कोरोनाका कारण भारतीय सीमामा अलपत्र नेपालीहरूलाई भित्र्याउन पहल
भारतका विभिन्न स्थानबाट आएर रुपन्देहीको सीमापारि सुनौली र नौतनहवाका क्वारेन्टाइनमा रहेका सयौं नेपालीलाई ल्याउने क्रम शुरु भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँगको समन्वयमा भारतीय क्वारेन्टाइनमा एक महिना बढी समय बिताएका नेपालीलाई नेपाल ल्याउन थालेको हो। उनीहरु नेपाल आएपछि पनि चौध दिन क्वारेन्टाइनमा बसेपछि मात्र आफ्नो गृह जिल्ला जाने छन्। यद्यपि रुपन्देहीका केही स्थानीय तहले भने आफ्ना पालिकामा क्वारेन्टाइन अभाव भएको भन्दै भारतबाट आएकालाई राख्न नसकिने बताएका छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार अहिले बेलहिया सीमानानजिक भारतीय क्वारेन्टाइनमा करिब १६ सय नेपाली रहेको र उनीहरुमध्ये करिब १२ सयले क्वारेन्टाइन अवधि पुरा गरिसकेकोले ल्याउनुपर्ने अवस्था छ। नेपालमा आएर पनि उनीहरुलाई पुनः क्वारेन्टाइनमा राखी कोरोना परीक्षणपछि मात्र घर पठाइने सेतोपाटी अनलाइनले लेखेको छ।
मुम्बईबाट आई नौतनहवास्थित मोर्डन एकेडेमी स्कुलको क्वारेन्टाइनमा रहेका ८२ जनामध्ये एकजना २५ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको महाराजगंज जिल्लाका चिकित्सक उज्जवल कुमारले बताएका छन्। त्यहाँ रहेका अधिकांश व्यक्तिहरु गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देही लगायत जिल्लाका छन्। बुधबार पहिलो चरणमा सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले ५ सय १० जनालाई नेपाल ल्याएका छन्। उनीहरुलाई लिन प्रमुख जिल्ला अधिकारी पन्थसहित तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका प्रमुख उपप्रमुखहरु बस लिएर बेलहिया पुगेका थिए।
तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले भारतमा अलपत्र परेका नेपालीहरु ल्याएर क्वारेन्टाइनमा राख्ने सम्झौता गरेपछि मात्र सीमावारि ल्याइएको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिनुभयो। सीमाक्षेत्रमा रहेका नेपालीलाई रुपन्देहीका ओमसतिया, मायाँदेवी र रोहणी गाउँपालिकामा समेत राख्ने बताइए पनि उनीहरु सहमत नभएपछि सबैलाई ल्याउन नसकिएको नगरपालिकाले जनाएको छ।
भारतीय क्वारेन्टाईनमा अवधि पुरा गरेकालाई सीमापारि नै अलपत्र राख्दा लुकिछिपी नेपाल प्रवेश गर्न सक्ने र समुदायमा कोरोनाको संक्रमण फैलिन सक्ने भएकोले वैधानिक बाटोबाटै ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो।
भारतमा मंगलबारदेखि रेल सेवा शुरु भएपछि भारतमा रहेका नेपालीहरु आउने क्रम अझै बढ्ने भएकोले उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सबै स्थानीय तहले समन्वय गर्नुपर्ने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले बताउनुभयो।