करूणा र शान्तिको राज्यको नाम राष्ट्रियस्तरमा बदनाम हुन अघि सुस्मिताको परिवारलाई सिक्किम ल्याउनु पर्छ: पासाङ शेर्पा
गान्तोक, 05 जून । सिक्किम फर्किआउने क्रममा राउते साजोङको एक परिवारलाई रम्फू प्रवेशद्वारबाट छिर्न नदिएपछि सरकार र प्रशासनमाथि चौतर्फी आलोचना हुन थालेको छ। यसै क्रममा राजनीतिक एक्टिभिस्ट पासाङ शेर्पाले पीडित परिवारको पक्षमा उभिॅंदै कडा प्रतिक्रिया जनाएका छन्। उनले भिडियो सन्देश जारी गर्दै अहिलेसम्म विश्वले करूणा, शान्तिप्रिय र मानव समाजको निम्ति भनेर चिनिने सिक्किममा अहिले सुस्मिता सुब्बा र उनको परिवारलाई मानवता नै नदेखाइ गरिएको व्यवहारले सिक्किमको अहिलेसम्मको चिनारी खतरामा परेको बताए। उनले आज सिक्किमेहरूको पावन पर्व सागा दावाको अवसरमा भगवान बुद्धद्वारा आशिषित सिक्किमले आफ्नो धर्म र करूणा बिर्सनु नहुने बताउॅंदै सिक्किम सरकारले राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा सिक्किमको नाम बद्नाम हुन अगावै बिना शर्त सुस्मिता सुब्बाको परिवारलाई घर फर्किन दिनुपर्ने बताए। यसका साथै उनले उनीहरूलाई उचित क्वारन्टाइनको सुविधा उपलब्ध गराउनुपर्ने बताए। विश्व पर्यावरण दिवसको दिन सयौं विरूवा रोपेर पुण्य गरेको ठाने पनि मान्छेको जीवनको मूल्यलाई नबुझेर सरकारले सुस्मिताको परिवारमाथि गरेको व्यवहार मानवतालाई नै लज्जामा पारेको छ, उनले भने। यसैगरी सुस्मिताको परिवार पहिलादेखि नै उक्त ठाउॅंमा बस्दै आएको अनि बाजे बोजुसमेत सोही ठाउॅंमा भएको हुनाले कागज पत्रको प्रसङ्गबारे स्थानीय पंचायत, पूर्व विधायक सबैले स्पष्टीकरण दिइसकेको हुनाले आजको पावन दिनमा सरकारले रात नपर्दै उनीहरूलाई सिक्किम प्रवेश गर्न दिनुपर्ने माग राखे। यसरी नै अहिले सुस्मिताको परिवार सिक्किम र बङ्गालको सीमानामा सडक किनारमा दुई दिनदेखि रात बिताउन परिरहेको अनि उनीहरू मध्ये कसैलाई केही भएको खण्डमा यसको पूर्ण जिम्मेवार सिक्किम सरकार हुनेछ अनि अहिले राष्ट्रिय मीडियाहरूले समेत हेरिरहेको हुनाले करूणा, शान्ति र प्रेमको राज्य भनेर चिनिने सिक्किमको राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा बद्नाम हुन अघि नै सरकारले उनीहरूलाई आफ्नो ठाउॅं फर्किने अनुमति दिनुपर्छ, उनले भने। उल्लेखनीय छ, सुस्मिता सुब्बा, उनको माता पिता र सानो भाई अहिले सिक्किम र बङ्गालको सीमामा घर फर्किन गुहार माग्दैछन् भने पीडितको पक्षमा सुस्मिताले भिडियो जारी गरेपछि घटना प्रकाशमा आएको हो।
तपाइँकाे प्रतिक्रिया
