ९ वटा बसबाट क्वारेन्टाइन पुर्याइएको हो। क्वारेन्टाइनमा राखिएकाहरुलाई नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ। क्वारेन्टाइनमा राखिएकाहरुलाई खाने, बस्नेको व्यवस्था गर्ने, व्यक्तिगत रेकर्ड राख्नेलगायत कार्य गर्दै आएको छ।