Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाको हटस्पट उदयपुरको भुल्केमा एक घरबाट अर्कामा जान प्रतिबन्ध


चौबीस जनामा कोरोना संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केस्थित मस्जिद आसपासका क्षेत्रमा अहिले एक घरबाट अर्को घरमा जान पनि प्रतिबन्ध लगाइएको छ। कोरोना संक्रमण व्यापक देखिएपछि नियन्त्रणका लागि भुल्केस्थित मस्जिद क्षेत्रलाई सिल गरिएको उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) वीरबहादुर बुढामगरले जानकारी दिनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।
‘अहिले यस क्षेत्रमा एउटाबाट अर्को घरमा जान पनि प्रतिबन्ध लगाइएको छ,’ बुधबार बिहान टेलिफोनमा एसपी मगरले भन्नुभयो, ‘साथै संक्रमितहरूसँग नजिकको सम्पर्क गरेकाहरूको खोजी तथा स्वास्थ्य परीक्षण जारी छ।’

भुल्केस्थित मस्जिदमा केही दिनअघि १२ जना कोरोना संक्रमित देखिएपछि त्यस क्षेत्र आसपासका मानिसको स्वाब संकलन गरेर धरान र काठमाडौंस्थित प्रयोगशालमा परीक्षण गरिएको थियो। त्यस क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा ८ जना र टेकुस्थित राष्ट्रिय प्रयोगशालामा ३ जनामा कोरोना संक्रमण रहेको मंगलबार पुष्टि भएको हो।

त्यसलगत्तै प्रदेश १ सरकारले उदयपुर जिल्ला नै सिल गर्ने निर्णय गरेको छ। प्रदेशको आन्तरिक सुरक्षा मन्त्रालयमा मंगलबार बसेको बैठकले उदयपुरलाई सील गर्ने निर्णय गरेको हो। ‘उदयपुरबाहिरबाट कसैलाई पनि भित्र प्रवेश गर्न नदिने र भित्रबाट कसैलाई बाहिर नस्किन नदिने र उदयपुरभित्रै पनि एक स्थानबाट अर्को स्थानमा मानिसलाई जान नदिने निर्णय भएको छ,’ प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भन्नुभयो, ‘आन्तरिक सुरक्षा मन्त्रालयमा आज भएको बैठकले यस्तो निर्णय गरेको हो। संक्रमण थप फैलिनबाट रोक्नका लागि यो निर्णय लिएको हो।’

Insert your Ads code here

एकै समूहका २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उदयपुरको भुल्के कोरोनाको ‘हटस्पट’ बनेको छ। अहिले त्यहाँ संक्रमितसँग यसअघि नजिकको भौतिक सम्पर्क गरेकाहरूको कन्ट्याक्ट ट्रेसिङलाई व्यापक ढंगले अगाडि बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनु भएको छ।’अहिलेसम्म ३०० सयभन्दा बढीको स्वाब संकलन गरिसकेका छौं, तीमध्ये धेरैजसो टेकु प्रयोगशाला ल्याइएको छ भने कतिपय धरानतिर पठाइएको छ,’ बुधबार बिहान डा. पाण्डेले भन्नुभयो, ‘त्यहाँ अहिले प्रदेशको टिम र हामी (केन्द्र) मिलेर कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाएका छौं।’

संक्रमितसँग भेटघाट गरेका तथा सम्पर्क भएका व्यक्तिको खोजी गर्ने प्रक्रियालाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ। उदयपुरका २४ समेत गरेर नेपालमा अहिलेसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तर तीमध्ये ५ जना निको भइसकेका छन्। बाँकी ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने देशव्यापी रुपमा कोरोना परीक्षण जारी छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!