प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सार्क आपतकालीन कोषमा १० करोड रुपियाँ योगदान पुर्याउने भनेर गरेको घोषणाको भारतीय समकक्षी नरेन्द्र मोदीले प्रशंसा गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सार्क आपतकालीन कोषमा नेपाल सरकारले सो योगदान प्रदान गर्ने घोषणा गर्नुभएको थियो। त्यसको केही घण्टापछि भारतीय प्रधानमन्त्री मोदीले ट्विट गरी ओलीको प्रशंसा गर्नुभएको हो।
‘कोभिड-१९ आपतकालीन कोषमा नेपाली रुपियाँ १० करोड योगदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाको गहिरो प्रशंसा गर्दछु,’ मोदीले भन्नुभयो, ‘यसबाट माहामारीविरुद्ध सार्क राष्ट्रहरुको सामूहिक लडाइँमा ओलीजीको प्रतिबद्धता र सहयोग झल्किन्छ।’
Insert your Ads code here
मोदीले गत चैत २ गते कोरोना संक्रमणबाट सिर्जित परिस्थितिको सामना गर्नेबारे दक्षिण एसियाली राष्ट्रहरुको सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरूबीच भिडियो कन्फ्रेन्सको संयोजन गर्नुभएको थियो। सोही कन्फ्रेन्समा उहाँले कोभिड-१९ सार्क आपतकालिन कोष स्थापना गर्ने प्रस्ताव गर्दै त्यसमा भारत सरकारले १ करोड डलर प्रदान गर्ने घोषणा समेत गर्नुभएको थियो। नेपालखबर अनलाइनका अनुसार प्रधानमन्त्री ओलीले सोही कन्फ्रेन्समा नेपालले पनि उचित योगदान दिने वचन दिनुभएको थियो।