Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अधुरै


चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको छ। विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ। तर कोरोना भाइरसको संक्रमण बढेसंगै चीनबाट दक्ष प्राविधिक जनशक्ति र विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरु आउन सकेका छैनन्। जनशक्ति र उपकरण आउन नसक्दा विमानस्थलको काम नराम्ररी प्रभावित भएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताउनुभयो।

टर्मिनल भवनमा ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्टका साथै धावन मार्गमा वत्ति जडान गर्नुपर्ने थियो। यसले विमानस्थल निर्माण चौथो पटक थपिएको म्यादभित्र पनि पूरा हुन नसक्ने खतरा बढेको छ। नागरिक उड्डयन प्राधिकरणले पछिल्लो पटक सन् २०२० मार्च ३० सम्मका लागि म्याद थपेको छ । ‘कोरोनाको असरले अप्ठ्यारो अवस्था आयो’ आयोजना प्रमुख अधिकारीले भन्नुभयो, ‘विमानस्थल निर्माणको काम कहिलेसम्म लम्बिन्छ भन्ने कोरोनाको असर कहिलेसम्म रहन्छ भन्नेमा निर्भर हुने भयो।’

उहाँका अनुसार ४० जनाको चिनियाँ कामदार टोली फिल्डमा हुनुपर्नेमा २० जनाले मात्र काम गरिरहेका छन्। मार्च पहिलो हप्तासम्म कामदार र उपकरण नआएमा चौथोपटक थपिएको म्यादमा पनि विमानस्थल तयार नहुने अधिकारीले खुलाउनुभयो। अनलाइन खबरले सम्प्रेषण गरेको समाचार अनुसार सन् २०१८ सञ्चालनमा ल्याउने घोषणा गर्दै विमानस्थल निर्माण शुरु भएको थियो।

Insert your Ads code here

गत वर्ष ४ असारमै आन्तरिक उडान शुरु गर्ने घोषणा संघीय सरकारको नीति तथा कार्यक्रममै गरिएको थियो । काम नसकिएपछि आउँदो बुद्ध पूर्णिमाको अवसरमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्ने भाका राखिएको छ । तर अब चालू आर्थिक वर्षभित्र विमानस्थल सञ्चालनमा आउने सम्भावना न्यून रहेको आयोजनासम्वद्ध अधिकारीहरु बताउँछन्। निर्माण अवधि लम्बिँदा लागत पनि बढेको छ । आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएकोमा लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ।

हालसम्म विमानस्थलको ८६ प्रतिशत भौतिक निर्माणमा प्रगति भएको आयोजनाले जनाएको छ। विमानस्थल निर्माणको पहिलो चरण अर्थात आईसीबी–१ को अधिकांश काम भइसकेपनि रन वेमा वत्ति जडान, ब्यागेज ह्याण्डलिङ सिस्टम लगायत केही अत्यावश्यक काम प्रभावित हुन पुगेको अधिकारीले बताए।

विमानस्थल आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ। यस्तै, आईसीबी–२ अन्तर्गत विमानस्थलमा जडान हुने उपकरणहरूका लागि पनि करिब ५० करोड लगानी छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!