Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण पर्यटक आउन छोडेपछि सौराहाका होटल मजदुर विदा पाउँदै


कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन्। अचेल होटलमा क्षमताको १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक छन्।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ थियो। नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो संख्या निकै न्यून हुने उहाँको भनाइ छ। अहिले केही मात्रामा युरोपेली, भारतीय र नेपाली पर्यटक छन्। यसअघि भएका सबै बुकिङ रद्द भएका छन्। होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकाले आधा जति होटलले ५० प्रतिशतसम्म कर्मचारीलाई बिदा दिइसकेका छन्। एउटै होटलमा १० देखि ७० सम्म कर्मचारी छन्। अन्य होटलले बिदा दिने तयारी गरिरहेका छन्।

नागरिकन्यूज डटकमका अनुसार बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ। कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन सुरु गरिएको हो। सौराहाका होटलले १० वर्ष अघिसम्म वर्षात्को समयमा पर्यटक नआएपछि जेठदेखि साउनसम्म बिदा दिने गरेका थिए। पछिल्ला वर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईको भनाइ थियो। संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताउनुभयो। यकिन तथ्यांक नभए पनि सौराहाका एक सय १५ होटल बनाउन आठ अर्बभन्दा बढी लगानी भएको घिमिरेको अनुमान छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!