Loading... आजः शनिबार , श्रावण १२, २०८१

काठमाडौँ महानगरले रात्रिकालीन बस चलाउने


फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले रात्रिकालीन सार्वजनिक बस सञ्चालन गर्ने भएको छ। नेपाल भ्रमण वर्षलाई लक्षित गरी आगामी वैशाखदेखि सञ्चालनको तयारी भइरहेको महानगरपालिकाले जनाएको छ। सरोकारवाला निकायसँग छलफल गरी यस्तो निर्णय गरिएको मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो। पहिलो चरणमा बेलुका ८ बजेदेखि राति ११ बजेसम्म बस चलाउने उहाँको भनाइ रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

दीर्घकालीन सेवा दिने गरी योजना ल्याउन महानगरले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई निर्देशनसमेत दिएको छ। ‘पहिलाजस्तो केही समय चलाएर बन्द गर्ने होइन,’ उहाँले भन्नुभयो, ‘दीर्घकालीन सेवा दिने योजना बनाउन भनेका छौं, महानगर सहयोग गर्न तयार छ।’ महासंघ वाग्मती प्रदेशका संयोजक धर्मराज रिमालले यसपटक सेवा सुरु गरेपछि बन्द नहुने गरी योजना बनाइएको बताउनुभयो। ‘पहिले महानगरपालिकासँग ६ महिने सम्झौता भएको थियो, सम्झौता नथपिए पनि १८ महिना सञ्चालन गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘पछि नसक्ने भएर बन्द गर्नुपर्‍यो।’ अबको रात्रिकालीन सेवामा ५० प्रतिशत बढी भाडा बढी उठाउने गरी अनुमति पाएको उहाँले बताउनुभयो। रत्नपार्कलाई केन्द्रित गरेर ललितपुर, भक्तपुरमा समेत सेवा पुर्‍याउने गरी १५ रुट बनाएर सेवा दिने उहाँको भनाइ छ। सुरुमा ६० वटा बस दैनिक सञ्चालन गर्न सकिने उहाँले दाबी गर्नुभयो।

Insert your Ads code here

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको बताउनुभयो। ‘सेवा दीर्घकालीन बनाउने ग्यारेन्टी महासंघले लिनुपर्छ। प्रस्ताव सकारात्मक छ,’ उहाँले भन्नुभयो। महानगरीय ट्राफिक महाशाखा रामशाहपथका एसपी राजकुमार बैदवारले पनि रात्रिकालीन व्यवसायलाई प्रवर्द्धन गर्न र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो। महानगरपालिका सहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरका अनुसार यसका लागि प्रदेश सरकार, ट्राफिक, महासंघलगायतका प्रतिनिधि रहने गरी कम्तीमा पाँच सदस्यीय कार्यदल बनाइनेछ।

२०६९ भदौ १ गतेदेखि काठमाडौं महानगरपालिकाको अनुदानमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करिब १८ महिनापछि महासंघले सेवा बन्द गरेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!