Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोभिड–१९ को प्रभाव : पोखरा सुनसान


पोरखाबाट अन्नपूर्ण आधार शिविरलगायत चल्तीका पदमार्ग यतिखेर सुनसान छन्। अत्यधिक पदयात्री आउने मौसमको सुरुवातमै पर्यटकीय गतिविधि ठप्प छ। अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न रुचाउने पर्यटकको प्रवेशस्थल पोखरामा फाट्टफुट्ट मात्रै विदेशी पर्यटक भेटिन्छन्। आन्तरिक पर्यटकको संख्या पनि न्यून छ।

विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक भएसँगै पर्यटक घटेपछि पोखराको लेकसाइडमा चहलपहल नभएको कान्तिपुर अनलाइनले लेखेको छ। होटल र रेस्टुरेन्ट खाली छन्। ट्रेकिङ सामग्री बेचबिखन गर्ने पसलमा पहिलेजस्तो भिडभाड छैन। पोखरामा ५०० होटल तथा रिसोर्ट छन्। तिनमा पाँच खर्ब रुपैयाँ हाराहारी लगानी छ। तीन सयजति रेस्टुरेन्ट छन्।

अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) का अधिकृत ऋषि बरालका अनुसार यो खास गरी युरोपेली र अमेरिकी पर्यटक पदयात्रामा आउने समय हो। ‘पदयात्रामा आउने चिनियाँ र मुक्तिनाथ पुग्ने भारतीय पर्यटकसमेत नआएपछि मार्चमा गत वर्षको तुलनामा एक तिहाइ पर्यटक पनि नपुग्ने देखियो,’ उहाँले भन्नुभयो।

Insert your Ads code here

सन् २०१९ को मार्च महिनामा २२ हजार १ सय ५७ पर्यटक अन्नपूर्ण क्षेत्र पुगेका थिए। यस वर्ष मार्च १० सम्म उक्त संख्या मुस्किलले एक हजार नाघेको छ। सन् २०१९ को फेब्रुअरीमा ७ हजार १ सय ५३ पर्यटक पदयात्रामा निस्किएकामा यस वर्ष उक्त महिनामा ६ हजार १९ विदेशी अन्नपूर्ण क्षेत्र पुगेका थिए। पर्यटक अभावको असर ट्रेकिङ सामग्री पसल, ससाना रेस्टुरेन्ट, डुंगा व्यवसायीलाई समेत परेको छ। प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, बन्जी जम्प, र्‍याफ्टिङ, क्यानोनिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधिमा पर्यटकको चाप छैन।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले नेपाल भित्रिनेमध्ये ७० प्रतिशत विदेशी पर्यटक ट्रेकिङका लागि आउने गरेको बताउनुभयो। उहाँका अनुसार मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बर पर्यटक धेरै आउने सिजन हो। सिजनको मुखैमा कोरोनाको त्रास फैलँदा व्यवसायमा गिरावट आएको उहाँले बताउनुभयो। ‘पोखरा सुरक्षित हुँदाहुँदै पनि पर्यटक बोलाउन सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘सरकारले भिडभाडयुक्त कार्यक्रम नगर्नु भनेकाले प्रवर्द्धनात्मक कार्यक्रम गर्न सकिएको छैन।’

हाल ट्रेकिङ गाइड र पोर्टर फुर्सदमा छन्। नेपाल पर्वतारोहण संघ अन्नपूर्ण च्याप्टर अध्यक्ष शेषकान्त शर्माका अनुसार एक ग्रुप ट्रेकिङमा १० देखि १५ नेपाली कामदार चाहिन्छ। ग्रुप ट्रेकिङ आउन बन्द भएपछि ती कामदारले विकल्प खोज्न थालेका छन्। पोखराका होटल तथा रेस्टुरेन्टले हालसम्म मजदुर कटौती भने गरेका छैनन्। यही अवस्था रहिरहे त्यसतर्फ सोच्नुपर्ने पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताउनुभयो। पर्यटन क्षेत्रमा रहेका श्रमिकलाई पलायन हुन नदिन सरकारले पहल गर्नुपर्ने उहाँले बताउनुभयो। ‘अहिलेसम्म पहिले आएका केही पर्यटक बाँकी छन्,’ उहाँले भन्नुभयो, ‘मार्च १५ पछिको स्थिति झनै दयनीय हुनेछ।’

कोरोना भाइरसले पर्यटनमा उत्पन्न संकटलाई कम गर्न पोखराका होटल व्यवसायीले विभिन्न योजना बनाएका छन्। पश्चिमाञ्चल होटल संघले विकल तुलाचनको संयोजकत्वमा संकट व्यवस्थापन समिति गठन गरेको छ। संघले मानव स्वास्थ्य र खाद्य स्वच्छतामा जोड दिन सदस्य होटलहरूलाई आग्रह गरेको छ। तुलाचनले कोरोनाविरुद्ध होटल प्रतिष्ठानमा मानव स्वास्थ्य र खानाको स्वच्छता सम्बन्धमा सचेतना फैलाउने विषय पहिलो प्राथमिकतामा रहेको बताउनुभयो। ‘अहिलेको संकटका बेलामा व्यवसाय टिकाउने विषय मुख्य चुनौती भएको छ,’ उहाँले भन्नुभयो, ‘ऋण लिएर बनेका होटलले बैंकको ब्याज र किस्तामा राहत पाउनका लागि संघले पहल गर्छ।’ भाडामा सञ्चालित होटल व्यवसायीले भाडामा राहतका लागि घरमालिकसँग कुरा गर्नुपर्ने उहाँले बताउनुभयो।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अभियान सञ्चालन गर्ने र यसका लागि मेन्युमा छुट दिने तयारी होटल संघले गरेको छ। अति आवश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन संघले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ। समितिले कोरोनाको त्रासले पर्यटनमा परेको नकारात्मक असरविरुद्ध जुध्न रणनीति तय गर्ने, राहत र अन्य सुविधाका लागि नेपाल राष्ट्र बैंक, पर्यटन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग छलफल र समन्वय गर्ने महासचिव गणेश पहारीले बताउनुभयो। ‘होटल बनाउन बैंकसँग लिएको ऋणको ब्याजदर, भाडामा घर लिएर सञ्चालित होटलले भाडा तिर्न परेको समस्या हल गर्न कोसिस गर्नेछौं,’ उहाँले भन्नुभयो।

होटलको अकुपेन्सी १५ प्रतिशतसम्म झरेपछि बैंकको किस्ता र ब्याज तिर्नै धौ–धौ भएको व्यवसायीले बताएका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले आर्थिक तथा मानवीय लगानीमा सरकारले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो। ‘खर्बौं लगानी रहेको पोखराको पर्यटन व्यवसायको अकुपेन्सी १० र १५ प्रतिशतभन्दा कममा झरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘पर्यटनलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी सरकारबाट तत्काल राहत प्याकेजको व्यवस्था हुनुपर्छ।’ परिषद्कै अगुवाइमा फागुन २५ मा अग्निप्रसाद कँडेलको संयोजकत्वमा पर्यटन संकट व्यवस्थापन समिति गठन भएको छ। पोखराको पर्यटनमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारसँग राहतलगायत आवश्यक सुविधा माग गर्न सहजीकरण गर्ने कार्य समितिले गर्नेछ।

संयोजक कँडेल पोखराको पर्यटनलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी कर छुट प्रक्रियामा लैजानुपर्ने बताउँछन्। विभिन्न शीर्षकअन्तर्गत सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजस्व, प्रादेशिक एवं स्थानीय करमा ५० प्रतिशत सहुलियत प्रदान गरिनुपर्ने उहाँले बताउनुभयो। ‘हाललाई एक वर्षका लागि कुनै पनि दण्ड जरिवाना नलाग्ने प्रबन्ध गरिनुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘पर्यटन उद्योगमा खपत हुने विद्युत्, पानीको महसुलमा सहुलियत प्रदान गर्नुपर्छ।’ यिनै विषयमा पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउने समितिले तयारी गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!