Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोटेश्वर–जडीबुटी खण्डको ट्राफिक जाम हटाउन जाइकाले थाल्यो परामर्श


कोटेश्वर–जडीबुटी खण्डको ट्राफिक जाम हटाउने उपायबारे जापनिज सहयोग नियोग (जाइका) ले पठाएको कन्सल्टटेन्ट (परामर्शदाता) ले परामर्श थालेको छ। आइतबार आएको छ सदस्यीय टोलीले सम्बन्धित मन्त्रालय, विभाग र यस मातहतका कार्यालयसँग कुन विकल्प अपनाउने भन्दै परामर्श सुरु गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

वर्ष दिनअघि जाइकाले प्रारम्भिक अध्ययन गरेर बुझाएको प्रतिवेदनअनुसार नै तीन विकल्पमध्ये सरकारले एउटा विकल्प छान्नुपर्नेछ।’कन्सल्टेन्टको ११ जनाको टिम हुन्छ,’ सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भन्नुभयो, ‘थप पाँच जनाको टोली केही दिनभित्रै आउनेछ।’ उहाँका अनुसार परामर्श टुंगिएपछि डीपीआरको काम सुरु गरिनेछ। ‘यो टोलीले सबैसँग छलफल गरेर सरकारलाई सहज हुने एउटा विकल्प छान्न लगाउनेछ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि कुन विकल्पमा जाने, त्यही अनुसारको विज्ञ टोलीलाई कन्सल्टेन्टले जापानबाट बोलाउनेछ।’

विकल्प छानिएपछि कन्सल्टेन्टमध्ये केही जाने र केही यहीँ बसेर डीपीआर तहको अध्ययनमा सघाउने छन्। ‘डीपीआर गर्न एक वर्ष लाग्नेछ,’ उहाँले भन्नुभयो, ‘जुन अध्ययन ठेक्का सम्झौता गर्ने तहसम्मको हुनेछ।’ फ्लाइओभर र सुरुङ (२ वटा) मध्ये एउटा विकल्प छान्नुपर्ने हुन्छ। यीमध्ये अन्य विकल्प भए परामर्शदाताले बुझ्नेछन्। डीपीआरको क्रममा डाटा संकलन र सर्भेदेखि डिजाइनसम्मको काम हुनेछ। ‘सरकारले विकल्प छानेपछि त्यहीअनुसार डिजाइनको काम थालिनेछ,’ उहाँले भन्नुभयो। अध्ययनको सबै खर्च जाइकाले नै व्यहोर्नेछ।

Insert your Ads code here

‘कुन विकल्प छान्ने भन्नेबारे हामी आपसमा पनि छलफल गर्नेछौं,’ उहाँले भन्नुभयो, ‘छलफल नगरी निर्णय हुने छैन।’ कसले बनाउने भन्नेबारे निर्णय भइसकेको छैन। जाइकाको वर्ष दिनअघिको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसारका तीन विकल्पअन्तर्गत पहिलो तीनकुनेबाट कोटेश्वरको बालकुमारीतर्फ यात्रु हिँड्ने पुलसम्म सवारी साधन गुड्ने अकासे–पुल बनाउने रहेको छ, जसको दूरी १ दशमलव ६ किमि हुनेछ। यो पुल चार लेनको हुनेछ। अकासे–पुल नबनाउने हो भने त्यही खण्डमा सुरुङ बनाउने दोस्रो विकल्प छ। तेस्रो विकल्प तीनकुनेबाट जडीबुटीसम्म सुरुङ निर्माण गर्ने रहेको छ। सुरुङ १ दशमलव ४ किमिको हुनेछ।

सबैभन्दा कम लागतको विकल्प फ्लाईओभरलाई लिइएको छ, जसको लागत ९ अर्ब रुपैयाँ रहने प्रारम्भिक अध्ययनका क्रममा अनुमान गरिएको छ। यही खण्डमा निर्माण गरिने सुरुङमार्गका लागि १८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ‘यो प्रारम्भिक अध्ययनको रिपोर्ट मात्र हो,’ उहाँले भन्नुभयो, ‘डीपीआरपश्चात् यसको लागत र दूरी तलमाथि हुन सक्छ तर विकल्प भने यिनै हुन्।’ उहाँका अनुसार महाशाखाले निकालेको विकल्पमा नयाँबानेश्वरबाट आउने सिधा सडकलाई विमानस्थल मुनिबाट जडीबुटी निकाल्ने गरी सुरुङ निर्माण गर्ने भन्ने पनि छ, जसको दूरी ९ सय मिटर र लागत २२ अर्ब आकलन गरिएको छ। यसले विमानस्थलको धावनमार्ग छुने छैन। ट्राफिक प्रहरीका अनुसार भक्तपुरबाट कोटेश्वर र्हुदै दैनिक २४ हजारभन्दा बढी सवारी साधन ओहोर–दोहोर गर्छन्। तर घण्टौं ट्राफिक जामले गर्दा यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!