Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण पाँच महिनादेखि रोकिएको केरूङ नाका पुनः खुलाइने


पाँच महिनादेखि आयात–निर्यात तथा आवतजावत ठप्प रसुवागढी नाकाबाट सामान ल्याइने भएको छ। कान्तिपुर अनलाइनका अनुसार विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण माघ १५ देखि रसुवागढी नाकाबाट आयात–निर्यात र आउजाउ ठप्प छ।

सामान आयात गर्ने विषयमा दुवै देशका समकक्षीहरुबीच बुधबार मितेरी पुलमा सामान आयात गर्नेबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो। छलफलमा कोभिड–१९ को माहामारी समेतलाई मध्यनजर गरी मानिसको आवागमनलाई अस्थायी रूपमा बन्द गर्ने, मालवस्तुको एकतर्फी जाँचपास हुने गरी नाका सुचारु गर्न चिनियाँ पक्ष तयार रहेको पन्तले बताउनुभयो। त्यसका लागि नेपाली पक्षले सीमानाकाको सुरक्षा प्रबन्ध, क्वारेन्टाइन जाँच, स्वास्थ्य सुरक्षाको प्रबन्ध, भन्सार जाँचपासलगायतका विषयमा आवश्यक तयारी पूरा गर्नुपर्ने समझदारी भएको छ ।

आयात हुन थालेपछि चिनियाँ पक्षले मितेरी पुलसम्म सामान ल्याइदिने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो।

Insert your Ads code here

‘मितेरी पुलबाट नेपाली चालकले सामान सम्बन्धित ठाउँसम्म लैजानेछन् । त्यसका लागि नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराउनुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘जति सक्दो छिटो चिनियाँ पक्षलाई नेपाली पक्षले चालक र कामदारको विवरण उपलब्ध गराउन सक्यो त्यति नै छिटो सामान आयात हुन्छ।’

मितेरी पुलसम्म दैनिक चार ट्रक सामान आयात हुन्छ । सहज हुँदै गएमा विस्तारै सामान आयातलाई बढाइनेछ। अहिले अत्यावश्यक समान आयत हुनेछ। असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने आयोजनाका सामानहरु जलविद्युत् तथा विमानस्थलका समानहरु आयात हुनेछन् । मितेरी पुलबाट कोही पनि पारी जान पाइने छैन। मितेरी पुलमा सामग्री लिन जाने चालक कामदारको दैनिक परीक्षण गरिनेछ ।

सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । उक्त नाकाबाट पाँच महिनादेखि आयात निर्यात ठप्प छ। अहिले रसुवागढी नाका सुनसान छ । सीमामा सुरक्षा अधिकारीहरू मात्र छन् । सामान लिन केरुङ जान लाइनमा राखिएका केही खाली कन्टेनर छन् । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर रहेको छ । आयात निर्यात ठप्प भएकाले राजस्व संकलन प्रभावित भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो। यो नाकाबाट मुख्य गरी ५ वटा मालवस्तु पैठारी भइरहेको रसुवा भन्सार कार्यालयले बताएको छ। पैठारी हुने मुख्य मालवस्तुमा तयारी कपडा, स्याउ, जुत्ता र चप्पल, झोला र चस्मा र फ्रेम रहेका छन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!