काठमाडौँ उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। बुधबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप निर्णय गरेको नेपाल खबर अनलाइनले लेखेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिलेकै अवस्थामा एक साता निषेधाज्ञा बढाइएको बताउनुभयो। ‘कोरोना संक्रमण बढीरहेका कारण एक साताका लागि निषेधाज्ञा थप गरेका हौँ’, प्रजिअ दाहालले भन्नुभयो। अघिल्लो बुधबार मध्यरातिदेखि जारी एकहप्ते निषेधाज्ञाको अवधि आज (बुधबार) राति १२ बजेबाट सकिँदै थियो।
यसअधि मंगलबार निषेधाज्ञा थप गर्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफल गरेका थिए। मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संघीय सरकारको गृह मन्त्रालयसँग समेत छलफल गरेका थिए।
Insert your Ads code here
उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले पनि संक्रमण बढेको भन्दै निषेधाज्ञा थप गर्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो।