काठमाडौं बाहिरिनेकाे लर्काे !
लामो लस्करमध्येबाट एकजना बोले, ‘बोक्न गाह्रो होला भनेर पानी धेरै राखिएन। तिर्खाले मरिने पो हो कि ?’ लगत्तै सँगै रहेका अर्का मानिसले प्रतिक्रिया दिए, ‘सुनकोशीमा हामफालौँला नि तिर्खाएर मर्नुभन्दा त।’
अनुमान गर्न सकिन्थ्यो यो लस्कर धेरै टाढा पुग्नेहरुको हो। आवाजमा पीडा र आक्रोश मिसिएको थियो। घडीमा रातको ९ बज्दै थियो।
एक हुल मानिसहरू कोटेश्वर-भक्तपुर सडकमा हिँड्दै थिए। कसैको शरीरमा ठूलो, कसिएको झोला थियो। कसैको काँधमा बोरा। फित्ते चप्पलको सहारामा पैदल यात्रा गरिरहेका उनीहरुको मुहारमा बाध्यता झल्किरहेको थियो।
विश्वभर कोभिड-१९ को भय छ। हाम्रो देश पनि अछुतो छैन। त्यसैमाथि लकडाउनको समय हुनाले जो कोहीले पनि भिडलाई प्रश्न गर्न सक्थ्यो।
सोध्यौँ, ‘यति धेरैजना समूहमा कहाँ जाँदै हुनुहुन्छ?
भिडबाट एकजना बोले ‘सुनसरी, इनरुवा।’
‘त्यति टाढासम्म पैदल..?’ हामीले थप्यौँ, ‘यो त गलत भएन र? लकडाउनको समयमा त सकेसम्म घरबाट ननिस्कने। निस्किहाले पनि समूहमा ननिस्कने। अनि, आवश्यक परेर समूहमा निस्किहाले पनि निश्चित दुरी कायम गर्ने भनेर सरकारले भनेको थाहा पाउनुभएन कि क्या हो?’
प्रश्नमा जवाफ दिँदै एकजनाले भने-
‘सबै थाहा छ, थाहा भएर मात्र पनि नहुँदो रहेछ, सर। हामी सबै, सँगै बस्ने र काम गर्ने साथी हौँ। एउटा कन्ट्रक्सनमा काम गर्छौँ। काम नभएको थुप्रो दिन भयो। आफूसँग भएको खानेकुरा सकिनै लाग्यो। सरकारले भनेको आजसम्म मान्यौँ। लकडाउन आज सकिएला कि भन्ने थियो, फेरि थपियो। अब पनि काठमाडौंमै बसे खानेकुरा सकिएर भोकभोकै मरिनेजस्तो लाग्यो, हामी त बचेको खाना बोकेर राति नै हिँड्यौँ। दिनमा त निस्किनै दिन्नन्।’ अनलाइन खबरले लेखेको छ।