Loading... आजः शनिबार , श्रावण १२, २०८१

कल्पना प्रधान प्रियदर्शिकाको भविष्यको प्रतिबिम्ब लोकार्पण सितै कवितामा आधी आकाश 2020 सम्पन्न


गान्तोक, 25 जनवरी। सिक्किम-दार्जीलिङका नारी कविहरू आज एउटै मञ्चमा देखिए। कवितामा आधी आकाश 2020 कार्यक्रममा सहभागी बन्न आएका कविहरूले लगभग दुईघण्टा दर्शकहरूलाई बाधेर राखे।

गान्तोकमा आठ वर्षदेखि सञ्चालित चिया कविताले आयोजन गरेको यस कवि सम्मेलनमा जम्मा सिक्किम-दार्जिलिङका 18 जना कविले कविता वाचन गरेका थिए। कार्यक्रम माटो कवि जीवन थिङ मार्गस्थित रचना बुक्समा भएको हो। भारतीय नेपाली साहित्यको कथा, कविता र अनुवादमा सशक्तरूपमा कलम चलाउँदै आएकी साहित्यकार सुधा एम राई पर्यवेक्षकका उपस्थित थिइन्। आफ्नो पर्यवेक्षकीय सम्बोधनमा राईले 1950 भन्दा पछाड़ि शुरू भएको अफ्रिकन साहित्यले कसरी विश्व साहित्यमा आफ्नो पहिचान बनायो अनि नोवल पुरस्कारको स्थानसम्म पुऱ्यायो त्यसबाट शिक्षा लिनुपर्ने बताइन्। उनले अफ्रिकाली साहित्यमा भेगिएका नारीहरूको पिडा र नेपाली भाषी नारीहरूको पिडा फरक नरहेको अनि त्यसलाई नेपाली भाषी महिलाहरूको संघर्षसित दाजेर हेर्न सकिने संकथन प्रस्तुत गरिन्।

नेपाली साहित्यमा नारी लेखकहरू गुणवत्तामा नभएर संख्यामा बड़िरहेको उल्लेख उनले गरिन्। उनले भनेअनुसार लेखनमा अग्रतासितै गुणवत्ता ल्याउन अन्य विकसित भाषाका साहित्यबाट पनि ज्ञान आर्जन गर्नु आवश्यक्ता हुन्छ। यस क्रममा उनले धेरै भारतीय लेखकहरूसंगै पश्चिमी लेखकहरूका नाम पनि उल्लेख गरिन्। पर्यवेक्षक राईले साहित्यमा नारीवादको प्रसंगलाई उठाउँदै यस विषयमाथि पनि नारी लेखकहरूले गम्भीरतासित काम गर्नुपर्ने कुरामा जोर दिइन्। कार्यक्रममा दार्जीलिङबाट आरती ठकुरी, सरस्वती शर्मा, कालेबुङबाट निर्दोषिका तामाङ, स्मीता सोताङ राई, पश्चिम सिक्किमबाट फुर्बा खाण्डु सेर्पा, तारमित लेप्चा, दक्षिण सिक्किमबाट कविता सुब्बा, अनि पूर्व सिक्किमबाट दीपा राई, मणिका शर्मा, राधा पाण्डे, उषा शर्मा, सुमती छेत्री, रेनुका बस्नेत, कल्पना प्रधान प्रियदर्शीका, मिना सुब्बा अनि भक्ति बस्नेतले कविता वाचन गरिन्। कवि रूपा तामाङले सञ्चालन गरेको कार्यक्रममा सहभागी कविहरूलाई प्रशस्ति पत्रद्वारा सम्मानित गरियो।

अर्कोतिर कार्यक्रममा कवि कल्पना प्रधान प्रियदर्शीकाको कविताकृति भविष्यको प्रतिविम्ब लोकार्पण गरियो। कार्यक्रमकी पर्यवेक्षक, सुधा एम राई, पत्रकार अनिता निरौला, वास्तुकार तथा कलाकार किरण रसाइली, साहित्यकार प्रवीण राई जुमेली अनि साहित्यकार प्रद्युम्न श्रेष्ठको बाहुलीबाट लोकार्पण गरिएको थियो। विमोचित कविताकृतिमाथि प्रकाश पार्दै कविता सुब्बाले भनिन्- पहिलो कथाकृति प्रकाशित गरेर 17 वर्ष मौन बस्ने कवि प्रियदर्शीकाले यो दोस्रो कविताकृतिमाथि निकै मिहेनत गरेकी बताइन्। उनले जीवनको धेरै भोगाइलाई कवितामा उतारेकी उल्लेख गरिन्।

कार्यक्रममा सहभागी कविहरूलाई चिया कविताको तर्फबाट कवितामा आधी आकाश 2020 को सझौटोको रूपमा सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा कालेबुङका कवि मनोज बोगटीसमेत सिक्किमका वरिष्ठ अनि युवा साहित्यकारहरूको पनि विशेष उपस्थिति रहेको थियो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!