Loading... आजः शनिबार , श्रावण १२, २०८१

काठमाडौँ महानगरका एम्बुलेन्सद्वारा एक सय ५० लाई दिए नि:शुल्क सेवा


हृदयाघात, मिर्गौलारोगी र अन्य जटिल प्रकृतिका बिरामीका लागि नि:शुल्क सेवा दिने गरी काठमाडौं महानगरपालिकाले सुरु गरेको एम्बुलेन्स सेवा प्रभावकारी बनेको छ। लकडाउनका कारण सडकमा सार्वजनिक सवारी नपाइने र निजी सवारीसमेत गुडाउन नपाइने भएपछि बिरामीलाई अस्पताल जान र आउनका लागि समस्या हुने गरेको छ। त्यस्ता बिरामीको समस्यालाई मध्यनजर गरी महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवाका लागि पाँचवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

महानगरले एम्बुलेन्स सञ्चालक संघ काठमाडौंसँग सहकार्य गरी सेवा दिएको हो। संघका अध्यक्ष गणेश सापकोटाले भन्नुभयो, ‘अहिलेसम्म एक सय ५० जनाले सेवा लिए, हाम्रा पाँच एम्बुलेन्सले उनीहरूलाई घरबाट अस्पताल पुर्‍याउने र ल्याउने गरेर तीन सयपटकभन्दा बढी सेवा दिइसकेका छन्।’ महानगरले आफ्नो क्षेत्रका बासिन्दालाई मात्रै यो सेवा दिने भनेको छ।

तर, उपत्यकाबाहिरबाट समेत सेवा लिनका लागि फोन आउने गरेको छ। महानगरले चक्रपथ र त्यहाँभन्दा दुई किलोमिटरसम्मको क्षेत्रमा मात्रै सेवा दिने सम्झौता गरेकाले बाहिरका नागरिकलाई सेवा दिन नसकिएको अध्यक्ष सापकोटाले बताउनुभयो। ती एम्बुलेन्सले वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको डाइलाइसिस सेन्टरलगायतमा बिरामी पुर्‍याइरहेका छन्।

Insert your Ads code here

महानगरले त्यस्तो सेवा चाहिएमा महानगरको हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न आग्रह गरेको छ। महानगरले आफ्नै लगानीमा सञ्चालन गरेको एम्बुलेन्सको सेवाका लागि भने १०२ मा सम्पर्क गर्न आग्रह गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!