के नेपालमा पहिलो पटक बर्दियामा रेल चलेकै हो त ?
बर्दिया
नेपालमा रेल चल्ने चर्चा बढे संग नेपालमा रेलको ईतिहास खोजी हुन थालेको छ । पुर्वी तराईको जनकपुर जयनगर लगायत मा रेल संचालन को कुरा संगसगै त्यस भन्दा अगाडी कहाँ कहाँ रेल संचालनमा थियो त भन्ने खोजीको चर्चा संगै बर्दियामा पहिलो पटक रेल संचालनमा कुरा चर्चामा आउन थालेको छ । कति पयलाई यस कुराको विश्वास पनि नहुन सक्छ , नेपालमा रेलको विकासका बिषयमा नेपाल सरकारले हाल संचालन गर्ने बाहेक अन्य खोजी भने गरेको देखिदैन नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो । यो रेल १०८ बर्ष अघि सन् १९१० (बि.सं.१९६७) देखि शुरु भएर सन् १९२० (बि.सं. १९७७ ) सम्म १० बर्ष मात्र संचालनमा थियो । तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई नदी पश्चिमपट्टिको जङ्गलका काठ कटान र मुछान गरि भारततिर ढुवानी गर्ने प्रयोजनका लागि मात्र थियो। यसका लागि श्री ३ प्रधानमन्त्री चन्द्र शमशेर जबराको स्वीकृतिबाट ईष्ट इण्डिया कम्पनी सरकारको फरेष्ट्री डिपार्टमेन्टका कन्जरभेटर जे.भी. कोलिएर आफैले ठेक्का लिएका थिए। उनले यस्तो ठेक्का कैलाली र नेपालको पूर्वी तराईमा पनि लिएका थिए। कैलालीमा दुल्लु दर्रा डाडा सरकारको ठेक्का राज्य मलवाराभित्र पर्ने भारतीय सीमावर्ती टिकुनिया/बेलरायादेखि उत्तर भगिनी सुखडसम्म जङ्गल कटान, मुछान र भारततर्फ काठ ढुवानी गर्न बर्दियामा रेल लगेको एक बर्षपछि रेल लाइन बिछ्याएका थिए।
बर्दियामा यो रेल नेपाल–भारत सीमाको निसानगाडा ( भारतपट्टि ) देखि पश्चिम नजिकैको टेघराचौकीबाट ढोढरीको मधुवन, माचड, गमक्का, बसन्ता र बन्द्राज गाउँ; बगनाहको शाहीपुर र तकिया पश्चिमपट्टिको जङ्गल क्षेत्र; नेउलापुरको नेउलापुर, सतघरुवा, रानीपुर र कर्मला तथा शिवपुरको पुरानो अम्बासा गाउँको पूर्वबाट हुँदै ऐलेको राजमार्गको उत्तर खयरभट्टीसम्म बिच्छाइएको रेल लाइनमा चल्थ्यो । टेघराचौकीदेखि खयरभट्टीसम्म करिव ३५ किलोमिटर दुरीसम्म यो रेल चल्थ्यो ।
बर्दियामा रेल चलेको ३/४ बर्षपछि मात्रै नेपालको रक्सौल ( सिर्सैया ) देखि अमलेखगञ्ज ( भिक्षाखोरी )सम्म ४७ किलोमिटरको दूरीसम्म ३१ जनवरी १९२७ ( ५ फागुन १९८३) मा राजा त्रिभुवनबाट उद्घाटन भएर सार्वजनिक रेल सेवा चलेको थियो । यसपछि जयनगर–जनकपुर ३२ किलोमिटर र जनकपुर– बिजुलपुरा २१ किलोमिटर रेल्वे यातायात विस्तारित भएको थियो। यसलाई अझ पछि बर्दिवाससम्म विस्तार गरियो ! त्यतिबेला, संसारमै रेल चलेको ( ईङलैण्डको स्टाँवटन र डार्लिङटनबीच सन् १८२५ मा) ८५ बर्षपछि र भारतमा रेल चलेको ( महाराष्ट्रको बम्बई र ठाणेबीच १६ अप्रिल १८५३ मा ) ५७ बर्षपछि नेपालको बर्दिया जिल्लामा रेल चलेको थियो।
यो रेल चढेका २/४ जना स्थानीय बृध्दहरुसंग मैले भेट र कुराकानी पनि गर्ने अवसर पाएको थिए । तर अब वहाँहरु दिवंगत भई सक्नु भएको छ । साथै टेघराचौकीदेखि खएरभट्टिसम्मको पुरानो फलामे रेल लाइन झिकी सकिएको वा हिनामिना भई सकेको भए पनि टेघराचौकीदेखि खयरभट्टिसम्मै “कोलिएर लाइन“ भनिने रेल्वे लिकको ट्रयाक र रेल्वे ट्रयाकबीच बीचको सालको काठको भत्केका र नभत्केका त्यतिबेला बनेका पुलहरु हामीले पनि देख्यौं र त्यो ट्रयाकमा हामीले साईकल पनि दौडाएका छौं । तर अब यो निशान अधिकांश ठाउँहरुमा नामेट भइसकेको छ । तापनि कतैकतै जङ्गलभित्र यो निशान अझै छ ।
माधव पोखरेल ‘गोज्याङ्ग्रे’ले प्रशासन अनलाईनमा २०७७ भाद्र२२ गते प्रकासित
नेपालमा रेल्वे सम्बन्धी केही जानकारीमा पनि सोही बिषय केन्द्रित गरेको छ । सो लेख अनुुसार
नेपालमा सर्व प्रथम रेल सेवा बर्दिया जिल्लाको तारा तालमा सञ्चालन भएको हो । राणा प्रधानमन्त्री चन्द्र शम्सेरको शासनका समयमा विक्रम सम्बत १९६२ सालमा इष्ट इण्डिया कम्पनीले बर्दिया जिल्लाको जङ्गलमा पाइने सखुवाको काठको रेल्वे स्लीपर र ट्रयाक बनाएर भारत लैजानका लागि तत्कालीन राणा सरकारको स्वीकृति लिएर भारतको बहराइच जिल्लाको निसानगढदेखि नेपालको बर्दिया जिल्लाको तारा तालसम्मको करिब २५ किलोमिटर दूरीमा सो रेल सञ्चालन भएको थियो । भारतमा सखुवा काठ नपाएका कारण रेल्वेका लागि लिक राख्न आवश्यक पर्ने स्लिपर र ट्रयाक ढुवानी कार्य सकिए पछि सो रेल सेवा समेत बन्द भएको थियो ।
नेपालमा दोस्रो रेल सेवा विक्रम संवत् १९८५ सालमा राणा प्रधानमन्त्री चन्द्र शम्सेरले भारतीय सामान काठमाडौँ पु¥याउन र नेपालको काठ भारतमा लगेर बिक्री गर्ने उद्देश्यले भारतको रक्सौलदेखि नेपालको वीरगञ्ज हुँदै अमलेखगन्ज सम्म ४२ किलोमिटरको दूरीमा एन.जे.आर.(नेपाल गवर्नमेन्ट रेल्वे) नामक रेल सेवा सञ्चालन गरेका थिए । यो रेल सेवा त्रिभुवन राजपथको निर्माण भएपछि वीरगन्ज काठमाडौँ बीच सीधा बस सेवा सञ्चालन भएकोले बि.सं. २०२४ सालदेखि बन्द भएको हो । सो रेल सेवाका सम्पूर्ण सामानहरू जनकपुर रेल्वेलाई हस्तान्तरण गरिएको र ती सामानहरूमा इन्जिन तथा माल सामान ढुवानी गर्ने मालवाहक डिब्बा र यात्रु बाहक बोगी जनकपुर रेल्वेले प्रयोगमा ल्याएको थियो ।
बि.सं. १९९४ सालमा नेपालमा तेस्रो रेलको सञ्चालन भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै महोत्तरी जिल्लाको बिजलपुरासम्म ५३ किलो मिटरमा सञ्चालन थियो । तर २०५९ सालको बाढीले महोत्तरीको बिग्ही नदीमा रहेको पुल भत्काए पछि जनकपुरदेखि बिजलपुरासम्मको रेल सेवा पूर्ण रूपले बन्द भएको हो । यो रेल सेवा बि. सं. १९९०मा गएको महाभूकम्प पछि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्सेरका समयमा सर्भेक्षण गरी बि. सं. १९९४ साल मङ्सिर १६ गते विवाह पञ्चमीका दिन देखि सञ्चालनमा आएको हो । हाल यो रेल सेवाले जनकपुर देखि जयनगर सम्मको २९ किलोमिटर दुरीमा मात्र आफ्नो सेवा सञ्चालन गरिरहेको थियो । यो रेल सेवा पनि नेपालको बहुमूल्य काठहरू भारतमा लगेर बिक्री गरी भारतीय सामान नेपाल ल्याउने उद्देश्यका साथ सञ्चालन भएको थियो ।
नेपालमा चौथो रेल सेवाका रूपमा बि.सं. २०११ सालमा भारत सरकारले सप्तकोशीमा पुल बनाउन लाग्दा त्यहाँ आवश्यक पर्ने ढुङ्गा बाराह क्षेत्र चतरा देखि भारतको विरपुर र बथनाहा सम्म लैजानका लागि भारत सरकारले सञ्चालन गरेको थियो जसलाई ढुङ्गे रेल भनेर चिनिन्थ्यो । भारतले भने यो रेललाई कोशी प्रोजेक्ट रेल्वे ( के. पी. आर. ) भनी नामाकरण गरी चतरा बराहा क्षेत्रका ढुङ्गाहरू ओसार्ने काम गर्दथ्यो । यो रेल सेवा न्यारो गेजको थियो भने बि. सं. २०३५÷०३६ सालसम्म पनि यो रेलले ढुङ्गा ओसार्ने काम गरिरहेको थियो ।
अर्को रेल सेवा काठमाण्डौको मातातिर्थ देखि लैनचौर सम्मको १० किलोमिटरको दुरीमा सञ्चालन थियो । यो रेल सेवा कसले कहिले सञ्चालन गरे भन्ने कुराको भेद खुल्न नसके पनि हेटौडा र काठमाडौँ बिच रोप्वे सेवा सञ्चालन भए पछि रोप्वेबाट आएका सामानहरू ढुवानी गर्ने उद्देश्यले यो रेल सेवा सञ्चालनमा आएको थियो भनिन्छ । मातातिर्थ रेल्वेका नामले चिनिने यो रेल सेवा डिजलबाट सञ्चालन हुन्थ्यो भने यस अघिका सबै रेल सेवा कोइलाबाट सञ्चालित थिए ।
नेपालको छैठौँ रेल सेवाका रूपमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले तत्कालीन राजा त्रिभुवनलाई उपहार स्वरूप दिएको रेल हो । सो रेल हाल भृकुटीमण्डपमा रहेको छ भने उक्त रेल गोपाल रेल वा बाल रेलका नामले चिनिन्छ । यसरी नेपालमा जम्मा छ बटा रेल सेवा सञ्चालनमा आएको देखिए पनि स्थायित्व भने जनकपुर जयनगर रेल सेवाले मात्र पाएको छ । पहिले यातायात संस्थानको एक अङ्गका रूपमा रहेको जनकपुर रेल्वे यातायात संस्थानको बि.सं.२०५८ मङ्सिर मसान्तमा विघटन पश्चात् बि.सं.२०६१ जेष्ठ १८ गते कम्पनी ऐनमा दर्ता भई नेपाल रेल्वे कम्पनीका नामले हाल सञ्चालनमा रहेको थियो । नेपाल सरकारले रेल्वेको विकासका लागि पटक पटक गरी अर्बौ रुपियाँ खर्च गरेको भए पनि ती खर्चहरू सबै वालुवामा पानी हाले सरह नै भएकोमा हाल आएर रेलसेवाले निरन्तरता पाउने भएको छ । हाल नेपाल सरकारले रेल्वेको विकासका लागि नेपाल रेल्वे विभाग गठन गरेको छ तर काम भने कछुवा गतिमा भइरहेको छ ।
भारत सरकारले भारतको जयनगरदेखि नेपालको धनुषा जिल्लाको जनकपुर महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको करिब ७१ किलोमिटरको दुरीमा ब्रोडगेज रेल्वे सञ्चालनका लागि सर्भेक्षण गरी अन्य कामहरू जग्गा अधिग्रहणदेखि ठेक्का मार्फत निर्माण सम्बन्धी काम समेत शुरु गरिसकेको छ । तर नेपालका तर्फबाट रेल्वेका लागि जग्गा अधिग्रहण गर्ने काम भए पनि जग्गाको मुआब्जा वितरण गर्ने काम गर्न नसक्दा भारतले गर्ने भनिएको रेलवे सम्बन्धी कार्य नै अलपत्र परेको थियो । पछि रेल्वे सम्बन्धी समस्याहरू समाधान पश्चात् करिब चार सय सत्तरी बिघा जग्गा जनकपुर रेल्वेसँग रहेको भए पनि त्यसको सही रूपले सदुपयोग हुन सकेको देखिँदैन । ब्रोडगेज रेल सञ्चालनका लागि हाल नेरो गेजको रेल्वे लिकलाई बढाउनु पर्ने भएकोले सोका लागि आवश्यक जग्गा स्थानीय जनताबाट अधिग्रहण गरिए पनि मुआब्जा वितरणका लागि रकम निकासा नहुँदा आर्थिक समस्याले गर्दा काम रोकिएको थियो । नेरो गेजलाई विस्थापित गरी ब्रोड गेजको ट्र्याक निर्माण गर्दा केही वर्ष रेल्वेको नियमित सेवा स्थगित भएकोमा आउँदो तिहार पश्चात् नियमित सेवा जयनगर जनकपुर कुर्थासम्म सञ्चालन हुने बुझिएको छ ।
केही समाजिक संज्यालहरुमा आएको यस कुरापनि बर्दियामै पहिलो पटक रेल संचालनमा आएको थियो की भन्ने अनुमान गर्न सकिन्छ ।