Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण नेपाल-भारत सीमामा अलपत्र नेपालीला स्वदेश फर्काइँदै


नेपाल-भारत सीमामा एक महिनादेखि अलपत्र नेपालीले आज (बिहीबार) स्वदेश प्रवेशको अनुमति पाएका छन्। बिहीबार बिहानैदेखि दार्चुलाका दुई र बैतडीको एक नाका खोलेर ती नेपालीलाई धमाधम स्वदेश प्रवेश गराउन थालिएको हो।

कोरोना महामारीका कारण सीमा नाका बन्द गरिँदा २ हजारभन्दा बढी नेपाली एक महिनादेखि भारतीय भूमिका क्वारेन्टिनमा बिजोग गरेर बसिरहेका थिए। दार्चुला पारि धार्चुलामा क्वारेन्टिनमा बसेका हजारभन्दा बढी नेपालीलाई त्यहाँका दुई नाकाबाट प्रवेश अनुमति दिइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिनुभयो।

‘भारतीय क्वारेन्टिनमा बसेकाहरूलाई नाका प्रवेश गराउने काम बिहानै सुरु गरिएको छ, भारतीय पक्षले पनि स्वास्थ्य परीक्षण गरेर पठाउँदै छ, हामी पनि यहाँ स्वास्थ्य परीक्षण गर्दै छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले भन्नुभएको नेपालखबर अनलाइनले लेखेको छ।

भारतीय भूमिमा अलपत्र परेका नेपालीको उद्धारका लागि दार्चुलाको दत्तु-बालुवाकोट र दार्चुला-धार्चुला, बैतडीको झुलाघाट नाका खुला गरिएका हुन्। भारतीय क्वारेन्टिनबाट फर्किएकाहरूलाई स्वास्थ्य जाँचपछि सम्बन्धित स्थानीय तह पठाइने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताउनुभयो। सम्बन्धित स्थानीय तहले नै आफ्ना नागरिक लान गाडीको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो।

Insert your Ads code here

आफ्नो गाउँ फर्काएपछि पनि उनीहरूलाई १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्। ‘नाकामा स्वास्थ्य जाँच गरेर नेपालीलाई स्वदेश प्रवेश गराउने क्रम जारी छ, कोही कोरोनाको शंकास्पद बिरामी भेटिए अस्पताल लगिनेछ भने अन्यलाई सम्बन्धित स्थानीय तहले उद्धार गरेर लानेछन्,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले भन्नुभयो। भारतको पिथौरागढ जिल्लाका १५ स्थानमा रहेका क्वारेन्टिनमा १५ सयभन्दा बढी नेपाली छन्।

कञ्चनपुर र कैलाली नाकामा राेकिएकाले पाएनन् प्रवेश अनुमति

कञ्चनपुर र कैलालीका भारतीय सीमामा अलपत्र नेपालीले भने अझै स्वदेश अनुमतिको प्रवेश पाएका छैनन्। कञ्चनपुरका बनबासा, टनकपुरमा २ सय ५१ र कैलालीमा १ सय ३५ नेपाली १ महिनादेखि क्वारेन्टिनमा छन्। तर उनीहरूको अझै उद्धार नसकेको हो। ती नेपालीको उद्धारका लागि स्थानीय प्रशासन गृह मन्त्रालयको आदेशको पर्खाइमा छ।

‘सीमामा रोकिएकाहरूको उद्धारका लागि हामी गृह मन्त्रालयको आदेशको पर्खाइमा छौं,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भन्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!