Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण विकासको गतिमा पुनः फर्किने गरी बजेट ल्याइने


अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि ‘भूकम्पपछि छिटै उठेझैँ हामी फेरि उठ्ने छौँ’ भन्नुभएको छ । राष्ट्रिय सभा बैठकमा पूर्वबजेट छलफल आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा आइतबार उहाँले यस्तो धारणा राख्नुभएको हो।

छलफलमा भाग लिँदै सांसद परशुराम मेघी गुरुङले कोरोनाका कारण आर्थिक वृद्धि घट्ने र गरिबी बढ्ने परिस्थिति भएको हुँदा यसबाट नागरिकलाई बचाउन, गरिब र विपन्नलाई भोकमरीबाट बचाउन, बन्दाबन्दीको असरबाट अर्थतन्त्रलाई बचाउने खालको बजेटमा जोड दिनुभयो। सांसद गुरुङले विदेशबाट रोजगारी गुमाएर फर्कने र स्वदेशमा भएका युवाका लागि पनि रोजगारी सिर्जना गर्न, नियमित आपूर्ति गर्न, महँगी रोक्न, स्रोत व्यवस्थापन गर्न र नयाँ कुराको खोजी गर्न बजेट केन्द्रित हुनुपर्ने सुझाव पनि दिनुभयो ।

सांसद रमेशजङ रायमाझीले स्वास्थ्य सेवालाई थप सुदृढीकरण गर्न, जनतालाई राहतको व्यवस्था गर्न र विदेशबाट रोजगारी गुमाएर फर्कने युवालाई सम्बोधन गर्नेगरी बजेट ल्याउन सुझाव दिनुभयो। उहाँले सङ्घ र प्रदेशको सांसद विकास कोषको बजेटलाई सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्न सुझाव दिनुभयो । सांसद कोमल वलीले कृषि र पर्यटनमा विशेष जोड दिन र वैदेशिक रोजगारी र रेमिट्यान्सको विकल्प खोज्नुपर्छ भन्नुभयो।सांसद तारादेवी भट्टले पर्यावरण संरक्षणमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ बजेट केन्द्रित गर्न सुझाउनुभएको गोरखापत्र अनलाइनमा खबर छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!