कलकत्ता बन्दरगाहको प्रयोगभन्दा चीनबाट सिधै नेपाल लाँदा सस्तो पर्ने
चीनबाट नेपाल आयात गरिने सामान कोलकात्ताभन्दा चीनबाट सोझै ल्याउन छिटो हुने सरकारी अध्ययनले देखाएको छ। चीनबाट सोझै आयात गर्दा कोलकात्ताको तुलनामा १६ दिन छिटो हुने अध्ययनको निष्कर्ष रहेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका प्रतिनिधि र पारवहन विज्ञ आरबी रौनियारको संलग्तामा गठित समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनअनुसार चीनबाट सोझै सामान आयात गर्दा १२ दिन मात्रै लाग्छ।
चीनबाट नेपालमा गरिने आयातको ठूलो हिस्सा कोलकत्तामार्फत हुने गरेको छ। क्वाङ्चौबाट कोलकात्ता हुँदै सामान आयात गर्दा २८ दिन लाग्छ। हालसम्मको छिटोछरितो आयातका लागि भिसाखापटन उपयोगी मानिएको छ। यताबाट आयात गर्दा जम्मा १७ देखि १९ दिनसम्म मात्रै लाग्ने गरेको छ।
पछिल्लो तथ्यांक हेर्ने हो भने तीन सय वटा कन्टेनर मात्रै क्वाङ्चौ लान्चौ हुँदै केरुङ ल्याएको पाइएको छ। चीनबाट लोड भएको कार्गो समेत क्वाङ्चौको साटो थियान्चिन पोर्ट हुँदै नेपाल ल्याउने हो भने ढुवानी लागत र समय समेत बचत हुने समितिका एक सदस्यले जानकारी दिए। चीनले दक्षिण एसिया अन्तर्राष्ट्रिय ट्रेन प्यासेजका रूपमा सिगात्से–रसुवालाई राखेको छ। सिगात्सेबाट केरुङ हुँदै नेपाली सीमासम्म रेलसेवा विस्तारको काम सन् २०२२ सम्म सम्पन्न गर्ने अनुमान छ। लान्चौमा ६ वटा रेलवे १८ वटा मुलुकसँग जोडिसकेको छ। चीन ओरिजिन कार्गोको लान्चौ सुक्खा बन्दरगाह हुँदै नेपाल आउने कन्टेनरको संख्या ३ सय छ। त्यसरी सामान ल्याउँदा सस्तो र ल्याउन छिटो हुने गरेको पाइएको छ।
थियान्चिनदेखि लान्चौसम्म १६ सय किलोमिटरमा ढुवानीको माध्यम रेल हो। थियान्चिनदेखि लान्चौसम्मको भाडा प्रतिकन्टेनर सात हजार आरएमबी पर्छ। सन्चनदेखि लान्चौको भाडादर हेर्ने हो भने ११ हजार आरएमबी रहेको छ।
थियान्चिनदेखि ल्हासा ३९ सय किलोमिटरको दूरी रेलबाट पार गर्न सकिन्छ। समग्रमा क्वाङ्चौको तुलनामा थियान्चिन सस्तोपर्ने देखिन्छ। थियान्चिनदेखि लान्चौबाट सिगात्से हुँदै रसुवागढीसम्मको लागत प्रतिकन्टेनर १० हजार ३ सय आरएमबी पर्छ। तर क्वाङ्चौबाट ल्याउने हो भने यो भाडा १४ हजार ३ सय आरएमबी पर्ने देखिन्छ।
चीनबाट सोझै आयात गर्दा कोलकात्ताको तुलनामा १६ दिन छिटो हुने अध्ययनको निष्कर्ष छ। चीनमार्फत तेस्रो मुलुकबाट सामान ल्याउन दुवै सरकारले बाटो खुला गरे पनि हालसम्म यसको प्रयोग भइरहेको छैन। कोलकात्तामा अभ्यस्त भइसकेका व्यवसायीलाई चीनको नाका प्रयोगमा ल्याउन चासो नदिएको पाइएको छ। यस्तोमा निजी क्षेत्रलाई चीनतर्फको आकर्षण बढाउन सुरुवातमा बढी लागत सरकारले बेहोर्ने गरी ल्याउन सक्ने व्यवस्था गर्न समितिले सुझाव दिएको छ।
विश्व १० उत्कृष्ट पोर्ट मध्येको एक पोर्टको ५ सय वटा पोर्टसँग सम्बन्ध छ। १५० वटा मुलुकसँग सिपिङ लाइनको सम्बन्ध रहेको यो पोर्टमार्फत दुई लाख २५ हजार टनको कन्टेनर आवताजावत हुने गरेको छ। भारतको हल्दियामा ६ हजार कन्टेनर मात्रै अटाउँछ भने यो पोर्टमा २३ हजार कन्टेनर रहन सक्छ।
केरुङ–काठमाडौं र तातोपानी–काठमाडौं सडक निर्माण तथा मर्मत सुधारलाई लिएर चिनियाँ अधिकारीले चासो दिँदै आएका छन्। तर नेपालको तर्फबाट यहाँको पूर्वाधार विकासमा ठोस काम हुन सकेको छैन।
तपाइँकाे प्रतिक्रिया
