कोभिडको त्रास र जनशक्तिको अभावबीच विकास आयोजनाको काम अघि बढेको छ । मन्त्रालयहरूले आयोजनालाई र आयोजनाले ठेकेदारहरूलाई काम अघि बढाउन निर्देशन दिएपछि औसतमा ३० प्रतिशत मजदुर काममा फर्किएका छन् । लकडाउन खुकुलो हुँदै जाँदा आयोजनाले गति लिने सरकारी अधिकारीहरूले बताएको नयाँ पत्रिका दैनिकमा खबर छ।
लकडाउनले रोकिएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण पुनः सुचारु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा रहेको नौ सय ४६ किलोमिटर लामो यस आयोजनाको बर्दिबास–निजगढ (७० किमि) खण्डमा पुनर्निर्माण थालिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो। अहिले यस खण्डमा पर्ने पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा पनि ठाउँठाउँमा काम भइरहेको आयोजनाका निर्देशक रोहितकुमार बिसुरालले जानकारी दिनुभयो। जलविद्युत् वा विमानस्थलको जस्तो एकै ठाउँमा रहेर काम गर्न नसकिने भएकाले सडकमा काम गर्न कठिन भएको केसीको बुझाइ छ। त्यसैगरी मेलम्ची खानेपानी आयोजना, उत्तर–दक्षिण जोड्ने कोसी, कालीगण्डकी र कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग आयोजना लगायतका विकास निर्माणका आयोजनाको काम पनि धमाधम भइरहेका छन्।