Loading... आजः शनिबार , श्रावण १२, २०८१

काठमाडौंमा १ सय २४ जना नयाँ कोरोना संक्रमित


काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ । ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन्।

शय्या अभावका कारण शुक्रबार पनि संक्रमितमध्ये २५ जनालाई मात्र अस्पतालको आइसोलेसनमा पठाइएको छ। ६८ जना घरकै आइसोलेसनमा बसेका छन् । केही सम्पर्कविहीन र उपत्यकाबाहिर छन् ।

लकडाउन हटेयता लक्षणसहितको संक्रमितको संख्या पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना देखिएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । ६ सय ४६ जना सक्रिय संक्रमित हुन् । मन्त्रालयले काठमाडौंसहित ६ जिल्लालाई जोखिममा राखेको छ । साउन १ देखि १२ सम्म उपत्यकामा दिनहुँ १६ जनाभन्दा कम संक्रमित थपिएका थिए ।

Insert your Ads code here

साउन १३ मा एकै दिन ६१ जनामा संक्रमण पुष्टि भएको थियो । दिनमा ५० जनाभन्दा बढी संक्रमित थपिन थालेपछि आइसोलेसनमा राख्ने शय्याको अभाव हुन थालेको छ । ईडीसीडीको संक्रमित व्यवस्थापन गर्ने टोलीले घरमै आइसोलेसनमा बस्न चाहनेलाई अनुमति दिने गरेको छ । उनीहरूलाई स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने भए पनि अधिकांशलाई निगरानी नगरिएको गुनासो छ । बुधबार संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये २० जना घरमै आइसोलेसनमा बसेका थिए । बिहीबार पनि ८१ जना संक्रमित देखिएकामा ४० जना प्रहरी र तिनका आफन्त प्रहरी अस्पतालमा आइसोलेसनमा राखिएको छ। अरू घरमै छन् ।

संक्रमित भर्ना गर्न तोकिएको अस्पतालको शय्या खाली नभएपछि कीर्तिपुरको आयुर्वेद अस्पताललाई दुई सय शय्यामा विस्तार गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो। तर ती प्रयोगमा आइसकेका छैनन् । त्यस्तै, छाउनीस्थित सैनिक अस्पताल र महाराजगन्जको प्रहरी अस्पताललाई पनि लेबल २ को अस्पताल बनाउने निर्णय मन्त्रालयले गरिसकेको अधिकारीले जानकारी दिनुभयो। तर सेनाले सैनिकलाई मात्रै र प्रहरीले आफ्नो संगठनभित्रका संक्रमित मात्र भर्ना गर्ने भनेका छन् ।

कान्तिपुर अनलाइनका अनुसार काठमाडौं महानगरपालिका वडा नं. २२ ले न्युरोड, इन्द्रचोक क्षेत्रमा तीन जना संक्रमित देखिएपछि वडाभरि बजार बन्द गर्ने निर्णय गरेको छ । काठमाडौंको न्युरोड नजिकैको खिचापोखरीमा बुधबार एक माछा पसलेलाई कोरोना देखिएको थियो।

ईडीसीडीका अनुसार साउन ९ देखि २१ सम्म काठमाडौं, भक्तपुर र ललितपुरमा करिब ४ सय ८५ जना कोरोना संक्रमित देखिएका छन् । यसमा काठमाडौं महानगरमा मात्र करिब ६५ प्रतिशत अर्थात् ३ सय १५ जना संक्रमित भेटिएका छन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!