Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोभिड १९ नियन्त्रणका लागि नेपालमा पनि’चिनियाँ मोडल’अपनाइँदै


नेपाल सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको छ। संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन्। पहिलो चिनियाँ मोडल जुन ‘लकडाउन’ गर्ने विधि हो। वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो। दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रूपमा अपनाइरहेका छन्। चीनबारे जानकार तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटाका अनुसार वुहानमा संक्रमण देखापरेपछि चीनले सबैलाई नै कर्फ्यु जस्तै अवस्था बनाएर खानेपानी, खानेकुरालगायत आवश्यक सामग्री उपलब्ध गराएको थियो। ‘चीनमा अनलाइनबाट खानाको अर्डर गर्न सहज छ। राज्यले मानिसलाई घरमै राखेर सेना, प्रहरी लगायतमार्फत आवश्यक सामान उपलब्ध गरायो,’ उहाँले भन्नुभयो, ‘सबैजसो घरमा गएर परीक्षण गरियो। पोजेटिभ देखिएका र निमोनिया लागेकालाई अस्पतालमा लगेर उपचार गरियो।’

चीनको यो मोडललाई सुरुमा पश्चिमाहरूले मानव अधिकार हनन तथा अमानवीय व्यवहार भनी प्रतिक्रिया दिए। तर यतिखेर सबैजसो मुलुकले यही मोडल कार्यान्वयन गर्न लागिराखेका छन्।

Insert your Ads code here

दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले चीनको जस्तो लकडाउन गरेनन्। ‘उनीहरूले प्रविधिलाई साथमा लिएर अलि डेमोक्रेटिक हिसाबले गरेका काम छन्। दक्षिण कोरियाले ठूलो संख्यामा क्याम्प खडा गरेर निमोनिया र कोभिड–१९ का लक्षण देखा परेकालाई परीक्षण गर्‍यो र उपचार गर्‍यो,’ सापकोटाले भन्नुभयो।

‘उनीहरूले लकडाउन कम समय गरे। चीनले चाहिँ यातायातलगायत सबै बन्द गराएको थियो,’ उहाँले भन्नुभयो। सापकोटा चिनियाँ मोडल एकद्वार प्रणालीअनुसार हुने भएकाले संक्रमण रोकथाम र नियन्त्रणमा अलि बढी प्रभावकारी हुने बताउँछन्। ‘राज्यले नै सेवा सुविधा प्रवाह गर्दा प्रभावकारी हुने देखियो। यो मोडल प्रभावकारी देखियो। सुरुमै अस्पताल भर्ना हुँदा ठीक भएको संख्या पनि ठूलो छ। तर इटालीको अवस्था विकराल छ,’ उहाँले भन्नुभयो। सापकोटाका अनुसार चिनियाँ मोडल जस्तै गर्न पूर्वाधारको तयारी र परीक्षण किट्सबाट बढी परीक्षण गर्नुपर्छ। चीनले छोटो समयमा अस्पताल पनि निर्माण गरेको थियो।

चिनियाँ मोडललाई पछ्याउन नेपाल र चीन सरकारको चिकित्सक टोलीबीच दुई दिनअघि भिडियो कन्फरेन्स पनि भएको थियो। कन्फरेन्समा चिनियाँ चिकित्सक टोलीले चीनमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा आफूहरूले हासिल गरेको सफलताबारे जानकारी दिएका थिए। कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न कसरी सकिन्छ भनेर नेपाल सरकारले चिनियाँ सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको एक सचिवले जानकारी दिए। ‘निकट भविष्यमा चीनबाट एक टोली आउने र उसले हामीलाई प्रशिक्षण दिने आशा गरेका छौं,’ ती सचिवले भने।

चीन सरकारले कुनै पनि अवस्थामा सहयोग गर्न तयार रहेको पत्र पठाएको छ। नेपालस्थित चिनियाँ दूतावासका एक अधिकारीका अनुसार चीन नेपाललाई मेडिकल सामग्रीसहित कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सहयोग गर्न तयार छ। ‘नेपाललाई आवश्यक पर्दा दैनिक उपयोगका सामग्री पनि निर्यात गर्न तयार छौं,’ ती अधिकारीले भने।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!