Loading... आजः बिहिबार , चैत्र ६, २०८१

कोभिड–१९ संक्रमणको अवस्थामा नेपाल दक्षिणपूर्वी एसियामा भुटानपछि राम्रो स्थितिमा


कोभिड–१९ संक्रमणको अवस्थामा नेपाल दक्षिणपूर्वी एसियामा भुटानपछि राम्रो स्थितिमा रहेको छ। यो स्थितिलाई सुधार गर्न नेपालले अझै सजगता अपनाउनुका साथै संक्रमणको निगरानी र परीक्षण वृद्धि गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

हालसम्म भुटानमा सात र नेपालमा ५७ जना कोभिड–१९ संक्रमित देखिएका छन्। दक्षिणपूर्वी एसियामा संक्रमणबाट कसैको मृत्यु नभएका मुलुकमा नेपाल, भुटान, माल्दिभ्स र पूर्वी टिमोर छन्। विश्व स्वास्थ्य संगठनले यस क्षेत्रमा नेपाल र भुटानमा मात्र ‘स्पोरेडिक केस’ देखिएको उल्लेख गरेको छ। स्पोरेडिक केसलाई डब्लूएचओले ‘आयातीत वा स्थानीय रूपमा पत्ता लागेको एक वा बढी केस’ का रूपमा परिभाषित गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

हाल विश्वभर ५९ मुलुकमा मात्र ‘स्पोरेडिक केस’ देखिएको छ। यो संक्रमणले मृत्यु भएका मुलुकको संख्या १ सय ७३ पुगिसकेको छ। विज्ञहरू नेपालमा संक्रमणको जोखिम अझै टरिनसकेको बताउँछन्। ‘चीनपछि दक्षिणपूर्वी एसियामा पहिलो कोभिड–१९ संक्रमित देखिएको मुलुक नेपाल हो। अहिलेसम्म यहाँ धेरै केस नदेखिनु सकारात्मक छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, ‘हामी संक्रमणको दोस्रो चरणमा छौं । हामीकहाँ अझै कुन व्यक्ति कोबाट संक्रमित भइरहेका छन् भनेर पहिचान हुन आवश्यक छ ।’

डा. अधिकारीका अनुसार एक करोडभन्दा बढी जनसंख्या भएका मुलुकमा कोभिड–१९ ले मृत्यु नभएको नेपाल मात्र हो। दक्षिणपूर्वी एसियामा कोभिड–१९ परीक्षणका लागि प्रति १० लाख जनसंख्यामा नेपालभन्दा बढी पीसीआर परीक्षण गर्ने माल्दिभ्स र भुटान मात्र हुन्। डा.अधिकारीले मुलुकभरि निगरानी बढाउन आवश्यक रहेको बताउनुभयो। ‘जुन ठाउँमा केस भेटिएको छ त्यही वरिपरि थप निगरानी गर्नुपर्छ,’ डा. अधिकारीले भन्नुभयो। मुलुकमै सबैभन्दा बढी ३१ जना कोभिड–१९ संक्रमित रहेको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट एवं जोन हपकिन्स विश्वविद्यालय अमेरिकाबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेकी डा. संगीता मिश्रले परीक्षण संख्या बढाएर सक्रिय ट्रेसिङ (खोज) गर्नुपर्नेमा जोड दिनुभयो।

Insert your Ads code here

विदेशबाट आएका सबैलाई ‘होम क्वारेन्टाइन’ मा राखेर भए पनि स्थानीय सरकारले निगरानी गर्नुपर्ने डा. मिश्रले सुझाव दिनुभयो। ‘छुट्टै कोठा भएकाहरूका लागि एउटा थर्मामिटर दिएर घरमै क्वारेन्टाइनमा ३० दिनसम्म राख्नु हालका लागि उपयुक्त हुन्छ,’ उहाँले भन्नुभयो, ‘कोठा नभएकाहरूलाई भने नजिकै स्थानीय स्कुलमा राखेर निजले आफैंसँग ल्याएका ओढ्ने ओछ्याउने र घरबाटै आउने खाना खाने गरी बस्ने व्यवस्था मिलाउनुपर्छ।’ यस्तै बाहिरबाट आउने सबैलाई एक महिनासम्म क्वारेन्टाइनमा राख्नुपर्ने उहाँले बताउनुभयो। डब्लूएचओले संक्रमण भएको १४ दिनसम्म क्वारेन्टाइनमा बस्न भने पनि नेपालमा महिना दिन कटिसकेकाहरूमा संक्रमण देखिएको छ ।बेलैमा लकडाउन गरिएकाले नेपाल हालसम्म समुदाय स्तरमा संक्रमण हुनबाट जोगिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!