Loading... आजः बुधबार , चैत्र १२, २०८१

कोभिड–१९ रोकथाम तथा नियान्त्रणसम्बन्धी कुनै पनि काम गर्ने योजनालाई सरकारले तत्काल स्वीकृति दिने


विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियान्त्रणसम्बन्धी कुनै पनि काम गर्ने योजनालाई सरकारले तत्काल स्वीकृति दिन सुरु गरेको छ। कोरोना सचेतना तथा रोकथाम सम्बन्धित कुनै पनि कार्यक्रम समुदायस्तरमा छिटो सुरु गर्न सकियोस् भन्ने उद्देश्यले सरकारले यसअघिको लामो झन्झटिलो प्रक्रिया हटाउँदै ‘फास्ट ट्रयाक’बाट गर्न थालेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कुनै पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले ल्याउने कोरोना भाइरस रोकथाम, नियान्त्रण तथा सम्बन्धित अन्य योजनाहरुलाई तीन दिनभित्र स्वीकृत गर्न थालेको हो। यसअघि यस्ता कार्यक्रम स्वीकृत गराउन हप्तौं लाग्ने गरेको थियो।

सरकारले पछिल्लो समय गरेको यस्तो व्यवस्थाले समुदायस्तरमा काम गर्ने गैरसरकारी संस्थाहरुलाई योजना कार्यान्वयन गर्न सजिलो भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन) अध्यक्ष अच्युतकुमार लुइँटेलले बताउनुभयो। यसअघि कुनै पनि गैरसरकारी संस्थाले स्वीकृतिको लागि लैजाने योजना तथा फाइलहरुलाई विभिन्न तहबाट स्वीकृत हुनुपर्ने, सहजीकरण समिति भनेर मन्त्रालयको समिति र मन्त्रीको कार्यकक्षसम्म फाइल घुमाउने बाध्यता थियो। अहिले फाइलहरुलाई समाज कल्याण परिषद्बाट नै स्वीकृत गर्ने व्यवस्था मिलाइएको नेपालखबर अनलाइनले लेखेको छ। ‘यसले गर्दा कार्यक्रमहरुलाई लक्षित समुदायमा छिटो पुर्याउन सहज भएको छ’, प्राक्टिकल एक्सनका क्षेत्रीय निर्देशक समेत रहेका लुइँटेलले भन्नुभयो, ‘यसले हामीलाई सहज भएको छ।’

यसैबीच भूकम्पमा जस्तो खुलेर काम गर्न नसकेको भनिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले पछिल्लो समय कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचारदेखि मजदुर, किसान र आप्रवासी श्रमिकको लागि विभिन्न काम गरिरहेका छन्। केही संस्थाहरुले अस्पताल, स्वास्थ्य संस्थासँग सिधै समन्वय गरेर कोरोना उपचार तथा रोकथाममा काम गरिरहेका छन्। जस्तो कि ‘हेल्थ नेपाल’ले दोलखाको बयरपाटा अस्पताल चलाएको छ। वन हार्ट, वान वल्र्ड, निक साइमन्ड इस्टिच्युट, सेभ द चिल्ड्रेनजस्ता संस्थाले भेन्टिलेटर, पीपीई जस्ता स्वास्थ्य सामग्री तथा उपकरण वितरण गरेको छ। त्यस्तै, एआईएनअन्तर्गतका १६ संस्थाहरुले संयुक्त रुपमा ४ करोड ५३ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेका थिए।

केही संस्थाहरुले आप्रवासी कामदारहरुलाई पनि सहयोग गरिरहेका छन्। भारतबाट नेपाल आउनेहरुलाई सीमा क्षेत्रमै पुगेर मास्क, हेन्डसेनिटाइजर वितरण गरिरहेका छन्। सरकारले भारतबाट नेपाल प्रवेश गर्ने २० वटा प्रवेश विन्दु तोकेको छ। ती सबै विन्दुमा कोरोनाबारे जनचेतना जगाउने र मास्क वितरण गरिरहेका छन्। यसबाहेक पनि स्वास्थ्यमा क्षेत्रमा काम नगर्ने आईएनजीओले पनि अहिले कोभिड–१९ मा सक्रिय भएर हेन्डसेनिटाइजार, साबुनहरु उपलब्ध गराउने काम गरिरहेका छन्।

Insert your Ads code here

समाज कल्याण परिषद्मा २ सय ५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु दर्ता छन्। यसबाहेक यस्ता संस्थाहरु विभिन्न मन्त्रालयमा पनि दर्ता भएका छन्। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको अनौपचारिक सञ्जाल एसिोसिएसन अफ इन्टरनेसनल एनजीओ (एआईएन)मा १ सय २९ वटा संस्थाहरु सदस्य छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!