राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान भरेको छ। निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्नेभएपछि यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान भएको गोरखापत्र अनलाइनमा खबर छ।
निगमका प्रवक्ता अर्चना खड्काले नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको जानकारी दिनुभयो। नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर्ड गरी लैजान लागेको हो ।
यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो। त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो। यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो। मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो। निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ। नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन।