Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

कर्णालीमा एक हजार बेडको क्वारेन्टाइन र ५० करोड विपद ब्यवस्थापन काेष


कर्णालीमा कोराना भाइसरको संक्रमण रोक्न प्रदेश सरकारले विशेष कदम चालेको छ। प्रदेश सरकारले कोरानाको संक्रमण रोक्न ५० करोड रुपैयाँको आपतकालिन विपद् व्यवस्थापन कोष स्थापना गरेको हो। यस्तै वीरेन्द्रनगरमा तत्काल एक हजार बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभीड-१९) रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। परिषद्का अध्यक्षसमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले विपद् व्यवस्थापन कोषमा ५० करोड बजेट उपलब्ध गराउने निर्णय गरेको हो। यो कोषमा जम्मा गरिएको रकम कोरानाको संक्रमण रोक्नका लागि खर्च हुनेछ।

कर्णालीमा कोरोना रोक्न प्रदेशका सबै नाकामा यसअघि नै कडाइ गरिएको छ। नाकामा हेल्थहेस्क स्थापना गरेर चेकजाँच थालेको प्रदेश सरकारले थप निर्णयहरु गरेको हो। प्रदेशमा कोरोनाको संक्रमण भएको खण्डमा र शंकास्पद व्यक्तिहरुको निगरानी तथा उपचारका लागि वीरेन्द्रनगरमा क्वारेन्टाइन स्थापना गर्न निर्णय गरिएको सामाजिक विकासमन्त्री दल रावलले बताए। उनका अनुसार वीरेन्द्रनगरस्थित रेडियो नेपालको प्रादेशिक प्रशारण केन्द्र परिसरमा रहेको खाली मैदानमा चारसय बेड र मध्यपश्चिम विश्वविद्यालयमा ६ सय बेड गरी एकहजार जनालाई राख्ने गरी क्वारेन्टाइन स्थापना गरिनेछ।

Insert your Ads code here

प्रदेश सरकारले अबको १० दिनभित्र भारतमा रोजगारीका लागि गएकाहरुलाई फिर्ता हुन आग्रह पनि गरेको छ। भारतबाट रोजगारीमा गएकाहरु फिर्ता हुन थालेकाले उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिनेछ। ‘क्वारेन्टाइन स्थापनाको जिम्मा सेनालाई दिएका छौं’ मन्त्री रावलले भने,‘रेडियो नेपालको पश्चिमतर्फ रहेको खाली मैदानमा नेपाली सेनाको उत्तरपश्चिम पृतना नेवारे सुर्खेतले चारसय बेडको क्वारेन्टाइन स्थापना गर्नेछ, यसको काम शनिबारबाटै सुरु हुन्छ।’ नेपाली सेनाले अबको एक साताभित्र क्वारेन्टाइन स्थापना गरिसक्ने जनाएको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाका पृतनापति सरोजप्रताप राणाले अबको एक साताभित्र क्वारेन्टाइन निर्माण गरिसक्ने बताए। ‘कोरोनाको संक्रमण कर्णालीमा देखिएमा सेनाका स्वास्थ्यकर्मीले निगरानी राख्नेछन्’ पृतनापति राणाले भने,‘काठमाडौंबाट आएका तालिमप्राप्त स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा आएर यहाँको थप जनशक्तिलाई तालिम दिनेछन्।’

यस्तै प्रदेश सरकारले अत्यावश्यकबाहेक रात्रीकालिन यातायातमा रोक लगाउने निर्णय गरेको छ। कोरोना रोकथामका लागि मन्त्रीहरुको संयोजकत्वमा विभिन्न समितिहरु पनि गठन गरिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा विशेष समिति, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा अनुगमन समिति, समाजिका विकासमन्त्री दल रावलको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा आपूर्ति समिति गठन गरिएको छ।

यस्तै सरकारले आगामी दिनमा कोरोनाका संक्रमितहरु भेटिएमा तत्काल क्वारेन्टाइनमा राख्न शैक्षिक भवन र होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने तयारी गरेको छ। सामाजिक विकास मन्त्रालयमा शुक्रबार बसेको भाइरस (कोभीड-१९) सम्बन्धी रोकथाम तथा प्रतिकार्य बैठकमा कर्णालीका सबै शैक्षिक संस्थाहरु बन्द गर्न र जारी परीक्षाहरु रोक्न सामाजिक विकास मन्त्री दल रावलले निर्देशन दिएकाेे अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!