Loading... आजः शनिबार , श्रावण १२, २०८१

काठमाडौँमा सुरु भयो क्यान इन्फोटेक


नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यस क्षेत्रमा सुशासन ल्याउने बताउनु भएको छ। विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसले मुलुकलाई ‘डिजिटल इकोनमी’ बनाउन सघाउने उहाँको भनाइ रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको २६औं क्यान इन्फोटेक उद्घाटनका अवसरमा बाँस्कोटाले सूचना प्रविधि क्षेत्रमा सुशासन देख्न नचाहनेले विधेयकको विरोध गरेको बताउनुभयो।

‘सूचना प्रविधि क्षेत्रको विकास चाहने निजी क्षेत्रले नै यसको विरोध गरेको भेटियो,’ मन्त्री बाँस्कोटाले भन्नुभयो। सूचना प्रविधि विधेयक विद्युतीय कारोबार ऐनभन्दा पनि खुकुलो भएको उहाँको दाबी छ। डिजिटल सुशासन हुन नदिनेले यसको विरोधमा लागिपरेको उहाँको भनाइ छ। विधेयकले डिजिटल सुशासनको प्रबन्ध गर्ने उहाँले बताउनुभयो।

Insert your Ads code here

‘अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने र डिजिटल सुशासन हुन नदिने खेल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अरूले नबुझे पनि क्यानले यो विधेयकलाई बुझ्नुपर्छ।’यद्यपि सूचना प्रविधि विधेयकमा राखिएको दण्ड तथा सजायको प्रावधानलाई घटाइने उहाँले प्रतिबद्धता जनाउनुभयो।

सरकारले अघिल्लो वर्ष संसद्मा दर्ता गरेको सूचना प्रविधि विधेयक राष्ट्रिय सभा र संसद्को विकास तथा प्रविधि समितिबाट बहुमतले पास भएको छ। विधेयक अहिले संसद्मा विचाराधीन छ। विधेयकमा रहेका कतिपय प्रावधानप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारकर्मी र नागरिक समाजले विरोध गर्दै आएका छन्।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले महासंघले विगतदेखि सरोकारवालासँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि हातेमालो गर्न तयार रहेको बताउनुभयो।

सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन महासंघ तयार रहेको उहाँको भनाइ छ। नेपालमा सूचना प्रविधि क्षेत्रको विकास भइरहेको र यसलाई तल्लो स्तरसम्मै पुर्‍याउन सूचना प्रविधि शिक्षालाई विद्यालय तहदेखि नै लागू गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। यो वर्षको क्यान इन्फोटेकमा आविष्कार र नवीनतम सोच भएका व्यवसायलाई प्राथमिकता दिएको उहाँको धारणा थियो।

इन्फोटेकमा मोबाइल र ब्रोडब्यान्डलाई छुट्टै पेभेलियनमा राखिएको छ। प्रदर्शनीमा प्रविधि कम्पनीका उत्पादनसहित ब्रान्डलाई समेट्ने गरी व्यवस्थापन गरिएको महासंघका महासचिव नारायण थापाले बताउनुभयो। ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन सरकारले राखेका १० उद्देश्यमध्ये कनेक्टिभिटी एक भएको र सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग सरकारले गर्ने योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको भनाइ छ।

डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन गरी विभिन्न कार्यक्रम अगाडि बढाइएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभयो। बुधबारसम्म चल्ने इन्फोटेकमा १७४ वटा स्टल छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!